Comments Add Comment

प्रतिनिधि सभा विघटन : आज जवाफी बहसको निरन्तरता र एमिकस क्युरीको राय

२१ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा रिट निवेदक तर्फका वकिलहरुको जवाफी बहस सोमबार पनि जारी रहने छ । सोमबार नै एमिकस क्युरीले राय प्रस्तुत गर्ने तयारी पनि छ ।

संवैधानिक इजलासमा जवाफी बहसका लागि २ घण्टा २ मिनेट बाँकी समय छ । जवाफी बहसका लागि ३ घण्टा समय तय गरिएकोमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले आइतबार नै एक घण्टा जवाफी बहस गरेका थिए । सोमबार बरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्नेछन् ।

जवाफी बहस सकिएपछि एमिकस क्युरीले स्वतन्त्र राय दिनेछन् । एमिकस क्युरीका लागि संवैधानिक इजलासले दुई घण्टा समय छुट्याएको छ । उनीहरुले आधा-आधा घण्टाको दरले २ घण्टा समय लिएर राय प्रस्तुत गर्नेछन् ।

सर्वोच्च अदालत बार र नेपाल बारबाट दुई-दुई जना एमिकस क्युरी छनोट गरिएको छ । संवैधानिक इजलासलाई मुद्दा सुनुवाइमा सहयोग गर्न सर्वोच्च अदालत बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाश बहादुर केसी तथा नेपाल बार एसोसिएसनको तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकस क्युरीमा राखिएको छ । वरिष्ठ अधिवक्ता वैद्य नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए । त्यस्तै, वरिष्ठ अधिवक्ता पाठक नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष हुन् ।

एमिकस क्युरीले राय प्रस्तुत गरेपछि संवैधानिक इजलासले प्रतिनिधि विघटन ‘सदर’ वा ‘बदर’ भन्नेबारे फैसला गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरी कात्तिक र मंसिरमा मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । त्यसविरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटहरुमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

यो पनि पढ्नुहोस फैसलासँग अर्थपूर्ण सम्बन्ध राख्ने प्रश्नमा सर्वोच्चले खोज्यो जवाफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment