Comments Add Comment

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उदघाटन आज

२१ असार, काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट सोमबार परीक्षणको रुपमा बिजुली उत्पादन हुँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न ४ बजे भर्चुअल माध्यमबाट माथिल्लो तामाकोशी आयोजना उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुन लागेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । असार मसान्तभित्रै आयोजनाको दोस्रो युनिटबाट थप ७६ मेगावाट बिजुली उत्पादन गर्ने तयारी गरिएको छ ।

माथिल्लो तामाकोशीमा ७६–७६ मेगावाटका ६ वटा युनिट छन् । भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य रहेको प्रवक्ता न्यौपानेले बताए ।

माथिल्लो तामाकोशी स्वदेशी लगानीको सबैभन्दा ठूलो आयोजना हो । शुरुआती लागत ३५ अर्ब रहे पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाब, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै ८० अर्ब हाराहारी पुगेको छ । तत्कालीन प्रधानमन्त्री माथिल्लो यो आयोजनाको शिलान्यास गरेका थिए ।

यो पनि पढ्नुहोस माथिल्लो तामाकोशीले देखाएको बाटो

माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सबस्टेशन हुँदै ढल्केबर पुग्नेछ । ढल्केबर सबस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा माथिल्लो तामाकोशीबाट उत्पादित बिजुली जोडिने छ ।

आयोजनाले आइतबार मात्रै गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको थियो । आयोजनाले शनिबार ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।

आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि यही असार १३ गतेदेखि १९ गतेसम्म आवश्यक तयारी गरिएको थियो । त्यसमा विशेषगरी प्रसारण लाइन व्यवस्थापनको काम गरिएको थियो ।

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट आएको २२० केभी क्षमताको प्रसारण लाइनलाई न्यू खिम्तीमा रहेको सवस्टेशनमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणाली सञ्चालन विभागले यही असार १२ गते एक सूचनामार्फत राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने कार्यक्रम भएकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द हुने जानकारी दिएको थियो ।

सो अवस्थामा प्रणालीमा विद्युत् अपुग हुने भएकाले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट विद्युत् आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकको छोटा समयका लागि विद्युत् कटौती भएको थियो । त्यस समयमा प्राधिकरणले कुलेखानी जलाशयको पानी प्रयोग गरी यथाशक्य विद्युत् कटौतीको समय कम गर्न प्रयास गरेको थियो । यसअघि आयोजनाको सुरुङमा पानी हालेर हाल पनि परीक्षणलगायतका काम नियमित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment