Comments Add Comment

नेशनल मेडिकल कलेजले घटायो छात्रवृत्तिमा पढ्ने विद्यार्थीले तिर्नुपर्ने शुल्क

२३ असार, काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालयले निर्देशन दिए सरकारी छात्रवृत्तिमा पढेकाहरुसँग शुल्क नलिने जवाफ दिएको छ ।

सरकारी छात्रवृत्तिमा चिकित्सा शास्त्र अध्ययन गरेका रामजी रामसहितका विद्यार्थीसँग शुल्क माग गरेको विषयमा त्रिविको चिकित्सा शास्त्र अध्ययन संस्थानले स्पष्टीकरण सोधेपछि नेशनलले यो विवाद विद्यार्थीसँग नभई त्रिविसँग भएको बताएको छ ।

चिकित्सा शिक्षा आयोग र चिकित्सा शास्त्र अध्ययन संस्था (आईओएम)ले रामजी रामसहितका विद्यार्थीसँग अतिरिक्त शुल्क नलिई परीक्षा फारम भर्न दिन निर्देशन दिएको थियो । आयोग र आईओएमको निर्देशनपछि कलेजले छात्रवृत्तिमा पढेका विद्यार्थीलाई यसअघि लगाएको शुल्कमा केही कटौती भने गरेको छ ।

रामजी रामलाई वार्षिक शुल्क पाँच लाख ९८ हजार, भर्ना शुल्क २५ हजार, अन्य शुल्क २४ हजार तीन सय कटौती गरेर १ लाख ८५ हजार तिर्न भनेको छ ।

कलेजले तीन महिनाको होस्टल शुल्क, तीन महिनाकै इन्टरनेट शुल्क, प्रयोगशाला शुल्क, लाइब्रेरी शुल्क, परीक्षा शुल्क, त्रि.वि सम्बन्धन शुल्कलगायत गरी १ लाख ८५ हजार रुपैयाँ तिर्न भनेको रामले बताए ।

उनले आफूहरुलाई कलेजले ‘त्रिविले नलिनू भने नलिई परीक्षामा सहभागी गराउँछौं, यो तिमीहरुसँग होइन, लडाइँ भनेको त्रिविसँग हो । किन कलेजसँग आएर लडाइँ गर्छौं । त्रिविसँग लड’ भनेको बताए । रामजीले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘कलेजले भने अनुसार हो भने त त्रिविले आफ्नो निर्णय कार्यन्वयन नगरेको देखियो । अब त त्रिविसँगै आफैं बनाएको व्यवस्था कार्यन्वयन गर भन्ने हो ।’

चौथो वर्षमा अध्ययनरत रुकेशकुमार राम र तेस्रो वर्षमा अध्ययनरत प्रमोदकुमार राम दाजुभाइ हुन् । उनीहरुलाई पनि होस्टलको लाग्ने खर्चभन्दा दोब्बर शुल्क लिन खोजेपछि होस्टल छाडेर बाहिर बस्ने तयारी गरिरहेको बताए ।

रुकेशकुमारले अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘होस्टलले तोकेअनुसार मेसको एक लाख ५० हजार हुनुपर्ने हो तर २ लाख ७६ हजार माग गरेको छ । हामी दाजुभाइ छौं । दुई जनाको तिर्नुपर्दा धेरै हुन्छ । त्यही भएर होस्टल छाड्ने विचारमा छौं ।’

कलेजले रुकेशकुमार रामलाई यसअघि ८ लाख ७८ हजार ७८१ तिर्न भनेको थियो । अहिले परीक्षा शुल्क, होस्टल शुल्क लगायतको शुल्क गरेर दुई लाख ७६ हजार ८८३ तिरेर फारम भर्न सक्ने जानकारी दिएको छ । त्यस्तै तेस्रो वर्षमा अध्ययनरत प्रमोदकुमार रामलाई कलेजले १२ लाख तिर्न भनेको थियो भने अहिले परीक्षा शुल्क, होस्टल शुल्क लगायत गरेर दुई लाख १८ हजार ५४२ तिरेर फारम भर्न सक्ने भनेको छ ।

रुकेशले अनलाइनखबरसँग भने, ‘अब खोजेर तिर्ने त होला । परीक्षा त दिनुपर्‍यो । जहिल्यै परीक्षा दिनेबेला हुने लफडाले पढाइ पनि बिग्रेला भन्ने डर छ । अर्को वर्षदेखि यस्तो नहोस् ।’ परीक्षा फारम भर्ने मिति मंगलबारसम्म रहेको थियो ।

छात्रवृत्तिमा चिकित्सा शास्त्र अध्ययन गरेका विद्यार्थीसँग कलेजले परीक्षाको मुखमा अतिरिक्त शुल्क माग गर्दै फारम भर्न नदिएपछि उनीहरुले असार ७ गते चिकित्सा शिक्षा आयोग र चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)मा निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment