१६ असार, काठमाडौं । गत असार २ गतेदेखि बाढी र पहिरोले अवरुद्ध गरेको चीनसँगको तातोपानी नाका जोड्ने सडक अझै सञ्चालनमा आइसकेको छैन । सडक खुल्न नसकेपछि तातोपानी नाकामा आइपुगेका र ल्याउँदै गर्दा कन्टेनरभित्र रहेका विभिन्न व्यवसायिक तथा स्वास्थ्य सामग्री बाटोमै अलपत्र परेका छन् ।
व्यवसायीहरुले सरकारले चासो नदिएकाले समयमै सडक सञ्चालनमा आउन नसकेको आरोप लगाएका छन् भने सडक विभागले सडक खुलाउन सकस परिरहेको बताएको छ ।
सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपाल सडकलाई तलबाट भोटेकोसीले भस्काउने र माथिबाट पहिरो खस्ने समस्याले सताएको बताउँछन् ।
बाटो बन्द भएपछि स्वास्थ्य सामग्री, अक्सिजन प्लान्ट, विद्युत गृहका उपकरण, दैवीप्रकोप राहतका सामग्रीहरु ल्याउन समस्या भएको छ ।
‘माथि हामीले छुन नै नमिल्ने अवस्थामा घरहरु छन्, सुरुमा काम गर्न नै नपाएपछि प्रहरी लगेर बाहिरबाट समाग्री ल्याएर भरेर सडक सञ्चालनमा ल्याउने सहमति भएको थियो,’ उनले भने,’यदि पानी परेर दुःख दिएन भने पाँच दिनभित्र सडक सञ्चालनमा ल्याउन सकिन्छ ।’
उनका अनुसार सडक खुलाउन विभागका मेसिनहरु सोही ठाउँमा छन् । अघिल्लो भागको समस्या समाधान परेपछि मात्रै लिपिङ पुलको भागको मर्मत गर्न सकिने अवस्था छ ।
‘पानी परेर पनि समस्या भइरहेको छ, त्यहाँ सडककै छेउको घर-बस्तीलाई पनि जोगाएर काम गर्नुपर्ने भएकाले सहज छैन,’ उनले भने,’छिटो मर्मत सकेर सडक सञ्चालनमा ल्याउन प्रयत्नरत छौं ।’

                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4