Comments Add Comment
संस्थापनइतरमा उम्मेदवारको खोजी :

सभापति आकांक्षीहरुको दाबी : संस्थापन इतरबाट साझा उम्मेदवार म

२५ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४औं महाधिवेशनका लागि उम्मेदवारी घोषणा गरेर दौडधुप थालिसक्दा संस्थापन इतर समूहले साझा उम्मेदवार छान्न सकेको छैन । यो समूहमा सभापतिका आकांक्षी नेताहरु पनि धेरै छन् ।

शुक्रबार पहिलो पटक संस्थापनइतर समूहमा रहेका सभापतिका आकांक्षीहरु एउटै टेबलमा बसेका छन् । बत्तीसपुतलीमा भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी र सुजाता कोइराला सहभागी थिए ।

सहभागीमध्ये डा. महत र केसीद्वयले सभापतिको उम्मेदवार बन्ने दाबी गरेनन् । बाँकीले आफैं हुन चाहेका छन् ।

सभापतिमा आफ्नै दाबी

एक सहभागीका अनुसार सबैले पार्टीको नेतृत्व परिर्वतनका लागि संस्थापनइतर समूह एक हुनुपर्नेमा जोड दिएका छन् । तर आकांक्षीहरुले उम्मेदवार भने आफू नै हुनुपर्ने दलिल पेश गर्न छुटाएनन् । ‘सहमतिमै नेतृत्व चयन गर्नुपर्छ भन्नेमा सबैको जोड थियो, तर सबै आकांक्षीले म मात्रै जित्ने उम्मेदवार हुँ, म नै बलियो छु भन्ने गरी पेश हुनुभयो,’ बैठकमा सहभागी एक नेताले अनलाइनखबरसँग भने ।

संस्थापनइतर समूह आआफ्नै तरिकाले अगाडि बढ्न खोजिरहेका बेला सबैलाई मिलाएर एउटा सर्वसम्मत उम्मेदवार बनाउन सकिन्छ कि भनेर प्रयास गरेको हुँ । यसलाई निरन्तरता दिन्छु – अर्जुननरसिंह केसी

वरिष्ठ नेता रामचन्द्र पौडेलको दाबी थियो, ‘कांग्रेसमा यो मेरा लागि अन्तिम अवसर पनि हो । एकपटक पार्टी सभापति भएर कांग्रेसलाई बलियो र एकतावद्ध बनाउने मेरो चाहना छ ।’

महामन्त्री डा. शशांक कोइरालाले सभापतिमा देउवालाई हराउन सक्ने आफू मात्र भएको दाबी गरे । पूर्वमहामन्त्री प्रकाशमान सिंहको दाबी छ, सबैलाई मिलाएर लैजान पनि सक्छु, मेरो दाबी स्वभाविक छ ।

सभापतिका अर्का आकांक्षी तर यो पटक उम्मेदवारी दिने नदिने घोषणा नगरेका कृष्ण सिटौलाले अन्तिम समयमा निर्णय गर्नुपर्ने बताए । नेतृत्वका लागि स्वच्छ बहस गरौं,’ उनले भनेका छन् ।

डा. शेखर कोइरालाले आफ्नो पक्षमा माहौल बनिसकेको बताए । ‘म धेरै अगाडि बढिसकें, मसँग धेरै नेता कार्यकर्ता साथीहरु जोडिनुभएको छ । मेरो पक्षमा राम्रो माहोल पनि देखिएको छ । कसरी टीम बनाउन सकिन्छ भन्ने छलफल गरौं । मलाई यहाँहरुको सहयोग चाहियो,’ उनले भने ।

नेतृ सुजाता कोइरालाले पनि महिला सभापति बन्नु कांग्रेसका लागि गर्वको विषय हुने भन्दै आफ्नो दाबी प्रस्तुत गरिन् ।

सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास थालेका नेता अर्जुननरसिंह केसीले भने नेतृत्वका आकांक्षीहरुबीच फेरि वान अन वान छलफल गर्नुपर्नेमा जोड दिएका छन् । ‘संस्थापनइतर समूहबाट कसरी एक्लो उम्मेदवार बनाउन सकिन्छ, त्यसको मोडालिटीमा छलफल गरौं,’ उनले भनेका छन् ।

कसले के भने ?

रामचन्द्र पौडेल

यो पार्टीमा मेरो लामो संघर्ष र संगत छ । पार्टीलाई योगदान पनि दिएको छु । एकपटक कांग्रेस सभापति भएर पार्टीलाई बलियो र एकतावद्ध बनाउने मेरो चाहना छ । पार्टीमा सबै भूमिकामा काम गरिसकेको छु । त्यसकारण मेरो दाबी स्वभाविक हो । हामीले सामूहिक निर्णय गरेर उम्मेदवारी घोषणा गर्ने सहमति भएकाले मैले व्यक्तिगत रुपमा उम्मेदवारी घोषणा नगरेको हुँ । तर यसपटक मेरो स्वभाविक उम्मेदवार हो । यो मेरो कांग्रेसमा अन्तिम अवसर पनि हो ।

शशांक कोइराला

शेरबहादुरजीलाई हराउने उम्मेदवार म मात्रै हुँ । म बाहेक अरुले हराउन सक्दैन । उहाँ अहिले शक्तिशाली हुनुहुन्छ । सभापति पनि हुनुहुन्छ । तै पनि अझै सल्लाह गरौं, सहमति बन्दा म बाधक बन्दिन ।

कृष्णप्रसाद सिटौला

पार्टीभित्र नेतृत्वका लागि स्वच्छ बहस गरौं, छलफल गर्दै जाऔं । अहिले नै हतार गरिहाल्नुपर्ने अवस्था छैन । तत्काल क्रियाशील सदस्यता टुंगो लगाउने र महाधिवेशनको माहौल बनाउनेतर्फ हामी लाग्नुपर्दछ । अन्तिममा समय आएपछि एउटा निर्णय गरांैला । सभापतिको उम्मेदवार बन्ने भन्ने अहिले नै को महत्वपूर्ण होइन ।

प्रकाशमान सिंह

म महामन्त्री भइसकें, उपसभापति भइसकें । पार्टीमा निरन्तर सक्रिय छु । उपप्रधानमन्त्री भएर संविधान निर्माणमा पनि योगदान गरेको छु । त्यसकारण मेरो उम्मेदवारी स्वभाविक हो । सबैलाई मिलाएर लैजान पनि सक्छु । वागमतीबाट कांग्रेसको अहिलेसम्म सभापति पनि कोही भएको छैन ।

डा. शेखर कोइराला

मैले धेरै अगाडिदेखि तयारी अगाडि बढाएको हुँ । मसँग धेरै नेता कार्यकर्ता साथीहरु जोडिनुभएको छ । मेरो पक्षमा राम्रो माहोल पनि देखिएको छ । बरु हामी कसरी टीम बनाउन सकिन्छ, त्यसमा छलफल गरौं । मलाई यहाँहरुको सहयोग चाहियो । तर म धेरै अगाडि बढिसकें ।

सुजाता कोइराला

नेपालमा अहिलेसम्म कोही पहिला पार्टीको प्रमुख भएको छैन । महिलालाई सभापति बनाउने नेपाली कांग्रेसमा गर्वको विषय पनि हो । तपाईंहरुबीच सहमति हुन्छ भने म बाधक बन्दिन, होइन भने मलाई अगाडि बढाउनुस् ।

बोलाएको भए आफ्ना कुरा राख्थें

छलफलमा सभापतिका आकांक्षी कल्याण गुरुङलाई बोलाइएको थिएन । युवातर्फ सभापतिमा उम्मेदवार बन्ने बताउँदै आएका गुरुङ संस्थापनइतर समूहकै हुन् । वरिष्ठ नेता पौडेल पक्षबाट क्रियाशील सदस्यता छानबिन समिति सदस्य रहेका गुरुङले भने, ‘उहाँहरुले किन बोलाउनुभएन थाहा भएन, मलाई बोलाएको भए आफ्ना कुरा राख्थें । मैले आफ्नो उम्मेदवारी घोषणा गरिसकेको छु ।’ उनले न्याय, समानता र परिवर्तनको मुद्दालाई लिएर आफूले सभापतिमा उम्मेदवारी दिने प्रष्ट पार्दै कसैको सहयोग वा असहयोगले कुनै अर्थ नराख्ने बताए ।

केसी भन्छन्– सर्वसम्मत उम्मेदवार

संस्थापनइतर समूहमा रहेका सभापतिका आकांक्षीहरुलाई एकैठाउँ भेला गर्ने भूमिका खेलेका नेता अर्जुननरसिंह केसीले छलफल सकारात्मक भएको बताएका छन् ।

बैठकपछि उनले भने, ‘संस्थापनइतर समूह नै आआफ्नै तरिकाले अगाडि बढ्न खोजिरहेका बेला मैले सबैलाई मिलाएर एउटा सर्वसम्मत उम्मेदवार बनाउन सकिन्छ कि भनेर यो प्रयास गरेको हुँ । यसलाई निरन्तरता दिन्छु र सर्वसम्मत उम्मेदवार बनाएर महाधिवेशनमा जानुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment