Comments Add Comment

इथियोपिया सरकारद्वारा टिग्रेमा युद्धविराम घोषणा

फाइल तस्वीर

१५ असार, काठमाडौं । इथियोपिया सरकारले टिग्रे क्षेत्रमा युद्धविरामको घोषणा गरेको छ । विद्रोही लडाकूले क्षेत्रीय राजधानी मेकेलेलाई नियन्त्रणमा लिएको दाबी गरेसँगै सरकारले युद्धविरामको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार टिग्रेमा हजारौंको संख्यामा मानिसहरु सडकमा निस्किएर उत्सव मनाइरहेका छन् ।

इथियोपिया सरकारले भने मेकेलेबाट आफ्नो नियन्त्रण गुमाएको उल्लेख गरेको छैन । टिग्रेमा सरकारी सेना र स्थानीय विद्रोही लडाकूबीच आठ महिनादेखि युद्ध चल्दै आएको छ । युद्धका कारण टिग्रेमा गम्भीर मानवीय संकट उत्पन्न भएको थियो । राष्ट्रसंघका अनुसार अहिले इथियोपियामा ५० लाखभन्दा बढी मानिसलाई तत्काल खाद्य सहयोग आवश्यक छ । साथै तीन लाख ५० हजारभन्दा बढी मानिस भोकमरीको सामना गरिरहेका छन् ।

गत नोभेम्बरमा इथियोपियाको सरकारले टिग्रेको सरकार चलाइरहेको टीपीएलएफ पार्टीलाई सत्ताबाट हटाउन आक्रमण शुरु गरेको थियो । सरकारले शुरु गरेको युद्धमा नरसंहार भएको र गम्भीर किसिमको मानव अधिकार उल्लंघन भएको आरोप लागेको छ । यो युद्धको क्रममा हजारौं मानिसहरु मारिएका छन् ।

सोमबार इथियोपियाको सरकारले युद्धविराम घोषणा गर्नुभन्दा केही समयअघि मेकेले शहरभन्दा बाहिर टिग्रेका विद्रोही र सरकारी सेनाबीच युद्ध भएको समाचार सार्वजनिक भएको थियो । टीपीएलएफ पार्टीका प्रवक्ताले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा मेकेले शहर आफूहरुको नियन्त्रणमा आएको दाबी गरेका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment