 
																			१६ साउन, दाङ । रुकुमपूर्वको महत आफैंमा घना मगर बस्ती भएको डाँडामा अवस्थित सुन्दर गाउँ हो । दश वर्ष लामो जनयुद्धको केन्द्र भागमा रह्यो महत । थवाङ नजिकै रहेको महतमा प्रत्यक्ष ठूलाठूला भिडन्त भएका थिए भने माओवादीको चर्चित लाबाङ बैठक पनि यही महतकै लाबाङमा सम्पन्न भयो ।
त्यति मात्र होइन जनमुक्ति सेनाका डिभिजन स्तरसम्मका सैन्य तालिम पनि यहीं भए र सैन्य कार्यालयहरु यहीं खडा गरिएका थिए । जनयुद्धको चर्चित क्षेत्र महतमा अहिले युद्ध पर्यटनको विकासका लागि पनि पहल भइरहेको छ ।
यो भेग युद्ध पर्यटनको हिसाबले महत्वपूर्ण स्थान हो । जनयुद्धमा भएको बलिदानमा पनि महतगाउँ निकै अगाडि छ । महतमा मात्रै ५८ जनाले रगत बगाएका छन् । महत गाउँकै नजिक लाबाङमा बसेको एउटा बैठक निकै चर्चित बन्न पुग्यो । जुन बैठकबाट नेता डा. बाबुराम भट्टराइलाई कारबाही गरेको थियो । यस्तै यही गाउँपालिकाको चुनबाङ भेरीडाँडामा २०६२ असोजमा बसेको ऐतिहासिक बैठकले माओवादीको राजनीतिक लाइन बदलिदियो ।

२०५६ असोज ५ को राति माओवादीले प्रहरी चौकी आक्रमण गरी डीएसपी ठूले राईलाई अपहरण गरेपछि महत सुरक्षाकर्मीको निगरानीमा पर्यो । माओवादीले युद्ध अबधिभर प्रहरीका उच्च अधिकारीलाई अपहरण गरेको यो पहिलो घटना भएकाले पनि महत गाउँ निकै चर्चामा थियो । पछि राज्यपक्षसँग तत्कालीन नेकपा माओवादीका नेता देव गुरुङलाई रिहा गराएर युद्धबन्दी साटफेर अन्तर्गत ठूले राइलाई माओवादीले रिहा गरेको थियो ।
महतमा राज्यपक्षबाट ५२ र माओवादीबाट ६ गरी ५८ जना मारिएका थिए । युद्धकालमा माओवादीको केन्द्रीय हेडक्वाटर मानिने थबाङ प्रवेश गर्ने पश्चिमी नाका पनि हो महत । त्यसैले पनि थबाङ जाँदा–आउँदा सुरक्षाकर्मीको निगरानीमा हुन्थ्यो यो गाउँ । यही ऐतिहासिक ठाउँ महतमा अहिले ‘युद्ध फिचर’ निर्माण भइरहेको छ ।
महतलाई युद्ध स्मारिकाको रुपमा परिचित गराउन प्रतिनिधिपात्रको रुपमा मुख्य लडाकुहरुको मोडेल तयार गरेको युद्ध फिचर निर्माण उपभोक्ता समितिका अध्यक्ष कमल बुढा मगर (जनक)ले जानकारी दिए । ‘स्याण्ड मोडल अन्तर्गत अहिले महत चौकी आक्रमणका मुख्य कमान्डर हालका उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) तथा अन्य सहायक कमान्डर गरी जम्मा ६ जनाको मोडल निर्माण भएको छ’ उनले भने, ‘यसलाई हामी निरन्तरता दिने छौं ।’
फोटोमा बाँयातर्फबाट हेर्दा उक्त भिडन्तमा माओवादीतर्फका सेनालाई नेतृत्व गर्ने दुई नम्बर प्लाटुन सेक्सन कमान्डर ‘निर्माण’को शालिक छ, जो सल्यान कपुरकोट आक्रमणको बेलामा मारिएका थिए ।

‘स्याण्ड मोडेलमा देखिएका छ जनामध्ये उहाँले मात्रै सहादत गर्नु भएको छ भने अरु सबै जीवितै हुनुहुन्छ,’ कमलले भने । दोश्रोमा रोल्पाको एक नबर प्लाटुनको कमाण्डर हरिबहादुर पुन (वरुण), सबैभन्दा पछाडि मेडिकलको जिम्मेवारीमा हुनु भएका रुकुमकोटका कृष्ण रेग्मी, बाँयातर्फबाट तेश्रोमा रुकुम गुनामका २ नम्बर प्लाटुन कमान्डर होम प्रकाश श्रेष्ठ (हिमाल)को तस्विर राखिएको छ भने माथिबाट प्वाइन्टेड गर्नुभएको नन्द बहादुर पुन (पासाङ), पाचौं नम्बरमा स्क्वाइड फोर्स कमाण्डर काँक्रीका जीतकुमार बुढा मगर (खामे शिखर)लाई राखिएको छ । यसमा प्रतिनिधि कमाण्डरको मात्र तस्विर बनाइएकाले सबैको राख्न नसकिएको उनले बताए ।
गाउँपालिकाको बीस लाखको लगानीको युद्ध फिचर निर्माण भइसकेको छ भने महत आक्रमणमा भएका तयारीलाई झल्काउने प्रयास पनि अहिले भइरहेको छ । ठूले राईले माओवादी लडाकुहरुसमक्ष आत्मसर्पण गरेको दृष्य पनि युद्ध फिचरमा समेटिएको छ ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष दुबैजना पहिला जनमुक्ति सेना भएको र यहाँको युद्ध पर्यटनको संभावनालाई ध्यान दिएर युद्ध फिचर निर्माणलाई गाउँपालिकाले प्राथमिकता दिएको वडा अध्यक्ष देबबहादुर बुढाले बताए ।
‘जनयुद्धले देशमा परिबर्तन ल्याएकाले भुल्न सकिन्छ र नयाँ पुस्तालाई थाहा नहुन सक्छ तर यहाँ आउने जोकोहीले पनि अब जनयुद्धको सम्झना गर्नेछ र नयाँ पुस्ताले अध्ययन गर्न पाउने छ,’ उनले भने । यसमा लड्ने जनमुक्ति सेनाका कमाण्डरहरुको प्रतिमा पनि यसमा राखिएको छ । ठूलो सेबाङ पोमा युद्ध फिचर बनिरहेको छ । युद्धको तयारी गर्दा प्रयोग गरिने ‘स्याण्ड मोडेल’बाट नै यहाँ युद्ध फिचर निर्माण गरिएको छ ।

गौतम बुद्धको स्मारक पनि निर्माण
राज्य पुनर्संरचनासँगै महत भूमे गाउँपालिकामा परेको छ । यो गाउँपालिकामा मगरहरुको बहुल्यता छ भने अन्य जातिको पनि मिश्रित बसोबास छ । एकातिर मगर समुदायको सांस्कृतिक वस्ती महत, अर्कोतिर जनयुद्धको ऐतिहासिक स्थल पनि भएकाले भूमे गाउँपालिका यहाँको पर्यटन विकासमा जुटेको छ ।
‘हाम्रो वार्षिक नीति तथा कार्यक्रममा यस गाउँपालिकाको समृद्धिका स्रोत पहिचान गर्ने क्रममा हामीले पर्यटनलाई प्रमुख स्रोतको रुपमा लिएका छौं,’ गाउँपालिका अध्यक्ष रामसुर बुढाले भने, ‘हामीले तीन वटा क्षेत्रहरुको पहिचान गर्दा पर्यटकीय क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।’

त्यसो त युद्ध र शान्तिको अध्ययन गर्न चाहनेका लागि यो गाउँ गजबको संगम बनाउने प्रयास भइरहेको छ । गाउँको प्रवेशद्वारमै शान्तिका प्रतिमूर्ति गौतम बुद्धको स्मारक बनाइएको छ । ‘हामीले शान्तिकै लागि क्रान्ति गरेका थियौं, जनताको मुक्तिसहितको शान्ति हाम्रो सपना हो’ गाउँपालिका अध्यक्ष बुढा भन्छन्, ‘त्यही भएर हामीले युद्ध फिचर र शान्तिका प्रतीक गौतम बुद्धको स्मारक एकै ठाउँमा बनाएका छौं ।’
जिल्ला विकास समिति रुकुमका तत्कालीन प्रमुख भरतकुमार शर्माको कल्पना अनुसार महतमा बुद्धको मूर्ति पनि निर्माण गरिएको हो । शर्मा हाल कर्णाली प्रदेश सरकारका मुख्य सचिव छन् ।
के हो महत ?

महत गाउँको खास नाम ‘मैगाउँ’ थियो । मैगाउँलाई खाम भाषामा ‘मैनाखार’ भनिन्छ । यो ठाउँमा पहिला प्रशस्तै मात्रामा बाझका रुखहरु थिए । बाझको रुखहरुको बीचमा घरहरु थिए । त्यसैले ‘मैनाखार’ भन्ने गरेको वडा अध्यक्ष बुढा बताउँछन् । ‘मै’ भनेको बाझ र ‘नाखार’ भनेको गाउँ हो । पछि रुकुम अड्डा भइसकेपछि मगरहरु अर्थात मतवाल बस्ने रैछन् भनेर यो गाउँको नाम ‘महत’ रहन गएको हुनसक्ने उनको अनुमान छ ।
पहिला महत सिंगो गाविस थियो भने अहिले भुमे गाउँपालिकाको तीन वटा वडामा बाँडिएको छ । मुख्य महत वडा नम्बर ६ नम्बरमा पर्दछ ।

 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4