Comments Add Comment

नजिकिंदै अमेरिका र भारत : नेपाललाई कस्तो प्रभाव पर्ला ?

१७ साउन, काठमाडौं । जुलाई २७–२८ मा भारत भ्रमण गरेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल लगायत उच्च सरकारी अधिकारीहरुसँग भेटघाट गरे ।

भेटघाट दुईपक्षीय विषयसँगै अफगानिस्तानको पछिल्लो अवस्था, क्षेत्रीय विषय र साझा सुरक्षा लगायतका विषयमा केन्द्रित थियो । कोरोना महामारीकै बीच केही महीनायता भारत र अमेरिकाबीच द्विपक्षीय भेटघाट बाक्लिएको छ । गत मे महीनामा भारतीय विदेशमन्त्री एस जयशंकरले अमेरिकाको भ्रमण गरेका थिए ।

जयशंकरका अनुसार गएको ७ महीनामा अमेरिकी समकक्षीसँग उनको यो चौथो भेटघाट थियो । विदेशमन्त्रीको तहमा मात्र होइन, दुई देशको उच्च राजनीतिक तहमा पनि केही महीनायता निरन्तर अन्तरक्रिया भइरहेको छ ।

गत हप्ता अमेरिकी विदेशमन्त्रीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा जयशंकरले भनेका थिए, ‘प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडनबीचमा निरन्तर कुराकानी भएको छ र, क्वाड, जि–सेभेन र जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा दुवै नेता संयुक्त रुपमा सहभागी भएका छन् ।’

शक्ति राष्ट्रहरु मिल्दा र उनीहरुबीच द्वन्द्व बढ्दा दुवै अवस्थामा नेपाल सतर्क हुनुपर्ने र त्यही अनुसार आफ्नो रणनीति बनाउनुपर्ने विश्लेषकहरु बताउँछन् । यद्यपि भारत र अमेरिकाको बीचमा सहकार्य बढ्दा नेपालमा त्यसको सकारात्मक प्रभाव पर्ने उनीहरुको भनाइ छ ।

गत वर्ष नोभेम्बरमा तत्कालीन अमेरिकी विदेशमन्त्री माइक पम्पियोको भारत भ्रमणमा दुई देशबीच ऐतिहासिक ‘बेका’ रक्षा सम्झौता भएको थियो । केही वर्षयता चीनसँग सम्बन्ध चिसिएसँगै अमेरिकाले भारतसँगको सम्बन्धलाई विशेष महत्व दिंदै आएको छ । अमेरिकाले भारतलाई हिन्द महासागर क्षेत्रको एक ‘महत्वपूर्ण र भरपर्दाे साझेदार’ को रुपमा लिएको छ ।

भारतको चीनसँगको सीमा विवादमा अमेरिकाले भारतको पक्ष लिंदै आएको छ । बेलायत र अमेरिकाका लागि पूर्व नेपाली राजदूत डा. सुरेश चालिसे भन्छन्, ‘केही समययता भारत र अमेरिका एक आपसमा नजिकिएका छन् । यसलाई हामीले निकै नजिक र मिहीन ढंगले हेनुपर्छ ।’ जापान, भारत, अमेरिका र अष्ट्रेलिया सम्मिलित चार देशीय संयन्त्र ‘क्वाड’ ले पनि भारत र अमेरिकालाई पछिल्लो समय नजिक ल्याइदिएको छ ।

के कुरा भयो भारत र अमेरिकाबीच ?

अमेरिकी विदेशमन्त्रीको भारत भ्रमणको समयमा दुईपक्षीयसँगै विभिन्न क्षेत्रीय मुद्दाहरुमा कुराकानी भएको छ । दुई देशको बीचमा कोभिड–१९ सहकार्य र खोप उत्पादनको विषयमा कुराकानी भएको छ ।

पछिल्लो समय दुई देशको बीचमा मिलेर खोप उत्पादन गर्ने र विशेषगरी मध्यम र गरिब आय भएका मुलुकमा वितरण गर्ने विषयमा कुराकानी भइरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

त्यसैगरी दक्षिण एसिया र दक्षिणपूर्वी एसिया मुलुकहरुमा भारतको बढ्दो प्रभावका बारेमा र यी मुलुकमा मिलेर काम गर्ने विषयमा पनि कुराकानी भएको थियो ।

अमेरिकाले अगाडि बढाएको इन्डो प्यासेफिक रणनीतिको विषयमा पनि दुई देशका विदेशमन्त्रीहरुको बीचमा कुराकानी भएको थियो । त्यसैगरी अमेरिकी सेना फिर्ता भएपछि अफगानिस्तानमा उत्पन्न अस्थिरता र त्यसलाई सामना गर्ने विषयमा पनि कुराकानी भएको थियो ।

अफगानिस्तानमा अस्थिरता बढ्दा त्यसले क्षेत्रीय सुरक्षा र स्थायित्वमा असर पर्नसक्ने भन्दै त्यसको आलोचना भइरहेको छ । यसबाहेक भारतका छिमेकी मुलुकहरुमा बढ्दो चिनियाँ प्रभावको विषयमा पनि कुराकानी भएको थियो ।

नेपाललाई कस्तो प्रभाव पर्ला ?

भारत भ्रमणमा आएका अमेरिकी विदेशमन्त्रीले नयाँ दिल्लीमा उत्रनासाथ प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरे । अमेरिकी विदेशमन्त्रीले भारतमा आएर देउवालाई प्रधानमन्त्री गर्नु आफैंमा अर्थपूर्ण थियो । यसले नेपालको मामिलाका कतिपय विषयमा भारत र अमेरिकाको नजिक आउँदै गरेको रुपमा बुझ्नुपर्ने विश्लेषकहरु बताउँछन् ।

शक्ति राष्ट्रहरु मिल्दा र उनीहरुबीच द्वन्द्व बढ्दा दुवै अवस्थामा नेपाल सतर्क हुनुपर्ने र त्यही अनुसार आफ्नो रणनीति बनाउनुपर्ने विश्लेषकहरु बताउँछन् ।

यद्यपि भारत र अमेरिकाको बीचमा सहकार्य बढ्दा नेपालमा त्यसको सकारात्मक प्रभाव पर्ने उनीहरुको भनाइ छ । पूर्वराजदूत चालिसे पछिल्लो समय दुवै मुलुकले बेकालगायत महत्वपूर्ण सम्झौताहरु गरेको बताउँछन् ।

‘इण्डोप्यासेफिक रणनीति र क्वाड दुवैमा अमेरिका र भारतको सहभागिता छ । त्यसले गर्दा चीनले अलिकति सतर्क र चिन्तित हुँदै चासो राखेको छ । यही बेला एमसीसीको विषय पनि आएको छ र एमसीसी नेपालको लागि हितकर नै छ’ चालिसेले भने, ‘दुई देशको सम्बन्ध अगाडि बढ्नु सकारात्मक कुरा हो तर चीनसँगको उनीहरुको रणनीतिक मुभले नेपाल प्रभावित नहोस् भन्नेमा हामी सतर्क हुनुपर्छ ।’

चालिसेका अनुसार भारत र अमेरिकाको बीचमा सम्बन्ध सुदृढ हुँदै गएमा नेपाललाई एमसीसी जस्ता परियोजना कार्यान्वयन गर्न सहयोग गर्छ । ‘भारत विशेषत दुई पक्षीय सम्झौतामा जान चाहन्छ तर त्रिपक्षीय साझेदारीको कुरामा भारत अलिक हच्किन्छ । अमेरिका रिसाउँला भनेर भारतले यस्ता परियोजनामा नो भन्न सक्दैन । एमसीसी अनुसार प्रसारण लाइन बन्यो भने हामी बंगलादेशलाई बिजुली बेच्न सक्छौं’ चालिसेले भने, ‘अमेरिका र भारतको बीचमा राम्रो सम्बन्ध हुँदा धेरै क्षेत्रीय सहकार्य र परियोजनामा हामीलाई सहज हुन्छ ।’

भूराजनीतिक विश्लेषक चन्द्रदेव भट्टका अनुसार भारत अमेरिकाको प्राथमिकतामा पर्दा समग्र दक्षिण एसियाली क्षेत्र नै प्राथमिकतामा पर्ने हुनाले उनीहरुबीच हुने सहमतिको प्रभाव नेपालमा पनि पर्नेछ ।

‘अमेरिकाले भारतलाई एक क्षेत्रीय साझेदारको रुपमा लिएको छ । यसको मतलब क्षेत्रीय साझेदारले पनि केही विश्वव्यापी जिम्मेवारी लिनेछन्’ भट्टले भने, ‘उनीहरुको सम्बन्ध गहन हुँदा यस क्षेत्रका केही विषयहरु प्रभावित हुनेछन् ।’

तर नेपालमा अमेरिकाका केही रणनीतिक चासोमाथि अमेरिका आफैंले डिल गर्ने भट्टको भनाइ छ ।

पूर्व प्रधानमन्त्री केपी ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईका अनुसार विश्वका शक्तिशाली मुलुकले सहकार्य गर्दा त्यसले एउटा अबस्था सिर्जना गर्छ भने उनीहरु द्वन्द्वमा जाँदा अर्काे अवस्था हुन्छ । उनले अनलाइनखबरसँग भने,’ संसारको टाढाको मुलुकलाई त असर गर्छ भने नजिकको मुलुकलाई त्यसको असर स्वाभाविक रूपले पर्छ । त्यही भएर ती विषयलाई हामीले एकदमै मसिनो ढंगले लिन सक्नुपर्छ र त्यसका आधारमा आफ्ना कदम चाल्नुपर्छ ।’

भट्टराईले केही दिन अगाडि अनलाइनखबरसँगको अन्तवार्तामा अगाडि भनेका थिए, ‘विश्वव्यापी रूपमा जब ध्रुवीकरण हुन्छ र शक्तिशाली मुलुकहरू द्वन्द्वमा जान्छन्, त्यसले हामीकहाँ ल्याउने सक्ने परिणामका सम्बन्धमा हाम्रो बीचमा गहन छलफल हुनुपर्छ । गहन अध्ययन गरेर सही निष्कर्ष निकाल्न आवश्यक छ । त्यो गर्न सकेनौं भने हामी अप्ठेरोमा पर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
कमलदेव भट्टराई

भू-राजनीति र कुटनीतिक मामिलामा दखल राख्ने भट्टराई अनलाइनखबरका सहायक सम्पादक हुन् ।

ट्रेन्डिङ

Advertisment