Comments Add Comment

अष्ट्रेलियामा कोरोना महामारी ‘नयाँ चरणमा’

१४ असार, काठमाडौं । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा कोरोना भाइरस (कोभिड-१९) को डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या १२८ पुगेको छ । पहिलो पटक भारतमा फेला परेको डेल्टा भेरियन्ट कोरोनाको निकै संक्रामक रुप मानिएको छ । त्यस्तै अष्ट्रेलियाको नर्थन टेरिटोरी, क्विन्सल्याण्ड र वेस्टर्न अष्ट्रेलियामा पनि सानो संख्यामा कोरोनाका नयाँ संक्रमित फेला परेका छन् ।

अष्ट्रेलियाको विभिन्न स्थानहरुमा एकैपटक कोरोना संक्रमण देखिएको यो पहिलोपटक हो । मुलुकभर कोरोनाका संक्रमित देखिन थालेसँगै अष्ट्रेलियाका विभिन्न क्षेत्रका प्रमुखले सोमबार प्रधानमन्त्री स्कट मौरिसनसँग आपतकालीन बैठक बस्दैछन् । अष्ट्रेलियाका अर्थमन्त्री जोस फ्राइडेनबर्गले अहिले अष्ट्रेलिया संकटको समयमा रहेको बताएका छन् ।

कोरोनाको संकट बढेसँगै अहिले अष्ट्रेलियाका केही राज्यले सीमा बन्द गरेका छन् र संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्यका नयाँ मापदण्डहरु ल्याएका छन् । ‘मलाई लाग्छ कि हामीहरु निकै संक्रामक डेल्टा संक्रमणसँगै यो महामारीको नयाँ चरणमा प्रवेश गरिरहेका छौं’, फ्राइडेनबर्गले भने ।

अहिले अष्ट्रेलियाको सिड्नीमा सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको देखिएको छ । यो सहरमा संक्रमण फैलिएसँगै यसअघि नै लकडाउन लगाइसकिएको छ । न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले सोमबार १९ नयाँ संक्रमित भेटिएको बताएकी छिन् । यो संख्या अघिल्लो दिनको तुलनामा भने कम हो ।

आइतबार नयाँ संक्रमितको संख्या ३० थियो । यो राज्यले कोरोना परीक्षण पनि व्यापक बनाएको छ । पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा ५९ हजारको कोरोना परीक्षण गरिएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment