Comments Add Comment

लुम्बिनी प्रदेश सांसद विमला वली माओवादी केन्द्रको सम्पर्क बाहिर

१६ साउन, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली पार्टीको सम्पर्कमा नरहेको माओवादी केन्द्रले जनाएको छ ।

पार्टीको शनिबार (आज) हुने संसदीय दलको वैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएको माओवादी केन्द्रका सांसद इन्द्रजित थारुले बताए । मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीले माओवादी केन्द्र छाडेर एमाले रोजेको आशंका गरिएको छ ।

माओवादी केन्द्रका सांसद थारुले सरकार अल्पमतमा परेकाले सरकार टिकाउने उपायस्वरुप विमलालाई सरकारकै मान्छेले दबाब र प्रलोभनमा पारेर एमालेमै फर्काएको हुनसक्ने पार्टीले आशंका गरेको बताए ।

जसपाबाट मन्त्री बनेका तीन जना सांसद शुक्रबार पदमुक्त भएपछि मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा परेका छन् । विमला एमालेमा फर्केपनि सरकारलाई बहुमत पुग्ने अवस्था छैन ।

दाङमा भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनाव जितेकी विमलाले सर्वोच्चको फैसलाले नेकपा खारेज भएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।

‘हामीले संसदीय दलको वैठकमा उपस्थित हुन सबै माननीय ज्यूलाई फोन गरेर सूचना दिने क्रममा विमलाजीसँग सम्पर्क हुन सकेको छैन,’ थारुले भने, ‘उहाँको घरमा जाँदा र निर्वाचन क्षेत्रभर खोज्दा पनि भेटिनुभएको छैन ।’

यो पनि पढ्नुहोस आफ्नै खुसीले माओवादी केन्द्र रोजेकी हुँ : विमला वली

एमालेले भने विमला पार्टीको संसदीय दलको बैठक र जिल्ला कमिटीको बैठकमा सहभागी भएको भन्दै विमलाले माओवादी केन्द्र रोज्न नपाउने जिकीर गर्दै आएको छ ।

गत बैशाख १९ गते उनले पत्रकार सम्मेलन गरेर आफूले स्वेच्छाले माओवादी रोजेको घोषणा गरेकी थिइन् । प्रदेश सभा बैठकमा पनि उनी माओवादी केन्द्रकै लहरमा बस्दै आएकी थिइन् । नेकपा खारेजपछि प्रदेश सभा सचिवालयले आफ्ना सांसदहरुको नामावली माग गर्दा एमाले संसदीय दलले विमलाको नाम पठाएको थिएन ।

इलाका प्रहरी कार्यालय तुल्सीपुरका डीएसपी श्यामु अर्यालले सांसद खत्री दाङको सदरमुकाम घोराहीमा रहेको बताए । सांसद वलीसँग अनलाइनखबरले सम्पर्क गर्न पटक–पटक प्रयास गरेपनि उनले फोन रिसिभ गरेकी छैनन् ।

८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा जसपाबाट मन्त्री बनेका तीन जना सांसद शुक्रबार पदमुक्त भएपछि मुख्यमन्त्री शंकर पोखरेल पुनः अल्पमतमा परेका छन् । मुख्यमन्त्रीको पक्षमा एमालेका ३८ सांसद मात्र छन् भने विपक्षी गठबन्धनमा ४१ मत छ । विमला एमालेमा फर्केपनि सरकारलाई बहुमत पुग्ने अवस्था छैन ।

प्रदेशमा नयाँ प्रदेश प्रमुख आएसँगै विपक्षी गठबन्धन विशेष अधिवेशनको समावेदन गरी मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद वली आफ्नै पार्टीको भएकाले आफूहरुसँगै रहेको र कतै नगएको दावी गरे । केही दिनअघि जनता समाजवादी पार्टीकी सांसद पुरमति ढेंगालाई पनि सत्ता पक्षले आफूतिर तान्ने प्रयास गरे पनि सफल हुन सकेको थिएन ।

तत्कालीन नेकपा विभाजन भएपछि बहुमत गुमाएका मुख्यमन्त्री पोखरेलले जसपाका चार जनालाई सरकारमा सहभागी गराएर बहुमत पुर्याएका थिए । तर असार १८ गते भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएपछि सरकार अल्पमतमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
टोपराज शर्मा

ट्रेन्डिङ

Advertisment