+
+

सामाजिक सुरक्षा कोषविरुद्ध बैंकका कर्मचारीले दिए सर्वोच्च अदालतमा रिट

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २० गते १९:०८

२० असार, काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध नगराउन भन्दै बैंक तथा वित्तीय संस्थाका ६५ कर्मचारीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनीहरुले आफूहरुको पेशा व्यवसायको हकलाई प्रतिकूल असर पार्ने गरी जबर्जस्ती कोषमा आवद्ध नगराउन र आवद्ध नभएमा जरिवाना नगराउने गरी परमादेश जारी गर्न माग गरेका छन् ।

सामाजिक सुरक्षा कोषले असार मसान्तभित्र सबै बैंकका कर्मचारीलाई आवद्ध हुन निर्देशन दिएपछि बैंकका कर्मचारी सर्वोच्च पुगेका हुन् । उनीहरुले आफूहरुको खाइपाई आएको सुविधा घट्ने, भविष्यमा पाउने प्रतिफल कम हुने जस्ता कारण देखाएर सामाजिक सुरक्षा कोषमा आवद्ध हुन अस्वीकार गरिरहेका छन् ।

बैंक कर्मचारीको रिटमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय, सामाजिक सुरक्षा कोष, विभिन्न बैंकलाई विपक्षी बनाइएको छ।

पछिल्लो समय कोषले सार्वजनिक सूचना निकालेर बैंकहरुलाई असारभित्रै कोषमा आवद्ध हुन भनेपछि कर्मचारीहरु आन्दोलित छन् ।

आन्दोलन र कानूनी उपचार सँगसँगै खोज्ने भन्दै विभिन्न बैंकका कर्मचारी संघले सर्वोच्चमा आइतबार रिट दायर गरेका हुन् । जबर्जस्ती कोषमा आवद्ध गराउन खोजेको भन्दै विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीले कालो ब्यानर टाँगेर विरोध समेत गरिरहेका छन् ।

वित्तीय संस्था कर्मचारी संघका महासचिव हरिराज खरेलका अनुसार आन्दोलनको पहिलो चरणको कार्यक्रम अन्तर्गत आफ्नो कार्यालय अगाडि कोषमा किन आवद्ध हुन चाहँदैनौं भन्ने कुरा लेखिएको कालो ब्यानर टाँगिएको छ ।

कोषले सूचना नै निकालेर असारभित्र आवद्ध हुन आग्रह गरेपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी आत्तिएका छन् । संघका महासचिव खरेलले सर्वोच्चबाट कर्मचारीहरुले न्याय पाउनेमा आफूहरु विश्वस्त रहेको बताए । ‘निजी क्षेत्रका बैंकहरुमा आवद्ध कर्मचारी साथीहरुले अदालतमा रिट हाल्नु भएको हो, सर्वोच्चले न्या गर्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।

वित्तीय क्षेत्रका कर्मचारीले आफूहरुलाई जबर्जस्ती सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन खोजे कडा आन्दोलनमा उत्रिन बाध्य हुनुपर्ने चेतावनी समेत दिएका छन् । ‘आफूहरुले कोषमा जान चाहन्छौं तर जानका लागि व्यवस्था सहज बनाइदेउ मात्रै भनेको हो,’ महासचिव खरेल भन्छन्, ‘सामाजिक सुरक्षा भनेको छ, अनि सुरक्षा नै नहुने गरी कसरी जान सकिएला त ?’

धेरै बैंकका कर्मचारीहरु हाल कर्मचारी सञ्चय कोषमा आवद्ध छन् । उनीहरुले सामाजिक सुरक्षा कोषले कर्मचारी सञ्चय कोषले दिएको जति सुविधा नदिने उनले बताए । अहिले सञ्चय कोषबाटै कर्मचारीहरु सन्तुष्ट भएको भन्दै कम्तीमा त्यो बराबर सुविधा दिनुपर्ने बैंकका कर्मचारीको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?