Comments Add Comment

देउवाको सुरक्षा बढाइयो, ओलीको घटाइयो

३० असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा प्रहरी नायब उपरीक्षक (डीएसपी) कोमलविक्रम शाहलाई खटाइएको छ । देउवा अघिल्लो पटक प्रधानमन्त्री भएका बेला पनि शाह नै उनका निजी सुरक्षा अधिकृत (पीएसओ) थिए ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा खटिएको टोलीको संख्या चाहिँ उनी पदमुक्त भएसँगै घटाइएको छ ।

गृह मन्त्रालयका एक अधिकृतका अनुसार देउवाले अतिविशिष्ट श्रेणीको सुरक्षा पाउनेछन्, जसको नेतृत्व नेपाली सेनाले गर्नेछ । स्रोतका अनुसार देउवाको सुरक्षामा नेपाली सेनाको २ सय, सशस्त्र प्रहरी बलको ३५, नेपाल प्रहरीको ६२ र राष्ट्रिय अनुसन्धान विभागबाट ५ जना खटिनेछन् ।

पूर्वप्रधानमन्त्री ओलीको सुरक्षाबाट चाहिँ पूर्वडीएसपी राजन लिम्बुसहितको टोली मंगलबारै फर्किएको छ । हाल प्रहरी निरीक्षक माधव केसीको नेतृत्वको टोली ओलीसँग छ । कानूनतः ओलीले १५ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीका कर्मचारीलाई सुरक्षार्थ राख्न पाउँछन् ।

तर ओलीको सचिवालयले थप १५ जना प्रहरीका सुरक्षाकर्मी माग गरेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

यसैबीच, पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षार्थ खटिएको टोलीको संख्या पनि बढाइएको छ । माधव नेपाल समूहको सहयोगमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेसँगै नेता नेपालमाथि सुरक्षा खतरा बढेको आँकलनसहित सुरक्षा बढाइएको छ ।

देउवा प्रधानमन्त्री भएसँगै नेपाललाई एमाले कार्यकर्ताबाट थ्रेट बढेको सुरक्षा विश्लेषण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment