+
+
Shares

ओलीको प्रष्टोक्ति- मैले राष्ट्रपतिलाई गरेको सिफारिसमा सुशीला कार्कीको नाम छैन

‘यसमा सुशीला कार्की सुन्नुभयो ? मैले लेखेको यत्ति हो । यसमा सुशीला कार्की भन्ने वा अरु कोही भन्ने केही छैन,’ सिफारिसको व्यहोरा सुनाइसकेपछि ओलीले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १५:४३

२ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारको प्रधानमन्त्रीमा आफूले सुशीला कार्कीको नाम सिफारिस नगरेको दाबी गरेका छन् ।

आइतबार राजधानीमा सम्पादकहरूसँग साक्षात्कार कार्यक्रममा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

संविधान र लोकतान्त्रिक प्रणाली, प्रक्रिया भित्रैबाट खोज्नका लागि आफूले राष्ट्रपतिसमक्ष सिफारिस गरेको तर त्यसमा सुशीला कार्कीको नाम कतै नभएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले राष्ट्रपतिसमक्ष गरेको सिफारिसको व्यहोरा पढेर सुनाउँदै कहीँकतै सुशीला कार्कीको नाम नभएको जिकिर गरे ।

‘यसमा सुशीला कार्की सुन्नुभयो ? मैले लेखेको यत्ति हो । यसमा सुशीला कार्की भन्ने वा अरु कोही भन्ने केही छैन,’ व्यहोरा सुनाइसकेपछि उनले भनेका छन् ।

संविधान र संसद् चलाउन हुँदैन भन्ने कुरा आफूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देललाई प्रष्ट भनेको पनि दाबी गरेका छन् ।

‘संविधान र संसद् चलाउन हुँदैन भन्ने कुरामा राष्ट्रपतिज्यू, कामचलाउ प्रधानमन्त्री र प्रधानसेनापति उपस्थित भएका ठाउँमा मेरो प्रस्ताव थियो । उहाँहरू दुवैले त्यो स्वीकार्नुभएको थियो,’ उनले भनेका छन् ।

ओलीका अनुसार, यस्तो छ उनले राष्ट्रपतिसमक्ष गरेको सिफारिस :

वर्तमान असहज र असाधारण अवस्था उत्पन्न भएको परिस्थितिमा परिस्थितिलाई नियन्त्रण गरेर, संविधान र लोकतान्त्रिक परिपाटी र शान्तिपूर्ण स्थितिमा फर्काउनुपर्ने आवश्यकता भएकाले र यस्तो समाधान संविधान र लोकतान्त्रिक प्रणाली, प्रक्रिया भित्रैबाट खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधान भित्रबाटै अहिलेको परिस्थितिको उपयुक्त निकासका लागि आवश्यक कदम चाल्न सिफारिस गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?