+
+

ब्लड क्यान्सरसँग जुधिरहेका विजयलाई उपचारमा आर्थिक समस्या

सुरेश बिडारी सुरेश बिडारी
२०७८ असार २६ गते १८:५३

२५ असार, वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिका–३ का ३२ वर्षीय विजय साह जीतपुरमा कस्मेटिक पसल चलाउँथे । घर व्यवहार ठीकै चलिरहेको थियो । कोरोना महामारीले उनको व्यवसायमा मन्दी ल्यायो । तर उनको जीवनमा महामारी भन्दा पनि ठूलो बज्रपात आइलाग्यो ।

०७७ फागुनमा उनलाई ढाड दुख्ने समस्या देखियो । वीरगञ्जमा उपचार गराउँदा नसा च्यापिएको पत्ता लाग्यो । विजयले काठमाडौं मेडिकल कलेज (केएमसी) मा शल्यक्रिया गराए ।

शल्यक्रिया पछि पनि उनलाई सञ्चो भएन । थप चेकजाँचपछि केएमसीकै चिकित्सकले ‘ब्लड क्यान्सर’ भएको बताए । उनलाई क्यान्सरको उपचार गराउन भारतको बाराणासी लगियो । त्यहाँ झण्डै एक लाख रुपैयाँ भारु खर्च भएको विजय बताउँछन् । चेकजाँच गर्नुअघि नै धेरै रकम डिपोजिट माग्न थालेपछि ठगिएको महशुस भएर फर्केको उनले सुनाए ।

भारतबाट फर्केपछि उनी विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भर्ना भए । अचानक अवस्था बिग्रिएपछि बीचमा केही दिन सप्तगण्डकी अस्पतालमा समेत राखेर उपचार गरिएको आफन्तहरु बताउँछन् ।

विजयको उपचारमा कति खर्च भयो ? उनीहरुले हिसाब गर्न पाएका छैनन्, तर उनीहरुसँग सुरक्षित विभिन्न अस्पताल, ल्याब र औषधी पसलको बिल जोड्दा साढे ४ लाख भन्दा बढी खर्च भइसकेको देखिन्छ । उपचारकै लागि रकमको अभाव भएपछि विजयले जीतपुरको पसल अढाई लाखमा बेचे । गाउँकै दुई कठ्ठा खेत तीन लाख रुपैयाँमा बेचिसकेका छन् ।

‘उपचारमा धेरै खर्च लागिसकेको छ, चिकित्सकले ६ पटक किमोथेरापी गर्नुपर्छ भनेका छन्, एउटै किमोमा ६० हजारको औषधी चल्छ, किमो गरेर घर पठाउँदा थप २०÷२५ हजारको औषधी दिन्छन् । २ वटा किमो भयो, अर्को गराउन अस्पताल आएका छौं ’ उनले भने ‘अझै ३ पटक किमो गराउनुपर्ने छ, खर्चले धान्न नसक्ने अवस्था बनिसक्यो ।’

घरकै छ चिन्ता

विजयको घरमा वृद्ध उमेरका आमा बुवा दुवै विरामी छन् । विजय उनीहरुको एक्लो सन्तान हुन् । मधुमेह रोगी बुवा जगदिश साहलाई प्यारालाइसिस भएको छ । आमालाई पनि मधुमेहको समस्या छ । परिवारमा श्रीमती र नाबालक दुई छोरा र एक छोरी छन् ।

कमाउने एक्लो व्यक्ति विजय हुन् । उनी फागुनदेखि नै ओछ्यान परेका छन् । तीन सन्तानको भविष्य सुन्दर बनाउने सपना देखेका विजयलाई आफू ओछ्यान पर्दा उनीहरुकै चिन्ता लाग्छ ।

‘बुवाको काम छुटिसकेको छ, घरमा कमाउने मै एक्लो थिएँ, बिरामी परेको छु, ब्लड क्यान्सर छ, खुट्टा पनि चलिरहेको छैन, दुई जनाले उठाएर बसाउँछन्’ विजयले भने ‘मलाई तलमाथि भयो भने परिवारको कुन हालत होला भन्ने चिन्ता लाग्छ ।’

विजयको उपचारमा सहयोग गर्न चाहनेले ईसेवा नम्बर ९८१४२५९६८०, वा विजय साहकै नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता नम्बर E 5070004167 मा सहयोग गर्न परिवारले अपिल गरेका छन् ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?