Comments Add Comment

इटालीलाई च्याम्पियन बनाउने नायक

२८ असार, काठमाडौं । रोबर्टो मान्सिनीले खेलाडीका रुपमा इटालीको राष्ट्रिय टोलीका लागि इतिहास लेखाउन सकेनन् । यद्यपि यो इतिहास उनले प्रशिक्षकको रुपमा लेखाउँदैछन् ।

विश्वकप छनोटबाटै बाहिरिएको इटालीलाई तीन वर्षको अवधिमा नै उनी महत्वपूर्ण उपाधि जिताउन सफल भएका छन् । यसले पनि मान्सिनीको रणनीति टोलीको लागि कति महत्वपूर्ण थियो भन्ने देखाउँछ ।

आइतबार इटालीले युरोकपको फाइनलमा इंग्ल्याण्डलाई टाइब्रेकरमा हराउँदै उपाधि जितेको हो । निर्धारित समय र थप गरिएको अतिरिक्त ३० मिनेटको समयमा नतिजा बराबर रहेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा खेल जित्नु भाग्यको साथ पनि निकै महत्वपूर्ण हुन्छ । यद्यपि यो उपाधि दिलाउन ५६ वर्षीय प्रशिक्षक मान्सिनीले आफ्नो तर्फबाट सके जति सबै प्रयास गरेका छन् ।

फाइनल खेलमा इंग्ल्याण्डका प्रशिक्षकका योजनाहरुले उल्टो नतिजा दिइरहेका थिए भने मान्सिनीका योजना सही साबित भएका थिए । जुन, खेलको लागि निकै महत्वपूर्ण रहन पुग्यो ।

खेलको दोस्रो मिनेटमा नै इंग्ल्याण्डले खेलमा अग्रता लिएसँगै मान्सिनीले १२० मिनेटसम्म चलेको खेलको बीच–बीचमा केही खेलाडीहरुलाई परिवर्तन गर्दै टोलीलाई फिट राखिरहे । जसले खेलमा सकारात्मक प्रभाव पार्‍यो । इटालीले खेल अवधिभर एकनासको खेल प्रस्तुत गर्‍यो । घरेलु टोलीविरुद्ध इटालीले धेरै आक्रामक नखेली पहिलो हाफ सकायो ।

दोस्रो हाफको शुरुवातमा मान्सिनीले मिडफिल्डमा निकोलो बारेलाको स्थानमा ब्रायन क्रिस्टान्टलाई ल्याए । त्यस्तै सेन्टर फरवार्ड सिरो इमोबिलेको स्थानमा डोमेनिको बेरार्डीलाई ल्याए ।

त्यसपछि खेलमा इटालीले दबाब बढाउन थाल्यो । क्रिस्टान्टको उपस्थितिले इटालीको टोलीमा सेन्ट्रल मिडफिल्डमा थप ऊर्जा दिने काम गर्‍यो, जसको सहयोगमा इटाली गोली फर्काउन सफल भयो ।

समग्रमा इटालीको सेटअप आइतबार निकै राम्रो रह्यो । उसले ६२ प्रतिशत समय बल आफ्नो कब्जामा राख्यो, गोलका लागि २० वटा प्रहार गर्‍यो । जबकि इंग्ल्याण्डले जम्मा ६ प्रहार गरेको थियो । इटालीले ७५५ पास खेल्दा इंग्ल्याण्डले ३४१ पास खेलेको थियो ।

रक्षात्मक शक्ति

इटालीको रक्षात्मक शक्ति पनि फुटबलमा परिचित नै छ, जसको नेतृत्व गिओर्गिओ चिलिनीले गर्दै आएका छन् । शुरुवाती दुई मिनेटमा नै गोल गरेको इंग्ल्याण्डले त्यसपछि भने आक्रमण गर्न सकेन । यसले पनि इटालीको रक्षात्मक शक्तिलाई देखाउँछ ।

मान्सिनीले खेलको शुरुवात गरेका प्रमुख खेलाडीलाई ९० मिनेटको खेल सकिएपछि परिवर्तन गर्न हिचकिचाएनन् । खेलको ९० औं मिनेटमा थकित देखिएका लोरेन्जो इन्सिग्नेको स्थानमा एन्द्रेय बेलोटी आए भने त्यसको ६ मिनेटपछि मार्को भेराटीको स्थानमा मानुअल लोकाटेली आए । यद्यपि इंग्ल्याण्डको तर्फबाट भने टोलीमा कुनै परिवर्तन गरिएन । यसको फाइदा इटालीलाई पुग्यो ।

युरोकपमा मान्सिनीले यसअघि याद नगरिएको गुण देखिएको छ । सेमिफाइनलमा स्पेनसँगको खेलमा पनि उनले आफ्नो टोलीलाई धैर्यताका साथमा अघि बढाएका थिए । टाइब्रेकरमा इटालीले उक्त खेल जितेको थियो । उनले पुनः एकपटक उक्त गुण देखाए ।

सन् १९६८ मा फेरुकिओ भाल्कारेगीले इटालीलाई युरोकप उपाधि जिताएका थिए । त्यसपछि मान्सिनी पहिलो प्रशिक्षक हुन् । त्यसका साथै इटाली ३४ खेलमा अपराजित छ । तीन वर्षको अवधिमा पाएको सफलतालाई इंकित गर्दै मान्सिनीले भने, ‘हामीले एक चक्र पूरा गर्‍यौं ।’

आगामी वर्ष कतारमा हुने विश्वकपमा आफ्नो यत्रालाई अझै लामो बनाउने अवसर उनीसँग छ ।

रोयटर्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment