Comments Add Comment

आफूलाई एप्पलको सिइओ बनाउन टेस्ला मालिक मस्कको अनुरोध ! टिम कुकले झपारे

टेस्ला सिइओ एलन मस्कले सबैभन्दा मूल्यवान अमेरिकी कम्पनी एप्पलको सिइओ बन्ने प्रस्ताव राखेको खुलासा भएको छ ।

उत्पादनमा ढिलाइलगायतका विभिन्न कारणले गर्दा टेस्लाको मोडेल थ्री को कार बजारमा ल्याउन कठिनाइ भइरहेको समयमा पाँच वर्षअघि मस्कले एप्पल सिइओ टिम कुकसँग टेलिफोनमा कुराकानी गरेका थिए । उक्त कुराकानीका क्रममा टिम कुकुले एउटा अनौठो प्रस्ताव राखे । एप्पलले टेस्ला कम्पनी खरीद गर्ने उनको प्रस्ताव थियो । तर मस्क पनि कम चलाख थिएनन् ।

आफू टेस्ला कम्पनी एप्पललाई बेच्न तयार रहेको तर कम्पनी बेचिसकेपछि एप्पलको सिइओ चाहीँ आफु बन्नुपर्ने एलन मस्कको प्रस्ताव थियो । वास्तवमा मस्कको त्यो प्रस्ताव कुकका लागि स्वीकार्य थिएन, किनकी त्यसले कुकको पद गुम्ने थियो ।

वालस्ट्रिट जर्नलका संवाददाता टिम हिग्गिन्सको आगामी अगष्ट ३ मा सार्वजनिक हुन लागेको Power Play M Tesla, Elon Musk and the Bet of the Century नामक नयाँ पुस्तकमा माथिको यस्तो तथ्यको खुलासा गरिएको छ ।

लस एन्जल्स टाइम्समा प्रकाशित उक्त पुस्तकको समीक्षा अनुसार आफुलाई एप्पलको सिइओ बनाउने मस्कको प्रस्तावको जवाफमा कुकले उनलाई गाली नै गरे र फोन काटिहाले । त्यसपछि मस्क र कुकबीच बोलचाल नै बन्द भएको थियो ।

गत डिसेम्बरमा एलन मस्कले एक ट्वीट गर्दै आफुले विगतमा आफ्नो टेस्ला कम्पनी एप्पललाई बेच्ने सोँच बनाएको तर आफुले यस बारेमा वास्तवमा कुकसँग कुराकानी नै नगरेको बताएका थिए । ब्याट्रीबाट चल्ने कार बजारमा ल्याउने एप्पलको योजनाका विषयमा धारणा व्यक्त गर्दै मस्कले टेस्लाको मोडेल थ्री प्रोग्रामको निरासाजनक समयमा टेस्लालाई अहिलेको मूल्यको १० प्रतिशत भाउमा बेच्ने प्रयासका लागि आफूले कुकसँग भेट्ने प्रयास गरेको तर कुकले भेट्न अस्वीकार गरेको बताएका थिए ।

टेस्ला कम्पनी एप्पललाई बिक्री गरेपछि आफूलाई एप्पलको सिइओ बनाउनुपर्ने प्रस्ताव कुकसँगको भेटमा गरेको भन्ने नयाँ किताबमा गरिएको दाबीका विषय पनि मस्कले खारेज गरिदिएका छन् । शुक्रबार एक ट्वीट गर्दै मस्कले आफू र कुकबीच त्यस्तो कुनै वार्तालाप नै नभएको दाबी गरेका छन् ।

मस्कले भनेका छन् : कुक र म अहिलेसम्म यसरी कहिल्यै पनि बोल्ने तथा एक अर्कालाई लेख्ने काम पनि गरेका छैनौँ । कम्पनी खरीद बिक्रिका विषयमा कुनैपनि शर्त कहिल्यैपनि राखिएको थिएन ।

साथै उनले एप्पललाई टेस्ला बिक्रि गर्ने विषयमा कुराकानी गर्नका लागि आफुले कुकसँग भेटघाटको लागि अनुरोध गरेको तर भेट हुन नसकेको दोहोर्‍याएका छन् ।

उता पुस्तकका लोखक हिग्गिन्सले भने आफ्नो किताबमा लेखिएका तथ्यहरुमा आफु विस्वस्त रहेको भन्दै मस्ककै निकटस्थ श्रोतहरुबाट उक्त तथ्यको खुलासा भएको दाबी गरेका छन् ।

कुकसँग भेट गर्नका लागि आफुले राखेको प्रस्तावमा कुक सहमत नभएको भन्ने मस्कको गत डिसेम्बरको दाबीका विषयमा कुकसँग गत अप्रिल महिनामा सिएनएनले सोधेको थियो । त्यसको जवाफमा एप्पल सिइओ कुकले भनेका थिए : तपाईंलाई थाहै छ, म एलनसँग कहिल्यै बोलेकै छैन । तथापि उनले स्थापना गरेको कम्पनीप्रति ठूलो सम्मान छ ।

स्मरण रहोस् सन् २०१६ को डिसेम्बरमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटका क्रममा एलन मस्क र टिम कुक नजिकै बसेको देखिएको थियो । तर ती दुईको बीच ओरेकल सिइओ साफ्रा काट्ज बसेकी थिइन् । त्यतिबेला कुक र मस्कबीच कुराकानी भयो कि भएन भन्ने प्रष्ट भएको छैन । सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment