News Summary
Generated by OK AI. Editorially reviewed.- ६ वटा विश्वविद्यालयले आङ्गिक क्याम्पसहरूमा कुल सिटको १० प्रतिशत छात्रवृत्ति सुनिश्चित गरेर मात्र भर्ना लिन निर्देशन दिएका छन्।
- शैक्षिक सत्र २०८३/०८४ का लागि जेहेन्दार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीहरूका लागि उक्त सिटहरू अनिवार्य रूपमा खाली राख्नुपर्ने व्यवस्था गरिएको छ।
- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय तहमा छात्रवृत्ति संस्थागत गर्दा शिक्षामा पहुँच, समान अवसर र सामाजिक न्याय सुनिश्चित हुने विश्वास व्यक्त गर्नुभयो।
३० असार, काठमाडौं । पाँचवटा विश्वविद्यालयले १० प्रतिशत निःशुल्क छात्रवृत्ति सुनिश्चत गरेर विद्यार्थी भर्ना गर्न क्याम्पसहरूलाई निर्देशन दिएका छन् ।
त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, राजर्षिजनक विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, पोखरा विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयले छुट्टाछुट्टै सूचना प्रकाशित गरी आफ्ना आङ्गिक क्याम्पसहरूमा छात्रवृत्तिको सुनिश्चितका लागि पत्राचार गरेका छन् ।
एकैपटक उपकुलपतिमा नियुक्त भएका पाँच विश्वविद्यालयका उपकुलपतिले छात्रवृत्तिलाई सुनिश्चत बनाउन भनेका हुन् । विश्वविद्यालयको परिपत्र अनुसार सम्बन्धित क्याम्पसहरूले शैक्षित्र सत्र २०८३÷०८४ का लागि विश्वविद्यालयबाट स्वीकृत कार्यक्रमहरूमा विद्यार्थी भर्ना लिँदा अनिवार्य रूपमा पालना गर्नुपर्ने नियमबारे पनि जानकारी गराइएको छ ।
विश्वविद्यालयको नियमअनुसार कुल स्वीकृत सिट सङ्ख्याको १० प्रतिशत सिट जेहेन्दार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउन अनिवार्य रूपमा खाली राख्नुपर्ने व्यवस्था छ ।
उक्त १० प्रतिशत सिटहरूमा विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस÷कलेजको छात्रवृत्ति सम्बन्धी कार्यविधिको व्यवस्था अनुसार विद्यार्थी छनोट गरी भर्ना गरिने जनाइएको छ ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालय र मातहतका क्याम्पसहरूमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थासँगै शिक्षामा पहुँच, समान अवसर र सामाजिक न्याय सुनिश्चित भएको बताएका छन् ।
मन्त्री पोखरेलले यसअघि काठमाडौँ महानगरपालिकाको विद्यालय प्रणालीमा लागू गरिएको छात्रवृत्ति व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयनको भएको अनुभवका आधारमा अब विश्वविद्यालय तहमा पनि त्यसलाई संस्थागत गर्दै अघि बढेको उल्लेख गरेका छन् ।
‘काठमाडौँ महानगरपालिकाको विद्यालय प्रणालीमा हामीले लागू गरेको छात्रवृत्ति व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएको अनुभवका आधारमा, अब विश्वविद्यालय तहमा पनि त्यसलाई संस्थागत गर्दै अघि बढेका छौँ। ,’ मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
यसअघि चैत ३० गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियम बमोजिम छात्रवृत्ति प्रदान नगर्ने विद्यालयलाई कानुन बमोजिम आवश्यक कारबाही गर्न सम्पूर्ण स्थानीय तहहरूलाई समन्वय एवं सहजीकरण गर्न अनुरोध गरेको थियो ।
मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावली बमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी सङ्ख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण अद्यावधिक गरे नगरेको सम्बन्धमा अनुगमन र सहजीकरण गर्न स्थानीय तहलाई अनुरोध गरेको थियो ।

प्रतिक्रिया 4