Comments Add Comment

के-पपः किन किशोरपुस्ता हुरुक्कै छन् ?

नेपाली तन्नेरीको लोभलाग्दो श्रम गन्तव्य, दक्षिण कोरिया । तर, दुईबीचको नाता यतिमा मात्र सीमित छैन । कोरियन सिनेमा, संगीत र फेसनले पनि नेपालका किशोरपुस्तालाई लोभ्याइरहेको छ, बाँकी विश्वलाई झैं ।

कोरियन फिल्म ‘प्यारासाइट’ले ओस्कारसम्मको सुनौलो यात्रा तय गर्नुअघि नै नेपालमा कोरियन शृङ्खला र फिल्मको प्रभाव प्रगाढ बन्दै गएको थियो । त्यससँगै कोरियन फेसनले तन्नेरी पुस्तालाई आफ्नो वशमा पार्‍यो । लङ कोट, फिटिङ प्वाइन्ट, मफलर र टोपीको संयोजन मिलाएर कोरियन ढाँचाको फेसन अनुशरण गर्न थालियो । अहिले कोरियन संगीतले उसैगरी साम्राज्य खडा गर्दैछ, खासगरी किशोर पुस्तामा । कोरियन संगीत उपसंस्कृतिको रूपमा विकास हुँदै  जाँदा विशाल किशोरपुस्तालाई यसले एकत्रित गरिरहेको छ ।

के-पप क्रेज

के-पप । अर्थात् कोरियन पप । पछिल्लो २० वर्षदेखि दक्षिण कोरियामा यही संगीतको दबदबा छ । त्यसो त केही वर्षअघि युट्युबमा एउटा कोरियन गीत सार्वजनिक भएको थियो, गगनम स्टाइल । यस गीतले युट्युबमा उधुम मच्याएको थियो । त्यसबेला साईको (पार्क जि-साङ) यो गीतले युट्युबमा कीर्तिमानी भ्युज बटुलेको थियो ।

यही गीतसँगै कोरियन संगीतले विश्व बजारमा आफ्नो पकड जमाउँदै गयो, जसबाट अछुतो रहेन नेपाली समाज । नेपाली पप संगीतको ध्वनि मत्थर हुँदै गएको पृष्ठभूमिमा कोरियन पपले बाजी मारेको हो । कोरियन पप संस्कृतिले अहिले विश्वव्यापी मञ्चमा कब्जा जमाउँदैछ । पश्चिमी संगीतबाट प्रभावित दक्षिण कोरियाली पप अहिले किशोर पुस्ताको ढुकढुकी बनेको छ ।

विगतमा यसलाई ‘गायो’ भनिन्थ्यो । आधुनिक के पपको सुरुवात गर्ने श्रेय सेओ ताजी एन्ड ब्वाइजलाई जान्छ ।  आधुनिक के पपमा रक, हिपहप, इलेक्टि्रनिक, ज्याज, कन्ट्री, क्लासिक जस्ता हरेक किसिमको शैली समावेश छ । त्यसमा कोरियन शैली त छँदैछ । त्यसो त कोरियन पप संस्कृतिको इतिहास केही दशक पुरानो हो । यद्यपि सन् १९९० को दशकपछि आफ्नो बेग्लै लुक, फिल र स्टाइलका कारण कोरियन पपले लोकपि्रयता पायो । सन् २००० बाट के-पपको क्रेज चुलियो ।

भावपूर्ण गीत, मीठासपूर्ण संगीत, गतिशील भिडियो एवं कोरियोग्राफी र लोभलाग्दो फेसन शैलीले किशोरपुस्तालाई तानेको छ ।

उत्तर कोरियाका तानाशाह किम जोंग उनले आफ्ना नागरिकले ‘के पप’ सुनेमा मात्र पनि कडा कारबाही गर्ने बताएका छन् । यदि कसैले के पप सुनिरहेको भेटिएमा १५ वर्षको जेल सजाय नै हुने प्रावधान ल्याइएको छ । यसबाट पनि संकेत मिल्छ कि, संगीत पारखीमाझ कोरियन पप अर्थात् कति आक्रमक ढंगमा फैलिइरहेको छ ।

सामाजिक सञ्जाल, के ड्रामा जस्ता कोरियाली कार्यक्रमले संसारभरि नै प्रसिद्धि कमाइरहेको छ, जसलाई कोरियन वेभको संज्ञा दिन थालिएको छ ।

कोरियाली संगीतको सुरुवात सन् १८८५ मा अमेरिकी मिजनरीद्वारा अमेरिकी र बेलायती लोक संगीत स्कुलमा सिकाउन थालेपछि भएको मानिन्छ । ती गीतहरुलाई चान्गा भन्ने गरिन्थ्यो, जसमा धुन पश्चिमा शैलीको भएपनि शब्द भने कोरियाली नै हुन्थ्यो । सन् १९१० देखि १९४५ सम्ममा कोरियाली चान्गा लोकपि्रय बन्दै गायो ।

पहिलो कोरियाली पप एल्बम यी पुङगजीन सिवोल हो, जसलाई पाक चे स्योन र लिर्यु सेकले बजारमा ल्याएका थिए । यसमा जापानीबाट अनुवादित गीतहरु थिए । पहिलो पप संगीत भने सन् १९२९ मा ली ज्याङ सुकले गाएका थिए ।

केही रेकर्ड

सन् २००९ मा आइट्युन्समा डीएफएसबी केपप संगीतको पलिो वितरक बनेको थियो । सन् २०११ मा  मात्रै ११ सय एल्बम दक्षिण कोरियामा सार्वजनिक गरिएको थियो । त्यसमध्ये दुई तिहाइ एल्बम हिपहप संगीत प्रयोग भएको थियो भने बाँकीमा अन्य सांगीतिक शैली थियो ।

के पपको बादशाह भनिन्छ, बिटिएस ब्यान्डलाई । कोरियन ब्वाई ब्यान्ड अर्थात् बिटिएसको ख्याती अहिले विश्वभर छ । किशोरपुस्ता त यो ब्यान्ड भनेपछि हुरुक्कै हुन्छन् । यस ब्यान्डको कुनैपनि गीत चुट्कीभरमै भाइरल ट्रेडिङ हुन्छ ।

सोही ब्यान्डका प्रमुख सदस्य जंगकुक सन् २०२० को सर्वाधिक आकर्षक पुरुषको रूपमा दरिएका थिए । प्रतिष्ठित पत्रिका पिपुलको अनलाइन पोलमा जंगकुकलाई सर्वाधिक भोट मिलेको हो ।

सन् २०१२ मा के-पप संगीत डाउनलोड गरेको मूल्य अमेरिकी डलर शून्य दशमलम १० थियो । यसको मध्यसम्म आइपुग्दा कोरियाली संगीत बजारले अमेरिकी डलर ३ दशमलव ४ बिलियन आर्जन गरेको थियो । यो अघिल्लो वर्षभन्दा २७ दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो । टाइम म्यागजिनले यसलाई ‘दक्षिण कोरियाको सबैभन्दा ठूलो निर्यात’ भनी उल्लेख गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment