
२७ असार, काठमाडौं । बंगलादेशको प्रहरीले बंगलादेशको राजधानी सहर नजिकै रहेको रुपगञ्जस्थित हसेम फुड्स कारखानाका सञ्चालकलाई पक्राउ गरेको छ ।
गत बिहीबार उक्त कारखानामा आगलागी भएपछि भित्र रहेका ५२ जनाको मृत्यु भएको थियो । बंगलादेशको प्रहरीकाअनुसार शनिबार कम्पनीका सञ्चालक अबुल हसेम र उनका चार छोरासहित आठ जना पक्राउ परेका छन् । उनीहरु सबैविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।
अधिकारीहरुका अनुसार कारखानाबाट बाहिर निस्किने प्रमुख ढोका बन्द रहेकाले धेरैको मृत्यु भएको थियो । मृत्यु हुनेमा केही बालबालिका पनि थिए ।
यससँगै कम्पनीमाथि बाल श्रम शोषणबारे सोधपुछ पनि सुरु भएको छ । बंगलादेशकी श्रममन्त्री मोनुजान सुफियानले कारखानामा बाल श्रम शोषण भएको पुष्टि भए कारखानाका सञ्चालक र नियामकविरुद्ध आवश्यक कदम चालिने बताएकी छिन् ।
पक्राउ पर्नुभन्दा केही समयअघि कारखानाका प्रमुख हसेमले आगलागी हुनुमा कर्मचारीहरुको लापरबाही एक कारण भएको बताएका थिए । बिहीबार साँझबाट सुरु भएको आगलागी करिब २४ घण्टासम्म पनि नियन्त्रणमा आएको थिएन ।
कारखानाभित्र रहेका रसायन र प्लास्टिकको कारण आगलागी झनै बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4