Comments Add Comment

सिर्सिया नदीमा तटबन्ध नहुँदा समस्यामा छपकैयावासी

३० असार, वीरगञ्ज । नेपाल भारत सीमाको दशगजा भएर बग्ने सिर्सिया नदीले वर्षायाममा वर्षेनी गर्ने कटानले वीरगञ्जको छपकैयाका बासिन्दा समस्यामा पर्ने गरेका छन् । नदी नियन्त्रणका लागि तटबन्ध बनाउन सरकारी निकायले चासो नदेखाउँदा उनीहरुलाई वर्षेनी बाढीले पिरोल्ने गरेको छ ।

तटबन्ध नहुँदा सिर्सिया नदीको धार परिवर्तन हुँदा जमिनको विवाद समेत बढ्ने गरेको स्थानीय बताउँछन् । सिर्सिया नदी किनारमा छपकैयाका भोला साह कलवारले बनाएको शिव मन्दिर (भकुवा ब्रम्हस्थान) र सोही ठाउँमा सुखी साहले बनाएको सातोमाइको मन्दिर अहिले भारततर्फ दशगजामा पर्छ । मन्दिर छेउको नदी किनार दशगजा क्षेत्रमै भारतीय पक्षले पक्की छठघाट बनाएको छ ।

सिर्सिया नदीले धार परिवर्तन गरेपछि सानोमा आफूहरुले फुटबल खेल्ने गरेको जमिन भारततर्फ परिसकेको स्थानीय विजयकुमार साह बताउँछन् । नदी किनारमा तटबन्ध नबनाएको खण्डमा थप जमिन जाने उनको चिन्ता छ ।

‘नदीले धार परिवर्तन गरेपछि पहिला केही पर रहेका पिलरहरु नेपालतर्फ सारिएको छ । कसरी सारे थाहा छैन,’ उनले भने, ‘अझै पनि सिर्सिया नदीमा समयमै तटबन्ध नलगाउने हो भने सरैयामा कटान हुन्छ । फेरि भारतीय पक्षले जमिन आफ्नो बनाउँछ ।’

२०७४ माघमा त्यस क्षेत्रमा ३९२ नम्बर मुख्य पिलरको सहायक पिलर गाड्ने क्रममा  नेपालतर्फको नम्बरी, ऐलानी र पर्ती जग्गा भारततर्फ परेको भन्दै स्थानीयले विरोध जनाएका थिए । पिलर नम्बर ३९२ को ६, ७, ८ र २६ देखि २९ नम्बरको सहायक पिलर निर्माणको क्रममा नेपालको भूभाग मिचिएको भन्दै स्थानीयले विरोध जनाएपछि खेतमा गाड्न लागिएको पिलर गाड्ने काम रोकिएको थियो ।

छपकैया छटघाटदेखि भकुवा बाबाको मन्दिरसम्मको स्थानमा बढी जोखिम देखिएको छ । बीचमा थोरै ठाउँमा तर जालीमा ढुंगा भरेर तटबन्ध गरिएको छ । पूरै जोखिम क्षेत्रमा तटबन्ध लगाइनुपर्ने स्थानीयको माग छ ।

‘भारतीय पक्षले पिलर बाहिरै आएर नो म्यान्स लाइनमै पक्की छठघाट ढलान गरिसकेको छ,’ स्थानीय रविन्द्र महतो कोइरीले भने, ‘नदी कटानले गर्दा नेपालको जमिन भारततर्फ जाने जोखिम छ । तरजालीमा ढुंगा भरेर तटबन्ध लगाइदिए हुन्थ्यो ।’

पटक–पटक वडा कार्यालय र महानगरपालिकालाई समस्याबारे ध्यानाकर्षण गराइएको भए पनि सुनुवाई नभएको उनको गुनासो छ ।

स्थानीय बद्री साह कानु नदीले जता कमजोर छ उतैतिर कटान गर्ने भएकाले सरोकारवालाले ध्यान दिनुपर्ने बताए ।

सुरक्षा निकायका प्रमुखले गरे अवलोकन

स्थानीयवासीको आग्रहपछि प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का लगायतले सिर्सिया क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

सशस्त्र प्रहरी उपरीक्षक खड्काले नदी कटान नियन्त्रणका लागि के गर्न सकिन्छ प्रयास गर्ने बताए । ‘सीमा क्षेत्रमा त निरन्तर निगरानी भई नै रहेको छ, छपकैया क्षेत्रमा नदीले जमिन कटान गरिरहेको रहेछ,’ उनले भने, ‘महानगरपालिका, सिँचाई, नदी नियन्त्रणका लागि काम गर्ने सरकारी तथा गैरसरकारी निकाय र जिल्ला विपद् व्यवस्थापन समितिमा कुरा राखेर के गर्न सकिन्छ, प्रयास गर्छौं ।’

माओवादी केन्द्र वीरगञ्ज महानगर अध्यक्ष अन्सारीले छपकैयामा एक सय विघा जमिन कटानको जोखिममा रहेको बताए । ‘सीमा स्तम्भ नम्बर ३९१ र ३९१ को बीचमा जमिन कटान गरिरहेको छ । केही वर्ष अघि खोलाले बाटो परिवर्तन गर्दा २५ विघा जमिन भारततिर परेको रहेछ,’ उनले भने ।

अस्थायी तटबन्ध लगाएर वा रुख रोपेर भए पनि जमिन कटान हुनबाट जोगाउन सरोकारवालाको ध्यानाकर्षण गराइएको अन्सारीले बताए ।

वीरगञ्ज महानगर प्रमुख विजयकुमार सरावगीले वर्षायाममा तत्काल केही गर्न सक्ने अवस्था नरहेको बताए ।

बाटो नहुँदा कृषि कार्यमा समस्या

स्थानीयले छपकैया क्षेत्रमा कृषि बाटोको समेत समस्या रहेको बताएका छन् । ४०÷८० फिटको बाटो ८÷१० इन्चमा सीमित बनाइएकोले बाटोको समस्या भएको उनीहरुको भनाइ छ ।

कृषि सडक नहुँदा रोपाइँको समयमा वर्षेनी किसान बीचमा विवाद हुने गरेको स्थानीय रविन्द्र महतो कोइरी बताउँछन् । ‘रोपाइँ जोताईको समयमा विवाद र झगडा हुने गरेको छ । पार्टीको मान्छे, मन मिल्ने हुँदा खेतमा रोपाइँ गर्न जान दिने गरेको तर मन नपर्दा जान नदिने समस्या छ,’ उनले भने, ‘जबकि त्यो ठाउँको नक्सामा बाटो कायम छ । तर बाटोको जमिन अतिक्रमण गरेर खेती गरिरहेका छन् ।’

तस्वीर : प्रणय साह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment