१३ असार, वीरगञ्ज । रौतहटको गढीमाई नगरपालिका–९ घर भएका रामजी राम वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा चिकित्सा शिक्षा शास्त्र अध्ययनरत छन् । नेपाल सरकारको छात्रवृत्तिमा डाक्टरी पढेका उनले अन्तिम वर्षको परीक्षा फानेशरम भर्न पाएका छैनन् ।
असार २२ गतेसम्म परीक्षा फारम भर्नुपर्नेमा कलेज प्रशासनले त्यसअघि नै उनले ८ लाख ७३ हजार ५९० रुपैयाँ तिर्नुपर्ने भनेको छ ।
कलेजले वार्षिक शुल्क ५ लाख ९८ हजार ५० रुपैयाँ, होस्टल शुल्क ५५ हजार ४ सय २१ रुपैयाँ, खाना खर्च २ लाख १० हजार ३ सय १९ रुपैयाँ र इन्टरनेटको ९ हजार ८ सय रुपैयाँ तिर्न बाँकी देखाएको छ ।
सरकारी छात्रवृत्ति पाएको हुनाले आफूले कलेजको वार्षिक शुल्क तिर्नु नपर्ने उनको दावी छ । ‘मैले कलेजलाई खाएको र बसेको पैसा मात्र तिर्नुपर्ने हो । होस्टल फी, मेस र इन्टरनेटको ८ लाख ११ हजार ५०० तिरिसकेको थिएँ ।’
छात्रवृत्ति पाएकाहरुसँग लिन नपाइने भनिएको भर्ना शुल्क, शिक्षण शुल्क, परीक्षा शुल्क, रजिष्ट्रेसन शुल्क, पुस्तकालय शुल्क, प्रयोगशाला शुल्क, अतिरिक्त परीक्षा शुल्क गरी १ लाख ८४ हजार ९ सय ५० रुपैयाँ आफूलाई तिर्न लगाएको पनि रामजीले बताए । उनका अनुसार कलेजले आफूसँग थप रकम असुल गर्न फेरि होस्टल, खाना खर्च र इन्टरनेटको पैसा लिन बाँकी देखाएको हो ।
चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ मा छात्रवृत्ति पाएका विद्यार्थीसँग परीक्षा, काउन्सिल, भर्ना, पुस्तकालय, प्रयोगशाला आदि लिन नपाइने उल्लेख छ । यो व्यवस्थालाई तत्कालिन मन्त्रिपरिषदको सामाजिक विकास समितिको ०७२ भदौ ३१ गते बसेको बैठकले स्वीकार गरेको छ ।
चिकित्सा शिक्षा आयोगले ०७७ पुस २६ गते नेशनल मेडिकल कलेजलाई पत्राचार गर्दै रामजी रामको शुल्क विश्वविद्यालय अनुदान आयोगले तिरिसकेको भन्दै परीक्षामा सामेल गराउन भनेको थियो ।
नेशनल मेडिकल कलेजमा विश्व विद्यालय अनुदान आयोगको विशेष छात्रवृत्तिमा रामजीसहित ५ जना चिकित्सा शिक्षा संकायमा अध्ययनरत छन् । पहिलो वर्षको परीक्षा दिएर बसेका विद्यार्थीबाहेक अन्य चारै जना कलेजले लिने अतिरिक्त शुल्कको मारमा छन् ।
कलेजले अन्तिम वर्षमा अध्ययनरत पंकजकुमार रामसँग २ लाख २९ हजार ९५० रुपैयाँ, चौथो वर्षका रुकेशकुमार रामसँग ६ लाख १४ हजार ५०० रुपैयाँ र तेस्रो वर्षका प्रमोदकुमार रामसँग ६ लाख ६०० रुपैयाँ लिइसकेको छ।
अहिले थप रकम माग गरेपछि यसपटक पनि फर्म भर्न नपाएर गत वर्षको जस्तै अवस्था आउने हो कि भन्ने चिन्ताले पंकज रामलाई सताएको छ । शुल्क नतिरेको भन्दै कलेजले फर्म भर्न रोक लगाएपछि गत वर्ष उनीहरुले परीक्षा हलमा प्रवेश नै पाएनन् ।
यसको चौतर्फी विरोध भयो र चिकित्सा शिक्षा आयोगले निर्देशन दिएपछि परीक्षा दिन पाए । ‘२७ दिनपछि परीक्षा छ, फर्म भर्ने समय असार २२ गतेसम्म मात्रै छ । कलेजले सरकारले नलिनु भनेको शुल्क मागेर फर्म भर्न रोक लगाएको छ,’ उनले भने, ‘फर्म भर्न पाइएन भने एक वर्ष त्यत्तिकै खेर जान्छ । चौथो वर्षपनि यस्तै समस्या आएर पूरक परीक्षा दिनुपर्यो ।’
कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले भने विशेष छात्रवृत्तिमा पढेका विद्यार्थीहरु समस्या लिएर आफूकहाँ आउनुको साटो मिडियामा गएर अनावश्यक दुःख दिने गरेको टिप्पणी गरे ।
‘हामीलाई समस्याबारे जानकारी दिँदैनन्, मिडियामा पहिला जान्छन्, समस्या नै थाहा नभएपछि कसरी समधान गर्ने ?’ उनले अनलाइनखबरसँग भने, ‘सम्बन्धित फाँटका कर्मचारी पारिवारिक समस्याका कारण बाहिर छन्, आएपछि के समस्या रहेछ बुझेर समाधानको प्रयास गर्छु ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4