Comments Add Comment

अध्यक्ष ओलीमाथि नेता नेपालको अविश्वास कायमै

एमालेमा एकता प्रयास तीव्र

१६ साउन, काठमाडौं । शनिबार सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा जम्मा भएका दोस्रो तहका नेताहरुको निष्कर्ष छ, पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि वरिष्ठ नेता माधवकुमार नेपालको अविश्वास कायमै छ ।

पार्टीमा एकताका लागि २७ असारमा १०बुँदे सहमति जुटाएको तत्कालीन कार्यदलमा सहभागी अधिकांश नेताहरु सहभागी बैठकमा सुवास नेम्वाङ र विष्णु पौडेलले नेता नेपालसँग भएको छलफलबारे जानकारी गराएका थिए । पार्टीमा एकताका लागि नेता नेपाल पनि सकारात्मक रहेको भन्दै नेताहरुले छलफललाई तीव्रता दिनुपर्ने निष्कर्ष निकाले ।

तर दोस्रो तहका नेताहरुले नेता नेपाललाई भेट्न नपाउँदै अध्यक्ष केपी शर्मा ओलीले जिल्ला कार्यसमिति, काठमाडौंको बैठकलाई सम्बोधन गर्दै घोषणा गरिदिए, माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन ।’

यस्ता अधिव्यक्तिले अविश्वास बढाउने र पार्टी एकताका लागि भइरहेको प्रयासमा असर गर्ने नेताहरुको चिन्ता छ । यद्यपि दिउँसो लुतसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा अध्यक्ष ओलीले बोलाएको स्थायी कमिटीको बैठक स्थगित भयो । पार्टीमा सहमति जुटाउने प्रयासकै लागि आइतबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए ।

नेपाल पक्षका नेताहरुले पनि नेता नेपालसँग भेटेका छन् । आफ्नै निवास कोटेश्वरमा भएको भेटमा नेता नेपालले सम्मानजनक एकतामा जोड दिएका छन् । उनले भनेका छन्, ‘कसरी अगाडि जाने भन्नेमा सबै जिम्मेवार हुनुपर्यो नि ! सबै गम्भीर हुँदा म कहिले तयार भएको छैन र ?’

छलफलका क्रममा नेता नेपालले आफू अर्को अध्यक्ष नहुने पुरानै अडान दोहोर्याएका छन् । माधव नेपाल पदकै लागि लडेको भन्ने सन्देश जाने भन्दै उनले आफ्ना पक्षका नेताहरुलाई भनेका छन्, ‘त्यो प्रस्ताव स्वीकार नगरौं ।’

नेपाल पक्षीय एक नेताका अनुसार ओली पक्षका नेताहरुले नै स्वयंम नेता नेपालसामूह पार्टी एकताका लागि दोस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए । आफूहरुले भने १०बुँदे सहमति कार्यान्वयनसँगै नेता नेपाललाई अर्काे अध्यक्ष बनाउने प्रस्ताव मानेर जानुपर्नेमा जोड दिएको एक नेताले जानकारी दिए । उनले भने, ‘अब ओलीजीले चाहेर पनि सहमतिलाई भत्काउने ठाउँ छैन भनेर हामी उहाँलाई कन्भिन्स गर्ने प्रयासमा छौं ।’

तर नेता नेपालले भने ओलीले १०बुँदे सहमति कार्यान्वयन गर्छन् र पार्टीमा सबैलाई समेटेर अगाडि जान्छन् भन्नेमा आफूलाई विश्वास नभएको बताएका छन् । एक नेताका अनुसार विश्वासको वातावरण बनाउन भोलिदेखि छलफलले थप तीव्रता पाउनेछ र, १०बुँदेसहित पावर शेयरिङबारे प्रस्तावित सहमतिका लागि नेता नेपाल सहमत भएपछि दुई नेताबीच भेट हुनेछ । एक नेता भन्छन्, ‘यसका लागि थप केही दिन लाग्नसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment