Comments Add Comment

बेलायत र अमेरिकाले युद्धका लागि उक्साइरहेका छन् : पुटिन

१७ असार, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र बेलायतले युद्धका लागि उक्साइरहेको आरोप लगाएका छन् ।

बेलायती युद्धपोत ‘एचएमएस डिफेन्डर’ रुसको नियन्त्रणमा रहेको क्रिमिया सागर तटमा देखिएसँगै रुसी राष्ट्रपतिले यस्तो बताएका हुन् । पुटिनले युक्रेनमा सैन्य क्याम्प लगाउने प्रयास भइरहेको आरोप लगाएका छन् । क्रिमिया सागर तटमा बेलायती युद्धपोत देखिनु त्यसैको एक हिस्सा भएको पुटिनको भनाइ छ ।

टेलिभिजनमा मानिसहरुको प्रश्नको उत्तर दिने क्रममा पुटिनले तेस्रो विश्वयुद्धको खतरा भने नरहेको बताए । उनले भने, ‘उनीहरुलाई थाहा छ कि उनीहरु यो युद्ध जित्न सक्दैनन् । हामी आफ्नो जमिनको रक्षाको लागि लड्नेछौं । हामी हजारौं माइलको दूरी पार गरी उनीहरुको सीमामा गएका छैनौं ।’

पुटिनले उक्त अपरेसनमा अमेरिकी जसुसी विमान पनि सामेल रहेको बताएका छन् । जुन २३ मा भएको यो घटनाको आरोप बेलायती जलसेनाले भने अस्वीकार गरेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रवक्ताले बुधबार ‘एचएमएस डिफेन्डर’ युक्रेनको जल क्षेत्रबाट अन्तर्राष्ट्रिय कानुन अनुसार नै अघि बढेको दाबी गरेका छन् । गत साता ‘एचएमएस डिफेन्डर’ को घटनापछि रुसको विदेश मन्त्रालयले बेलायती राजदूतलाई बोलाएर आधिकारिकरुपमा आफ्नो विरोध जनाएको थियो ।

रुसले बेलायती युद्धपोत क्रिमिया सागर तटमा आउनु आफ्नो जल क्षेत्रको उल्लंघन भएको बताएको छ । सन् २०१४ मा रुसले क्रिमियालाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment