 
																			२२ असार, काठमाडौं। कोभिड-१९ महामारी सुरु भएपछि धेरै विकास निर्माणका आयोजनाहरू समस्यामा फसेका छन् । तर, कोभिडकै बीच पनि केही आयोजनाले भने समयमै काम सम्पन्न गरेका छन्। महालक्ष्मी नगरपालिका वडा नम्बर- ५ को खानेपानी आयोजना जुन ग्राउण्ड ब्रेकिङ गरेको केही समयमै कोभिड महामारीको चपेटामा पर्यो।
१३ करोड रुपैयाँ लागतमा राधाकृष्ण खानेपानी तथा सरसफाई समितिले निर्माण गरेको खानेपानी ट्यांकी कोभिड महामारीकै बीचमा सकिएको छ। यो ट्यांकी निर्माणको ठेक्का पाएको भीमेश्वर ड्रिलिङ प्रालिले महामारीका बीच पनि मजदुर र निर्माण सामाग्रीको व्यवस्थापन गरेर केही दिन अघि मात्रै समितिलाई ट्यांकी हस्तान्तरण गरेको छ।
कम्पनीका संचालक सहदेव खड्काले कोभिडका कारण मजदुर र निर्माण सामाग्री व्यवस्थापन गर्न समस्या भएपनि स्थानीयको सहयोगले समयमै सम्पन्न गर्न सकेको बताए।
‘खानेपानी समितिले निरन्तर सहयोग गरेकै कारण हामीले समयमा निर्माण गर्न सकेका हौं,’ उनले भने, ‘महामारीका बीचमा पनि निर्माण सक्दा हामीलाई हौसला समेत मिलेको छ।’
समितिका सचिव महेश्वर घिमिरेले नयाँ ट्यांकी निर्माण भएपछि दुई हजार घरपरिवार लाभान्वित हुने बताए।
‘पहिला हामीसँग साढे दुई लाख लिटर अट्ने मात्रै ट्यांकी थियो। त्यो अपुग भएपछि दोस्रो फेजमा साढे चार लाख लिटरको ट्यांकी निर्माण सुरु भएको थियो,’ उनले भने, ‘हामीले एक दिन विराएर खानेपानी वितरण गर्न सक्छौं।’
समितिका अध्यक्ष सुमनकुमार केसीले समन्वयकारी भूमिका निर्वाह गर्दा जस्तोसुकै कठिन परिस्थितीमा समेत काम गर्न सकिने प्रमाणित भएको बताए ।
‘आयोजना सुरु गरेको केही समयमै कोभिड महामारी सुरु भयो। त्यो बेलामा मजदुरलाई काम गराउन सकिने अवस्था थिएन। कामलाई निरन्तरता दिन स्थानीयलाई समेत कन्भिन्स गराउनुपर्ने थियो,’ उनले भने, ‘पहिलो लहरको कठिन अवस्था र दोस्रो लहरमा मृत्युदरनै बढी हुँदा मजदुरलाई काम लगाउन निर्माण कम्पनीलाई समेत गाह्रो थियो। तर हामीले निरन्तर निर्माण कम्पनीलाई ढाड्स दिएर काम सक्न प्रेरित गर्यौं।’
ट्यांकी निर्माणका लागि प्रदेश सरकारले अनुदान रकम दिएको थियो। प्रदेशसभा सदस्य माधब पौडेलको संक्रियतामा यो आयोजनामा बजेट विनियोजन भएको थियो।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4