Comments Add Comment

सहमति जुट्न नसक्दा टीकापुर नगरपालिकाको नगरसभा स्थगित

२५ असार, कैलाली । टीकापुर नगरपालिकाको नगर सभा बैठक पुनः सूचना टाँस गरी स्थगन भएको छ । आज अपराह्नका लागि तय भएको सो बैठक यही असार ३० गतेका लागि तोकिएको छ । असार १० मा बसेको पहिलो दिनको नगरसभा पछि असार १७ र १९ गते पनि बैठक बस्न सकेन ।

वडा विभाजनको विषयमा सहमति जुट्न नसक्दा पटक÷पटक सूचना टाँस गरी बैठक स्थगन भएको हो । नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले नगर सभा बैठक स्थगित नगरेसम्म नगरपालिकामा लगाएको ताला नखोलिएको बताए ।

उसो त वडा विभाजनको विषयमा नगरपालिकाले पटक÷पटक राजनीतिक दल तथा सरोकारवालासँग छलफल गर्दै आएको छ । बिहीबार पनि टीकापुर क्षेत्रका सरोकारवाला, राजनीतिक दल तथा जनप्रतिनिधिका बीच छलफल भएको थियो ।

छलफलले निष्कर्ष निकाल्न सकेन । पहिलो चरणमा वडा नं १ लाई ५ वटा वडासम्ममा विभाजन गर्न सकिने जनाउँदै सहमति जनाएका राजनीतिक दलको भित्री निर्णय एक र बाहिर अनेक हुने गरेको देखिएको छ ।

राजनीतिक दल र जनप्रतिनिधिबीच ५ वडाबाट ६ वडा बनाउने निर्णयमा सहमति गरेका राजनीतिक दल बाहिर भने त्यो सहमतीलाई मान्न तयार देखिएका छैनन् । विशेषगरी, नेकपा एमाले र नेपाली काँग्रेसमा यो विवाद बढी देखिएको छ ।

नेकपा एमालेका नगर इन्चार्ज श्याम खत्रीले पार्टीभित्र देखिएको आन्तरिक समस्याकै कारण अहिले यस्तो अवस्था सिर्जना भएको र पार्टीको निर्णयलाई कतिपयले अवज्ञा गरेको बताएका छन् । ‘खास हाम्रो सहमति ४ वडामा हो । अर्को दलले पाँच त्यसपछि पुनः ६ भन्दै जाँदा बाध्य भएर सहमति जनाउनु परेको थियो ।’ उनले भने, ‘सहमतीअनुसार ६ भए पनि ठीक छ । नभए दुई तिहाइबाट पास हुँदा पनि हाम्रो आपत्ति छैन ।’

काँग्रेसका नगर सभापति धनराज उपाध्यायले पार्टीभित्र सहकार्य हुन नसक्दा एकले गरेको निर्णयलाई अर्कोले नस्वीकारेको बताउनुभएको छ । “नगरपालिकाले छलफलका लागि आधा घण्टा अगाडि बोलाउँछ । कोसँग छलफल गरेर जाने ?’ उनले भने, ‘नगरभन्दा माथिल्लो तहले १९ वडामा सहमति जनाएका अवस्थामा ६ वटा वडामा पनि पार्टीभित्र कसैले विवाद नरहला भनेरै सहमति जनाएको हुँ ।’

नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष खडक शाहले राजनीतिक दलहरुले नगरपालिकालाई ६ वटा वडाको सिफारिस गरिसकेपछि त्यसलाई हेरफेर गर्ने जिम्मा जनप्रतिनिधिहरुमा रहे पनि आफैले गरेको सहमतिलाई तोड्ने काम जनप्रतिनिधिहरुले गरेको बताए । ‘नैतिकताको आधारमा भए पनि वडा विभाजन हुनुपर्छ । दिनमा निर्णय गर्ने, राति त्यसमा असहमती जनाउने कस्तो प्रबृत्ति हो ? बुझ्नै सकेको छैन ।’

उनले भने, ‘अहिले बनाउनेभन्दा बिगार्ने प्रबृत्ति हावि हुँदै गएको छ । यसलाई समयमै रोक्नु पर्छ ।’ जनता समाजवादी पार्टीका नेता हरि तिमिल्सिनाले आफूहरुले ६ वटा वडा विभाजनका लागि गरेको सहमति नै कार्यान्वयन हुनुपर्ने जनाउँदै एमाले, काँग्रेस र माओवादी नै वडा विभाजनको बाधक रहेको बताए । उनले तीनवटै पार्टीका कारण वडा विभाजनमा समस्या आएको र जनतालाई सेवा दिने विषयमा राजनीति नगर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment