Comments Add Comment

निजी दुग्ध उद्योगीले मागे सरकारसँग सहुलियतपूर्ण ऋण

२३ असार, काठमाडौं । निजी क्षेत्रका दुग्ध उद्योगीहरुले सरकारसंग सहुलियतपूर्ण ऋण माग गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल डेरी उद्योग संघले लकडाउनका कारण व्यवसाय धरासायी भएको भन्दै १० वर्षका लागि १० करोड रुपैयाँसम्म सहुलियतपूर्ण ऋण माग गरेको हो ।

केही समय अघि मात्रै सरकारले सरकारी स्वमित्वको दूग्ध विकास संस्था डिडिसीलाई २० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण उपलब्ध गराएको थियो ।

दोस्रो लकडाउनका कारण दुग्ध पदार्थकेा बिक्री ७० प्रतिशतसम्म गिरावट आउँदा कर्मचारीको तलब र किसानको भुक्तानी गर्न समस्या भएको संघका अध्यक्ष राजकुमार दाहालले बताए ।

बजार खपत घट्दा उद्योगहरुमा तीन हजार टन धुलो दूध र दुई हजार पाँच सय टन बटर गरी करीब चार अर्ब २५ करोड रुपैयाँ बराबरको सामान मौज्दात रहेको उनको भनाइ छ ।

ठूलो परिमाणमा दुग्ध पदार्थ मौज्दातमा रहँदा किसानको भुक्तानी, कर्मचारीको तलब, धुलो दूध बनाउँदाको ज्याला र बैकको किस्ता तिर्न चालु पुंजीको चरम अभाव भएको संघले बताएको छ ।

सामान्य अवस्थामा देशभरिका सबै डेरी उद्योग, विस्कुट कन्फेसनरी तथा अन्य खाद्य उद्योगहरुमा चार हजार मेटि्रकटन धुलो दूध खपत हुन गरेकोमा अहिले त्यस्तो नभएको उद्योगीहरुको दाबी छ ।

डेरी उद्योग संघ अन्तरगतका ३९ वटा डेरी उद्योग, दुग्ध विकास संस्थान र देशभरीका सबै डेरीमा गरी करिव ५,५०० देखि ६,००० टन धुलो दूध र सोही परिमाणमा बटर पनि मौज्दात रहेको अध्यक्ष दाहालले बताए ।

साथै संघले दुग्ध क्षेत्रमा काम गर्ने कर्मचारीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन, दुग्धजन्य प्रदार्थ आयातमा रोक लगाउन र दूधका विभिन्न परिकारमा अनुदान दिन पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment