
२४ असार, काठमाडौं । सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले बढुवा समितिको सिफारिसअनुसार डीआईजी थापालाई एआईजीमा बढुवा गर्गने निर्णय गरेको हो ।
सरकारले केही दिनअघि मात्र प्रहरीमा एआईजीको एक दरबन्दी थप गरिएको थियो । यससँगै प्रहरीमा एआईजीको दरबन्दी पाँच पुगेको छ । प्रशासनतर्फ हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल एआईजी छन् भने प्राविधिकतर्फ डा. आशा सिंह छन् ।
सरकारले एआईजीमा दरबन्दी थपेर २५ मंसिर २०७७ मा पोखरेललाई बढुवा गरेको थियो । बढुवासँगै उनी भावी आईजीपीका एक्ला दाबेदार बनेका थिए । तर दरबन्दी थप गरेर थापालाई पनि एआईजीमा बढुवा गरेसँगै प्रहरी महानिरीक्षको प्रतिस्पर्धामा उनी पनि थपिएका छन् ।
मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सहसचिव कृष्णहरि पुस्करलाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए ।
बढुवा सिफारिस समितिले बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम पठाउँदा पुस्कर पहिलो नम्बरमा थिए । समितिले पुस्करसँगै खगेन्द्रप्रसाद नेपाल र किरणराज शर्माको नाम सिफारिस गरेको थियो ।
प्रतिक्रिया 4