Comments Add Comment

पुरुषका लागि तीज गीत लेख्दा ग्लानी भयो: राजकुमार बगर

नेपाली गीतसंगीतमा विकृति भित्रिएको गुनासो हुन थालेको धेरै भैसकेको छ । अझ जब हरेक वर्ष तीज नजिकिन्छ यो गुनासो थप सुनिन्छ । तीज गीतमा पुरुष कलाकार हाबी भएको, तीज गीतका नाममा रत्यौली गीत आएको, तीजको मर्म नबोकेको, शब्दहरु र भिडियो उश्रृङखल भएका गीतहरु ल्याएको गुनासो सधै भैरहेको हुन्छ ।

थुप्रै लोकप्रिय गीत लेखेका गीतकार राजकुमार बगर पनि तीज गीतमा विकृति भित्रिएको वर्षौ भैसकेको बताउँछन् । उनले लेखेका केही तीज गीतहरु पनि लोकप्रिय छन् । जसमध्ये सिन्धु मल्लको स्वर रहेको ‘चिटिक्कै भा छु रे’ निकै लोकप्रिय तीज गीत मानिन्छ ।

पछिल्लो समय तीज गीतमा पुरुष हावी भैरहेको समयमा उनी भने पुरुष स्वरका लागि तीज गीत लेख्दैनन् । उनले महिलामा लागि मात्र तीज गीत लेख्दै आएका छन् ।

केही वर्ष अगाडि पुरुष स्वरका लागि एउटा तीज गीत लेखेका बगरले त्यसले आफूलाई निकै ‘ग्लानी’ भएको बताए । उनले अनलाइनखबरसँग भने, ‘त्यसयता पुरुषका लागि केहील्यै तीज गीत लेखिन् । थुप्रै आग्रहहरु अस्वीकार गरेँ ।’

आउँदा दिनहरुमा पनि आफूले पुरुष स्वरका लागि तीज गीत नलेख्ने बताए । उनको बुझाईमा तीज गीतमा पुरुष सहभागिता नेपाली लोक परम्परामा पर्दैन । उनको तर्क छ ‘तीज, भैलिनी र रत्यौली गीत पुरुषले गाउन मिल्दैन ।’ पुरुषले गाएका तीज गीत हेरेर आफू रमाउन नसक्ने बगर बताउँछन् । सोही कारण यसवर्षका तीज गीतहरु पनि आफूले खासै नहेरेको उनले बताए ।

गीतसंगीतमा भित्रिएको विकृतिबारे बगरले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर समेत असन्तुष्टि पोखेका छन् । ‘हिन्दु संस्कार अनुसार ‘नारी पर्व’ भन्दै आईएको तीजमा तीज गीत गाउँदै नाचे दाजुभाई । नेपाली संस्कृति र संस्कारको संरक्षणको ठेकेदारहरु आजसम्म पनि संगै बेसरम नाचिरहेका छन्’ बगर लेख्छन् ‘यो विकृति हो, सच्याउनुपर्छ भन्नेहरु अल्पमतमा परे र परिरहेका छन् ।’

तीज मात्र नभएर रत्यौलीका नाममा आएका गीतमा पनि बगर असन्तुष्टि पोख्छन् । उनले लेखेका छन् ‘हुँदा हुँदा परम्परा अनुसार पुरुषले हेर्न त के, सुन्न पनि निषेधित गरिएको, घोषित अघोषित रत्यौली गीत गाए र नाचे पनि । बिचरा हामी, संस्कार र संस्कृति बलाकृत भैरहँदा पनि ताली बजाई रहेका छौं ।’ उनले प्रश्न समेत गरेका छन्, ‘के हामीलाई नाङ्गो व्यवसायको नाममा संस्कार र संस्कृति विगार्ने अधिकार छ सरकार ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment