Comments Add Comment

पर्सामा निषेधाज्ञा थप खुकुलो, सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइने

फाइल तस्वीर

२० असार, वीरगञ्ज । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि पर्सामा जारी निषेधाज्ञालाई थप खुुकुलो बनाइएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार बसेको बैठकले थप खुकुलो गर्दै निषेधाज्ञालाई कायम राखेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर समुदाय स्तरमै फैलिएपछि वैशाख १६ गतेदेखि पर्सामा निषेधाज्ञा जारी छ ।

कोरोना संक्रमणको श्रृङ्खला तोड्न निषेधाज्ञा उपयोगी देखिएको भन्दै परिमार्जितसहित निषेधाज्ञा जारी राख्ने निर्णय समितिले प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको छ ।

केही परिमार्जनसहित जारी निषेधाज्ञालाई अर्को निर्णय नआउँदासम्मका लागि कायम राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए । ‘सार्वजनिक बस जिल्लाभित्र सञ्चालन गर्न पाइने र होटल तथा रेष्टुरेन्टलाई आफ्नो कुल क्षमताको ५० प्रतिशत क्षमतामा सञ्चालन गर्न दिने गरी जारी निषेधाज्ञालाई परिमार्जन गरेका छौं,’ उनले भने, ‘दुवै सेवा सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा परिपालना हुनु पर्छ ।’

समितिले घर बाहिर निस्कदा एवं सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र व्यक्ति–व्यक्तिका बीच कम्तीमा २ (दुई) मिटरको दुरी कायम गर्ने । भीडभाडजन्य कार्य नगर्न सर्वसाधरणलाई आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस पर्साका सरकारी कार्यालयले पालिकाअनुसार सेवा दिने

बढीमा २५ जना सम्मको उपस्थितिमा विवाह, ब्रतबन्ध/नामाकरण संस्कार जस्ता कार्यसञ्चालन गर्न सकिने प्रशासनको निर्णयमा उल्लेख छ । सामाजिक संस्कारका कार्य तथा उद्योग, कलकारखाना सञ्चालन, सार्वजनिक विकास निर्माण, पेशा व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्नुपर्ने समितिको निर्णयमा उल्लेख छ ।

वीरगञ्ज (इनर्वा) सीमा नाकाबाट विदेशी नागरिकको हकमा प्रवेश निषेध गरिएको र नेपाल प्रवेश गर्ने नेपाली नागरिकले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुर्‍याई स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नु पर्ने व्यवस्थालाई कायम राखिएको छ ।

शैक्षिक संस्था अझै नखुल्ने

वीरगञ्ज महानगरपालिकाले असार १५ गतेदेखि नै विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । अभिभावकको लिखित सहमतीमा कक्षा ८ देखि १२ लाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराई भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने महानगरको तयारी थियो । तर स्थानीय प्रशासनले निषेधाज्ञामा शैक्षिक संस्था सञ्चालनमा रोक लगाएका कारण कार्यान्वयनमा आउन सकेको छैन ।

कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा आदेशमा पनि सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङपुल, सपिङमल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र) लगायतका शैक्षिक संस्थाहरु, संग्रहालय, आदी सञ्चालन गर्नमा रोक लगाएको छ ।

नित्य दैनिक पूजाआजा बाहेक मानिस जम्मा भेला भई धार्मिक स्थलहरुमा धार्मिक एवं साँस्कृतिक क्रियाकलापहरु गर्न, लामो दूरीका एवं जिल्ला बाहिर गन्तब्य हुने गरी सञ्चालन हुने सार्वजनिक यात्रुबाहक सवारी साधनहरु सञ्चालन गर्न र वीरगञ्ज (ईनर्वा) नाका बाहेकका भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा गर्नमा रोक लगाईएको समितिको निर्णयमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज बाहेक अन्य नाकाबाट आवागमनमा रोक लगाएपनि खुल्ला सीमाका कारण अन्य नाका र नाका बाहेकका क्षेत्रबाट समेत नेपाली र भारतीय नागरिकहरु ओहोर दोहोर गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment