+
+
Shares

एप्पलको फिल्मको नेपाल छायांकन सकियो, १५ करोड खर्चको अनुमान

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १४:०९
बन्दीपुरको छायांकन सेटमा अभिनय गर्दै कलाकार ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एप्पलको फिल्म ‘टासी’को नेपाल छायांकन अन्तिम चरणमा पुगेको छ, जसमा १५ करोड नेरुसम्म खर्च भएको अनुमान छ।
  • छायांकनमा नेपाली र स्थानीय कलाकारले अभिनय गरेकाले पर्यटन र रोजगारीमा फाइदा भएको छ, र फिल्मले सगरमाथाको कथा बोकेको छ।
  • बन्दीपुरमा चलचित्र छायांकनपछि पर्यटन व्यवसायी र स्थानीयले उत्साह व्यक्त गरेका छन्, जसले क्षेत्रको प्रचारमा मद्दत पुर्‍याउने अपेक्षा छ।

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलको आगामी फिल्म ‘टासी’को नेपाल छायांकन सकिएको छ । छायांकनको अन्तिम ३ दिनमा तनहुँको प्रसिद्ध पर्यटकीय थलो बन्दीपुरमा फिल्म खिचियो ।

त्यसअघि मुस्ताङ, ललितपुर, सिन्धुपाल्चोक र सोलु खुम्जुङमा छायांकन गरियो । एक महिना चलेको नेपाल छायांकनमा मात्र टोलीले १५ करोड नेरुसम्म खर्च गरेको अनुमान निर्माण स्रोतको छ ।

यो फिल्मको नेपाल छायांकन प्रवेश साहनीको बलिउड कम्पनी आइटपले हेरेको हो । छायांकनकै लागि ३०० भन्दा धेरै प्राविधिक भारतबाट आएका थिए । नेपाली र स्थानीय कलाकारले समेत अभिनय गरेकाले स्थानीय प्रर्यटन प्रवर्धन र रोजगारीमा फाइदा मिलेको बताइएको छ ।

विलियम डफोई र टम हिडल्स्टन स्टारर यो फिल्मले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको कथा भन्छ । यो फिल्मको निर्माण चाहिँ अस्कर विजेता फिल्म ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी–स फिल्म्सले गरिरहेको छ ।

शेर्पा र न्युजिल्याण्डका एड्मण्ड हिलारीले सन् १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । आरोहणको नेतृत्व तेन्जिङले गरेका थिए । यो फिल्ममा हिडल्स्टनले हिलारी र डफोईले अंग्रेज आरोहण दलका नेता कर्णेल जोन हन्टको भूमिका निर्वाह गर्नेछन् ।

‘शेर्पा’ र ‘माउण्टेन’जस्ता चर्चित डकुमेन्ट्री निर्देशन गरेकी जेनिफर पिडमले यो फिल्मको निर्देशन गरेकी छन् ।

बन्दीपुरको छायांकन सेटमा अभिनय गर्दै कलाकार ।

पर्यटन व्यवसायी उत्साहित

रासस (दमौली) । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा हलिउड फिल्म टासीको छायाङ्कन सुरु भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

छायाङ्कनका लागि बन्दीपुर बजारलाई पुरानो शैलीमा सिङ्गारिएको छ । बन्दीपुरलाई पुरानो दार्जिलिङ बनाएर छायाङ्कन गर्न  लागिएको हो । करिब एक साताको तयारीपश्चात् चलचित्रको छायाङ्कन सुरु गरिएको हो ।

बन्दीपुर आसपासका विभिन्न उमेर समूहका करिब ३०० स्थानीयलाई दैनिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म पारिश्रमिक दिएर कलाकारको रुपमा प्रयोग गरिएको छ ।

बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कन भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । होटल तथा पर्यटन व्यवसायी किसान प्रधानले विदेशी चलचित्रको छायाङ्कनले यस क्षेत्रको प्रचारप्रसार हुने बताए । चलचित्र टोली एक सातादेखि बन्दीपुरमा बसिरहेको र यसले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको उनको भनाइ छ ।

चलचित्र छायाङ्कनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैशबहादुर गुरुङले जानकारी दिए । उनले भने, ‘विदेशी चलचित्रको छायाङ्कनका लागि बन्दीपुर रोजाइमा पर्नु हाम्रा लागि खुसीको कुरा हो, यसले यहाँको पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?