१६ असार, काठमाडौं । बार्सिलोनाका खेलाडी लिओनल मेसी बुधबार रातिदेखि सम्झौताविहीन हुँदैछन् । जुन ३० को मध्यरातिदेखि मेसी बार्सिलोनाका खेलाडी हुने छैनन् ।
अर्जेन्टिनी कप्तान र स्पेनिस क्लब बार्सिलोनाबीच सम्झौता नवीकरणबारे अहिलेसम्म कुनै सहमति भएको छैन ।
बार्सिलोनाले यसअघि नै मेसीसंग सम्झौता नवीकरण गर्ने प्रयास गरेपनि सफल भएको छैन । जोहन लापोर्टा अध्यक्ष बनेर फर्केपछि बार्सिलोनाले मेसीसंग सम्झौता नवीकरण गर्ने जनाएको थियो ।
मेसीको जन्मदिनको दिन जुन २४ मा बार्सिलोनाले सम्झौता नवीकरण गर्ने घोषणा गर्न चाहेको थियो तर सफल भएन ।
गत सिजन नै मेसीले क्याटलान क्लब छाड्न खोजेका थिए । तर क्लबले ७०० मिलियन युरो रिलिज मूल्य राखेपछि मेसीले बार्सिलोना छाडेनन् । मेसी हाल अर्जेन्टिनाबाट ब्राजिलमा कोपा अमेरिका खेलिरहेका छन् । अर्जेन्टिनाले क्वार्टरफाइनलमा इक्वेडरसँग खेल्दैछ ।
बार्सिलोनाका अध्यक्ष लापोर्टाले जुन ३० को मध्यरात अघि नै मेसीसँग सम्झौता गर्ने प्रयास गर्ने तथा केही घण्टामा सबै विषयमा समाधान हुन नसक्ने स्पेनिस अनलाइन मार्काले उल्लेख गरेको छ ।
प्रतिक्रिया 4