
News Summary
Generated by OK AI. Editorially reviewed.- एप्पलले निर्माण गरिरहेको फिल्म ‘टासी’को नेपाल छायांकन केही दिनअघि सम्पन्न भयो।
- फिल्ममा नेपाली अभिनेत्री थिन्ले ल्हामोले दावाको भूमिका निर्वाह गरेकी छन्।
- छायांकनमा १५ करोड नेरुसम्म खर्च भएको अनुमान छ र स्थानीय कलाकारले पनि भूमिका निभाएका छन्।
काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले निर्माण गरिरहेको फिल्म ‘टासी’को नेपाल छायांकन केही दिनअघि सम्पन्न भैसकेको छ । यो फिल्मको नेपाल सुटिङबारे अनलाइनखबरले सुरुदेखि नै कभरेज गर्दै आइरहेको छ ।
यस्तोमा, यसको कास्टिङलाई लिएर महत्वपूर्ण खबर छ । नेपाली अभिनेत्री थिन्ले ल्हामोले यो फिल्ममा पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाकी पत्नी दावाको भूमिका निर्वाह गरेकी छन् ।
‘नाका’ डेब्यु अभिनेत्री ल्हामोको २०८१ सालको फिल्म ‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलमा प्रदर्शन भएको थियो । त्यसयता उनको अन्तर्राष्ट्रिय प्रसिद्धी चुलिएको छ ।
तेन्जिङकै जीवनमा आधारित बताइएको यो फिल्ममा चिनियाँ अभिनेता गेन्देन फुन्त्सोक नोर्गेले तेन्जिङको भूमिका निर्वाह गरेका छन् । संचार तथा सूचना प्रविधि मन्त्रालयबाट ‘टासी’ नाममा छायांकन इजाजत लिएको यो फिल्म ललितपुर, मुस्ताङ, तनहुँ र सोलुखुम्बुमा छायांकन भएको छ ।
एक महिना चलेको नेपाल छायांकनमा मात्र टोलीले १५ करोड नेरुसम्म खर्च गरेको अनुमान निर्माण स्रोतको छ ।
यो फिल्मको नेपाल छायांकन प्रवेश साहनीको बलिउड कम्पनी आइटपले हेरेको हो । छायांकनकै लागि ३०० भन्दा धेरै प्राविधिक भारतबाट आएका थिए । नेपाली र स्थानीय कलाकारले समेत अभिनय गरेकाले स्थानीय प्रर्यटन प्रवर्धन र रोजगारीमा फाइदा मिलेको बताइएको छ ।
विलियम डफोई र टम हिडल्स्टन स्टारर यो फिल्मले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको कथा भन्छ । यो फिल्मको निर्माण चाहिँ अस्कर विजेता फिल्म ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी-स फिल्म्सले गरिरहेको छ ।
‘शेर्पा’ र ‘माउण्टेन’जस्ता चर्चित डकुमेन्ट्री निर्देशन गरेकी जेनिफर पिडमले यो फिल्मको निर्देशन गरेकी छन् । फिल्मको नेपाल छायांकन होल्डिलेस आउटडोर, फिल्म डेस्टिनेसन नेपाल र फिल्म क्रूले संयोजन गरेका थिए ।
भारतको तर्फबाट लाइन प्रोड्युसर राकेश र प्रवेश साहनी छन् भने नेपालको तर्फबाट राजेन्द्र घिमिरे र भुवन भारती छन् । निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली नेपालको तर्फ कन्सल्टेन्टको रुपमा थिए ।
प्रतिक्रिया 4