Comments Add Comment

वार्ताकारलाई रामकुमारीको प्रश्न : ओलीले आत्मालोचित भएर राजीनामा दिन्छन् ?

१६ साउन, काठमाडौं । नेकपा एमालेमा एकताका लागि दोस्रो तहका नेताहरु छलफलमा जुटिरहेका बेला शनिबार शीर्ष नेताद्वय आफ्नो समूहको कार्यक्रममा व्यस्त थिए । अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं जिल्ला कमिटीको बैठकमा थिए, जहाँ उनले माधव नेपालहरुलाई पार्टीमा ठाउँ नभएको बताए ।

वरिष्ठ नेता माधवकुमार नेपाल अनेरास्ववियूले बनाएको अखिल फोर्सको बृहत भेलामा थिए । उनले ओलीबारे व्यक्तिगत टिप्पणी त गरेनन्, तर कसैले फेरि फर्केर प्रधानमन्त्री बन्ने जालझेल नगरोस् भन्नेतर्फ सचेत हुनुपर्ने बताए ।

सोही कार्यक्रममा नेतृ रामकुमारी झाँक्रीले भने अध्यक्ष ओलीलाई मात्र होइन, माधव समूहमा रहेर एकताका लागि वार्ता गरिरहेका नेतारुमाथि समेत प्रश्न उठाएकी छन् । वार्ताकार दोस्रो तहका नेताहरुलाई उनले प्रश्न छ, ‘कम्युनिस्ट आन्दोलन धरासायी किन भयो ? पुस ५ प्रतिगमन हो कि होइन ? यसबारे साझा धारणा नबनी गाला जोडाएर मात्र पार्टी एकता हुन्छ ?’

ओलीलाई प्रतिगमकारीको संज्ञा दिँदै उनले पार्टी एकताका लागि अध्यक्ष पद छाड्नुपर्ने बताएकी छन् । माधवकुमार नेपाललाई अर्को अध्यक्ष बनाउने प्रस्तावको विरोध गरेकी झाँक्रीले पार्टीलाई नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानअनुसार लोकतान्त्रिक विधिबाट  चलाउनुपर्ने बताएकी छन् ।

प्रस्तुत छ, अखिल फोर्सको भेलालाई नेतृ झाँक्रीले गरेको सम्बोधनको सम्पादित अंश

धेरै मान्छेलाई कन्फ्युजन छ, अब के हुन्छ ? हामी प्रत्येक मान्छेले घण्टाघण्टा/मिनेटमिनेटका अपडेट खोजिरहेका छौं । म साथीहरुलाई आग्रह गर्न चाहन्छु, राजनीतिमा एउटा दृष्टिकोण राख्नुहुन्छ भने त्यसप्रति समान धारणा नहुँदासम्म मान्छेहरु सँगै हिँड्न सकिने अवस्था चाहिँ बन्दैन ।

आज सबभन्दा धेरै मान्छेहरुले गर्ने प्रश्न हो, नेकपा एमाले एक हुन्छ कि हुँदैन ? यो प्रश्न सोध्नुभन्दा अगाडि दुई तिहाइ नजिकको बहुमतको सरकार आज ८३ जना (सांसद) हुने अवस्था किन भयो ? लोकप्रिय कम्युनिस्ट आन्दोलन धरासायी किन भयो ? एउटा निर्विकल्प शक्तिका रुपमा उदय भएको कम्युनिस्ट आन्दोलनको विघटन किन भयो ? यसको जवाफ र त्यसमा सक्रिय पात्रहरुबारे गरिने विश्लेषण विना हामीले गाला जोडाएर मात्र पार्टी एकता हुन्छ कि हुँदैन ?

आज कति जना मान्छेले वार्ता गर्दैछन्, यो महत्वपूर्ण होइन । आज एजेण्डामा कसले कुरा गर्दैछ, यो महत्वपूर्ण हो । कुन दर्जाका मान्छेहरुले वार्ता गर्दैछन्, सवाल यो होइन, आजको यो विचारमा सैद्धान्तिक, राजनीतिक, नैतिक हिसाबले को खडा भएको छ, यो महत्वपूर्ण हो ।

केपी कमरेडको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको सदस्य भइरहँदा मैले यो कम्युनिस्ट आन्दोलन धरासायी पार्ने, समाप्त गर्ने प्रमुख पात्र पार्टी अध्यक्ष तपाईं हो भन्दै गर्दा उहाँले आत्मालोचित भएर पार्टी अध्यक्षबाट राजीनामा दिने चेष्टा गर्नुहुन्छ कि गर्नु हुन्न ? यदि त्यो गर्नुहुन्न भने हामी यसो भन्ने मान्छे त्यो कमिटीको सदस्य बन्छौं कि बन्दैनौं ?त्यसकारण तपाईं हामीले तथ्यहरु विश्लेषण गरेर भन्न सक्छौं कि कुन अवस्थामा पार्टी एकता होला ।

के दुई तिहाईको सरकार गिरेको हामीले मत नहालेका कारण हो ? अथवा के तत्कालिन प्रधानमन्त्रीलाई घेराबन्दी गरेर काम गर्न नदिएकै कारण बालुवाटारबाट बालकोटको बार्दलीमा पुग्नुभएको हो ? अथवा कसैले केही लेख्दैमा भएको हो ? कि यसका पछाडि वस्तुगत कारण छन् ? हामीले द्वन्द्वात्मक भौतिकवादको धेरै क्लासहरु चलाएका छौं । द्वन्द्वात्मक भौतिकवादका तीन वटा नियम छन् । त्यसले भन्छ, कुनै पनि वस्तुको उद्भव, विकास र विनाश त्यसको अन्तरनिहीत कारणले हुन्छ, बाहिरी कुरा त सहयोगी मात्र हो । मलाई दर्शन शास्त्र पढाउने गुरुहरुले भन्नुहुन्थ्यो, एउटा अण्डालाई निश्चित समयभित्र खास तापक्रममा राख्यो भने त्यसबाट चल्ला निस्कन्छ । तर अण्डाको साइजको ढुंगालाई त्यति नै समय र त्यति नै तापक्रममा राख्दा किन चल्दा निस्किँदैन ? यदि समय र तापक्रमले मात्र चल्ला निस्किने हो भने अण्डाबाट मात्र होइन, ढुंगाबाट पनि निस्किनुपर्थ्यो । किन निस्किँदैन भन्दा अण्डामा मात्र चल्ला बन्ने तत्व हुन्छ, ढुंगामा हुँदैन ।

हो, यसैगरी तत्कालीन प्रधानमन्त्रीलाई आज यो अवस्थामा पुर्‍याउन कसैले विरोध गरे भन्ने बाह्य कुरा हो । वास्तविक र अन्तरनिहीत कारण उहाँले जुन स्वेच्छाचारी र निरंकुश कदम चाल्दै संविधान र व्यवस्थामाथि प्रहार गर्दै हिँड्नुभयो, आजको खुला सामाजले उहाँलाई बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्‍याउन अनिवार्य थियो र पुर्‍यायो । तथ्य यही हो, यर्थाथ यही हो ।

यो यर्थाथभन्दा पर गएर वार्ता समितिमा भएका साथीहरुले आज मिलाउने, भोलि पार्टी मिलाउने भन्दै हुनुहुन्छ । दशबुँदे, चारबुँदे थुप्रै प्रस्तावहरु हामीले मिडियामा देखेका छौं । यी थुप्रै कुरा र पावर शेयरिङभन्दा अगाडि कम्युनिस्ट आन्दोलनको बिर्सजन कसले गर्‍यो ? यसमा सैद्धान्तिक रुपमा हामी एकै ठाउँ उभिनुपर्छ कि पर्दैन ?

हामी पार्टी एकता त गरौंला । केपी कमरेडको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको सदस्य भइरहँदा मैले यो कम्युनिस्ट आन्दोलन धरासायी पार्ने, समाप्त गर्ने प्रमुख पात्र पार्टी अध्यक्ष तपाईं हो भन्दै गर्दा उहाँले आत्मालोचित भएर पार्टी अध्यक्षबाट राजीनामा दिने चेष्टा गर्नुहुन्छ कि गर्नु हुन्न ? यदि त्यो गर्नुहुन्न भने हामी यसो भन्ने मान्छे त्यो कमिटीको सदस्य बन्छौं कि बन्दैनौं ?

२०७७ पुस ५ र २०७८ जेठमा दुईदुई पटक गरेको संसद विघटनलाई हामी प्रतिगमन भनिरहेका छौं । उहाँहरु जनादेश प्राप्त गर्ने भनेर जाँदै हुनुहुन्थ्यो । यो प्रतिगमन हो कि जनादेश प्राप्त गर्न गएको ? हामी एउटै पार्टीमा हुने हो भने यसबारे एउटै धारणा हुनुपर्छ कि पर्दैन ? यदि प्रतिगमन हो भने प्रतिगमनकारीलाई शिरमा राखेर हामी त्यही पार्टीमा बस्न सक्छौं कि सक्दैनौं ? यदि यो प्रतिगमन होइन भने प्रतिगमन हो भनेर संसदमा विद्रोह गर्ने र अदालतसम्म पुग्नेहरु त्यो पार्टीमा बस्न सक्छन् कि सक्दैनन् ? यसको हिसाब किताब, सैद्धान्तिक विश्लेषणविना फलाना फलाना कमरेडहरु त्यता लाग्नुभयो, अनि पार्टी एकता भयो भन्ने होला र ?

यसो भन्दै गर्दा म पार्टी एकता विरोधी होइन । पार्टी एकता चाहने मान्छे हो । यही वार्तामा बसेर आज पार्टी एकताको धेरै वकालत गर्ने मित्रहरुले एक्लाएक्लै पार्टी दर्ता गर्दै गर्दा यसो गर्न हुन्न भनेर सामेल नहुने मान्छेहरु पनि हौं हामी । आज परिस्थितिमा के फेरबदल आयो ? राजनीतिक विश्लेषणमा के फेरबदल आयो ? जसको कारण उहाँहरुको पोजिसन बदलियो र हामीलाई गलत साबित गर्न खोज्दै हुनुहुन्छ र आफ्नो राजनीतिबाट पछाडि हट्न खोज्दै हुनुहुन्छ । यसको जवाफ दिनु पर्दैन ? यो जवाफ दश बुँदेले दिँदैन, दुईटा अध्यक्ष बनाएर पनि आउँदैन ।

यसको जवाफ खोज्न अगाडि जाऔं । आफ्नो ढंगले चलेका दुईवटा कम्युनिस्ट पार्टीहरुको एकता किन भयो ? अनि एकता किन भंग गरियो ? आफ्नै पार्टीमा फर्किन्छौं भने हामी आउने बाटो किन बन्द गरियो ? आफ्नै सरकारको विश्वासको मत लिने प्रयास किन गरिएन ? पटकपटक संसद विघटन किन गरियो ? यो के दुई जना नेताको जुँगाको लडाईं मात्र हो ? जुँगाको लडाईं हो भन्ने ठान्नुहुन्छ भने यो अभियानमा सामेल नहुनुस् । म त भन्छु यो जुँगाको लडाईं होइन, यहाँभित्र गम्भीर राजनीतिक विचलन छ, देशद्रोह छ, राष्ट्रघात छ र विचौलियाहरुलाई पालित पोषित गरेर यो मुलुकको सार्वभौमिकता र नेपालको लोकतान्त्रिक गणतन्त्रमाथि नै नजानिदो ढंगले प्रहार गर्न खोजिँदैछ । हेर्नुस्, कसरी पछ्यौरीले छोपिएका बिरालाहरु एकपछि अर्को म्याउँ गर्दैछन् ।

हामी व्यवस्था, प्रणाली र यो संविधानको पक्षमा दृढतापूर्वक उभिँदा यो ठाउँमा आइपुगेका हौं । ००७ सालमा क्रान्ति गर्ने ०१७ सालमा खोसाउने र ३० वर्ष लड्ने । ०४६ सालमा फेरि क्रान्ति गर्ने, २०५९ साल असोजमा आउँदा त्यो पनि खोस्ने । फेरि लड्यो, फेरि व्यवस्था ल्यायो । हिजो त राजा नै लोकतन्त्रका बाधक थिए भनियो । आज जनताका प्रतिनिधिलाई राज्यसत्ताको शिरमा राख्दै गर्दा तिनै मान्छेहरुले स्वेच्छाचारी, निरंकुश, संविधानविरोधी कदम चाल्दै गर्दा के अब पुस्तौंपुस्तासम्म हामी लोकतन्त्रको आलाप मात्र गर्ने हो कि आजै बाटो समाउने हो ?

मलाई सम्झना छ, २०६२/६३ को जनआन्दोलनका शुरुका दिनहरुमा केही दर्जन साथीहरु, हातमा मसाल बोकेर निस्किँदै गर्दा धेरैलाई विश्वास थिएन, राजालाई ढलाउन सकिन्छ भनेर । हामीले साथीहरुलाई भन्यौं, विश्वविद्यालयका कक्षाकोठा छोड्नुस्, लाइब्रेरी र प्रयोगशालाबाट बाहिर निस्कनुस् । पुस्तौंपुस्ता लोकतन्त्रका लागि लड्ने परिपाटी अन्त्य गर्न कहिल्यै नखोसिने लोकतन्त्र सुनिश्चित गर्न अब एक पटक निर्णायक लडाई लडौं । हामीले गरेको आह्वान यही थियो । त्यसैको आधारमा लड्यो, व्यवस्था परिर्वतन पनि गर्‍यौं, गणतन्त्र पनि ल्यायौं, संविधान पनि बनायौं । संविधानमा सबभन्दा ठूला उपलब्धि लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, संघीयता महत्वपूर्ण पिल्लरका रुपमा छन् भनेर भन्दैछौं ।

आज राज्यसत्ता र संयन्त्र कब्जा गरेर यो व्यवस्थामाथि पटकपटक प्रहार गरेर उही ठाउँमा पुग्दैछौं भने अब मैले म पछिको पुस्तालाई कहिल्यै नखोसिने लोकतन्त्र सुनिश्चित हुन्छ भनेर गरेको वाचाबाट कसरी पछाडि हट्न सक्छौं ? त्यसकारण कहिल्यै नखोसिने लोकतन्त्र जोगाउन निर्णायक बेलामा क्रान्तिकारी पार्टी बनाउने ठाउँमा आयौं । पार्टी अर्कै नामको बन्छ या नेकपा एमाले नै बन्छ, तपाईं त्यसका पछाडि नजानुस् । हामीले बोकेको राजनीति, हामी उभिएको धर्ती सबभन्दा प्रगतिशील हुनुपर्छ । हामी उभिएको धर्ती, हामीले बोकेको विचार, हामी संलग्न पार्टी र हामीले बोकेको झण्डाले देशभक्तिको झण्डा बोक्नुपर्छ, जनजीविकाको झण्डा बोक्नुपर्छ, राष्ट्रियताको झण्डा बोक्नुपर्छ र समाजका तमाम विकृतिविरुद्ध विद्रोहको झण्डा पनि बोक्नुपर्छ । त्यही कारण हामी यो ठाउँमा छौं ।

कुनै बेला त्यस्तो समय त गुजारेर आयौं, अहिले प्रतिकुलतालाई परास्त गरेका छौं । अब नयाँ ढंगले अगाडि बढ्दा आजको प्रमुख कार्यभार भनेको हामीले ल्याएको व्यवस्थाको रक्षा गर्नु हो । यो भनेको नेपालको संविधानले निर्दिष्ट गरेका राजनीतिक मामिलाहरुलाई चुस्त दुरुस्त राख्नु हो । यसका लागि कतिपयले भन्ने गरेको ‘पार्टी अनुशासन’को बन्देज भत्काएर हिँडेका छौं । र, जब अन्याय अत्याचारले सीमा नाघ्छ, प्रत्येक नागरिकलाई विद्रोहको अधिकार सुरक्षित हुन्छ । र मैले भन्ने गरेको छु, समयमा अन्यायकाविरुद्ध गरेको विद्रोहले ढिलोचाँडो वैधता प्राप्त गर्छ । आज यो प्रमाणित गरेका देखाएका छौं । हामीले गरेको विद्रोहले वैधता प्राप्त गरेको छ । हामीमाथि कसैले औंला ठड्याउन सक्ने अवस्था छैन । जब यस्तो अवस्था छ भने तपाईं हामी किन आत्तिने ?

पार्टी एकता हुन्छ । कहिले हुन्छ ?  आजको राजनीतिलाई यो अवस्थामा पुर्‍याउने पात्रहरु यो राजनीतिको मुलधारबाट बाहिर हुन्छन् । पार्टी एकताको शर्तमा छोड्छन् । त्यसबेला मात्र पार्टी एकता हुन्छ ।

म सम्झिन्छु, प्रतिगमन भनेर हामीले विगत ५/७ महिनादेखि जे गरिरहेका छौं, सबै साथीहरुको आर्काइभमा हाम्रा भनाइहरु छन् । प्रतिगमनकारीले सामान्य प्रायश्चित नगरी, प्रतिगमनकारीको अध्यक्षतामा कुममा कुम जोडाएर हामी बस्दैमा कम्युनिस्ट आन्दोलनको सुदृढीकरण हुन्छ ? चुनावमा जनताले भोट हाल्छन् ? विश्वास गर्छन् ? राजनीति भनेको भन्ने एउटा, गर्ने अर्कै हो भन्ने स्थापित गर्ने हो भने गरौं । तर मलाई यस्तो लाग्दैन । राजनीति भनेको खास वस्तुगत अवस्थामा, खास घटनाक्रममा तिनका प्रति गरिएका सैद्धान्तिक विश्लेषण र त्यो विश्लेषणका आधारमा सच्चाईको ठाउँ नहुँदासम्म राजनीतिमा फर्किने ठाउँ हुँदैन ।

हामीले बजारमा धेरै पात्रहरु देख्छौं । कहिले पल्लो छोरमा पुगेका छन् । कहिले वल्लो छोरमा । कुनैबेला एउटै पार्टीमा बस्नै सकिँदैन भनेकाहरु अहिले यही पार्टी नभई बाँच्नै सकिँदैन भन्छन् । तर राजनीतिमा यी पात्र कति निर्णायक हुन् ? अनि युवा पुस्ताले नेतृत्वमा हस्तक्षेप गर्नुपर्‍यो, पुस्तान्तरण गर्नुपर्‍यो भनिरहेका बेला राजनीतिक हिसाबले स्खलित भइरहेका पात्रहरुलाई किनारा लगाएर नेतृत्व लिने बेलामा तपाईंहरुले किन हिम्मत नगर्ने ? केही थान मान्छेहरुलाई हेरेर बस्ने ?

२००६ सालमा कम्युनिस्ट पार्टी स्थापना गर्दा कमरेड पुष्पलाको उमेर कति थियो ? २०४४ सालमा महासचिव बन्दै गर्दा कमरेड मदन भण्डारीको उमेर कति थियो ? यही अहिलेका नेताहरुको पङ्ति २०५१ सालमा सबभन्दा लोकप्रिय सरकारको नेतृत्व गर्दा कति वर्षको थियो ? ४० वर्ष उमेर समूहका हुनुहुन्थ्यो हामी त विद्यार्थीमा नै ४० हुन लागिसक्यौं । अनि हामी चाहिँ केटाकेटी ? त्यसो हो भने त हाम्रो जवानी ९० वर्षमा पनि आउँदैन, जुन बेला हामी बाँचेको पनि हुने छैनौं । अनि हाम्रा कुरा ढुंगामा लेखेर छाड्ने हो कि हामी बाँचेको समाजमा आज गर्ने हो ? आजै गर्ने हो भने बोकौं विद्रोहको झण्डा । पार्टी निर्माण मुद्दाले हुन्छ, अनुहारले हुँदैन ।

पुष्पलालको अनुहारले मात्र पार्टी बनेको भए पार्टी बन्ने थिएन । केशरजंग रायमाझीको अनुहारले पार्टी बन्ने भए त्यही पार्टी बन्थ्यो, यो पार्टी बन्ने थिएन । अनुहारले होइन, विचार, दृष्टिकोण, क्रियाशीलता, समर्पण, राजनीतिक नैतिकताले पार्टी बन्छ । सँगसँगै मुद्दा चाहिन्छ । समाजको समस्यासँग आफूलाई एकाकार गर्‍यो भने पार्टी हुन्छ । यी सबै नगर्ने, हाम्रा साथीहरु बडो आशावादी हुनुहुन्छ, आज टुनाइट वार्ता गरेर एकता टुंग्याउने । अनि उतापट्टीका केही साथीहरु आएर हाम्रा वरिष्ठ नेतालाई भन्नुहुन्छ कि दुईटा अध्यक्ष दिने भइयो, लु मानिदिनुस् । अनि तेस्रो व्यक्तिले उताबाट भन्छ कि दुईवटा अध्यक्ष सम्भव छैन । पहिला तपाईंहरुका भनाइ मिलाउनुस्, तपाईंहरुको प्रतिगामी, स्वेच्छाचारी व्यवहार र कार्यशैलीविरुद्ध हामी लडेका हौं ।

दिनलाई दिन, रातलाई रात भन्न नसक्ने अराजनीतिक मान्छेहरुको झुण्ड बनाएर पार्टी बन्दैन । त्यसकारण हामी त्यति लालायित छैनौं एमाले बनाइहाल्ने भनेर । आज पनि एमाले हौं हामी । तर यो एमाले एकीकरणका लागि गल्ती गर्नेहरुले माफी मागेर आज भएको पदबाट स्टेप डाउन गर्नैपर्छ । दुईवटा अध्यक्ष भनेको कमरेड माधव नेपाललाई बदनाम गर्न ल्याइएको हो । माधव नेपाल पदलोलुप ! हेर्‍यौ भन्न ल्याइएको हो ।

म विनम्रतापूर्वक आग्रह गर्छु, नवौं राष्ट्रिय महाधिवेशनको विधानलाई क्रियाशील बनाउनुस् । विधानमा दुईवटा अध्यक्षको व्यवस्था छैन । पार्टीलाई लोकतान्त्रिक ढंगले चलाउनुस्, महाधिवेशनमा धोवी चुनाव हारेका मान्छेहरुलाई भर्ती गरेर होइन, महाधिवेशनमा निर्वाचित भएका केन्द्रीय कमिटीका साथीहरुलाई राखेर कमिटी चलाउनुस्, तपाईंसँग प्रतिस्पर्धा गर्न तयार छौं ।

हाम्रो पार्टीमा महाधिवेशन प्रतिनिधि बन्न ५ वर्ष पार्टी सदस्य भएको हुनुपर्छ, मान्छेहरुलाई भर्ती गरी बहुमत पुर्‍याएर यो कर्म गर्ने मान्छे संँगै राखेर पार्टी एकता होला ? एकता होला कि नहोला मलाई शंका छ । सिनियर नेताहरुलाई सम्मान गर्न चाहन्छु, तपाईंहरुले प्रयास जारी राख्नुस् । तर हामी विश्वविद्यालयका सबै कोठामा अनेरास्ववियु पुग्नेछ, प्रत्येक वडाका बुथबुथमा हाम्रो पार्टी, युवा संघ र महिला संघ पुग्नेछ । हामीले समानान्तर ढंगले गतिविधि गर्नेछौं ।

जब ओली कमरेड गतिविधिविहीन, हामीले गतिविधि तीव्र बनाउने छौं, हाम्रो शक्ति र हामीले उठाएको झण्डा शक्तिशाली हुनेछ । त्यसपछि उहाँहरुलाई हाम्रो पार्टीमा भित्र्याउँला । सबै साथीहरुलाई स्वागत गरौंला । त्यतिन्जेल राष्ट्रिय भेलाका म्याण्डेट अनुसार कमिटीहरुलाई क्रियाशील बनाऔं । यसले नै हामीलाई सही बाटोमा लैजान्छ, गलत प्रवृत्तिलाई पराजित गर्छौं । हामीसँग छ कस्तुरी, यसको सुगन्ध थाहा पाएर काम गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment