Comments Add Comment

नेपालको घाउमा तास्मानियाका नेपालीहरुको ‘मल्हम’

तास्मानिया । नेपालमा कोभिड-१९ र बाढी पहिरो प्रभावितहरुका लागि अष्ट्रेलियाको तास्मानिया राज्यमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन्।

तास्मानिया राज्यका शहरहरु होबार्ट, लन्चेस्टनमा बस्ने नेपालीहरुले स्वतस्फूर्त ढंगले आयोजना गरेका च्यारिटी कार्यक्रमहरुबाट उठेको करीब ७ लाखभन्दा बढी रुपैयाँ नेपालमा कार्यरत विभिन्न गैरनाफामुखी संस्थाहरुमार्फत सहयोग गरेका हुन् ।

तास्मानियाको दोश्रो ठूलो शहर लन्चेस्टनमा रहेका नेपालीहरुले आयोजना गरेको च्यारिटी कार्यक्रमबाट उठेको तीन हजार ५०० डलर (करीब तीन लाख २५ हजार ५०० रुपैयाँ) नेपालकै चार फरक-फरक गैरनाफामुखी संस्थामार्फत आर्थिक सहयोग गरेका छन् ।

तास इभेन्ट लन्चेस्टनको व्यानरमा मोब्रेको हेरिटेज पार्कमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली खानाहरुको स्टल राखिएको थियो । खाना बेचेर जम्मा गरिएको उक्त रकम नेपालका सामाजिक संस्थाहरु डिभाइन पथ इन्टरनेशनल अर्गनाइजेशन, सोचाईः युथ फर न्युट्रिसन, हामी नेपाल युथ अर्गनाइजेशन र नेपाल हेल्थकेयर इक्युप्मन्ट डेभेलपमन्ट फाउन्डेशनलाई पठाइएको थियो ।

मम, चटपटलगायतका खाना बेचेर जम्मा गरिएको उक्त रकम नेपालका विभिन्न संस्थाहरुमार्फत कोभिड-१९ बाट प्रभावित भएकाहरुलाई स्वास्थ्य सामग्रीमा सबैको पहुँच होस भन्ने उद्देश्यले सहयोग गरिएको उक्त इभेन्टका संयोजकहरुमध्येका शुलभ मास्केले अनलाइनखबरलाई बताए ।

”सहयोग रकम थोरै होला, तर थोपा थोपा मिलेर सागर बन्छ भनेजस्तै सबैले थोरै भए पनि सहयोग गर्दा धेरै हुने र स्वास्थ्य सामग्रीको अभावका कारण कसैलाई समस्या नहोस भन्ने उद्देश्यले यो कार्यक्रमको पहलकमदी लिएको हो” उनले भने।

डिभाइन पथकी अध्यक्ष योगिता सरितानन्दनीले अनलाइनखबर अष्ट्रेलियासँगको कुराकानीमा आफूहरुले आर्थिक सहयोग पाउने कुरा स्वीकार गर्दै उक्त रकमले महामारीको अवधिभर खानालगायत आधारभूत कुराहरुबाट बञ्चित भएकाहरुलाई खानाको व्यवस्थालगायत अत्यावश्यक सामग्री वितरण गर्न प्रयोग गरिने बताइन् ।

”उहाँहरुले रकम पठाउनु भएको छ, त्यो रकम यहाँ काठमाडौं को पशुपती क्षेत्रमा दुई छाक टार्न मुस्किल हुनेहरुलाई खाना तथा अन्य आवश्यक सामग्री वितरण गरिनेछ ” उन्ले भनिन ।

त्यसैगरी तास्मानियाको सबैभन्दा ठूलो शहर होबार्टमा नेप्लिज तास्मानिया स्पोर्टस एशोसिएसनले होबार्टको ग्लेनोर्कीमा अवस्थित सुपरमार्केट बनिंग्समा एक दिनमा ससेज बेचेर जुटाएको ९३७ अष्ट्रेलियन डलर (करीब ८७ हजार नेपाली रुँपैया) नेपालमा महावीर पुनले नेतृत्व गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ ।

महावीर पुनले नेतृत्व गर्दै आएको आविष्कार केन्द्रले पछिल्लो दिनहरुमा नेपालमा महामारीविरुद्ध खटिएका स्वास्थ्यकर्मीहरुका लागि भन्दै विभिन्न उपकरणहरु निर्माण गर्दै आएका छ ।

स्पोर्टस एशोसिएसनका अध्यक्ष प्रशेस पौडेलका अनुसार कोरोना महामारीको समयमा नेपालमा अक्सिजनलगायतका स्वास्थ सामग्रीहरुको अभावले कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए ।

त्यस्तै लन्चेस्टनकै नेपाली सकर क्लबले पनि नेपालमा भर्खरै गएको बाढी पहिरोबाट प्रभावितहरुलाई सहयोग गर्ने उद्देश्यले आफ्ना सदस्यहरुबाट तीन हजार ३५१ डलर (करीब ३ लाख रुपैया भन्दा बढी) उठाएको छ ।

क्लबका सचिव सन्तोष आचार्यका अनुसार उक्त रकम पनि छिट्टै हस्तान्तरण गरिनेछ । ”अहिलेको अवस्थामा नेपालमा सहयोग पाउने कुरामा वास्तविक बाढीपीडितहरु बञ्चित भएको र पहुँचवालाले रजाइँ गर्ने गरेकोमा चिन्ता व्यक्त गर्दै आफ्नो क्लबले गरेको सहयोग उचित पीडितहरुले पाउने विश्वास गरेका छौं” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment