Comments Add Comment

जन्मदिनमा ऋचाः पर्दामा चरित्र खोज्ने एक नायिका

चलचित्र ‘फस्ट लभ’बाट नेपाली चलचित्रमा प्रवेश गर्दै गर्दा नायिका ऋचा शर्माको करिअर कुन गतीमा दौडिन्छ, कमैले मात्र अड्कल लगाएका थिए । लभ स्टोरी चलचित्रबाट उदाएकी ऋचाले करिअरको दौडको दौरानमा आफूलाई विभिन्न पात्रमा ढालेकी छिन् ।

आज आफ्नो जन्मदिन मनाइरहेकी ऋचा सन्तानलाई जन्म दिने दिनको प्रतिक्षामा छिन् । डेढ बर्ष अगाडि आफ्नो प्रेमलाई वैवाहिक जीवनमा परिणत गरेपछि ऋचाको करिअर सानो पर्दामा पनि केन्द्रित छ । उनी, ‘कमेडी च्याम्पियन’को निर्णायकको कुर्सीमा बसेर आफूलाई नयाँ ढंगको भूमिकामा ढालिरहेकी छिन् ।

उसो त ऋचाले ‘हाम्रो टिम’ नामक सिरियलमा काम गरेर सानो पर्दामा आफूलाई केही अगाडि नै अब्बल सावित गरिसकेकी हुन् । तर, यसपटक उनको निर्णायकको भूमिका दर्शकका लागि फरक स्वाद बनिरहेको छ । सन् २००७ मा आयोजना भएको ‘मिस नेपाल’को उत्कृष्ट १० भित्र परेपछि उनी धेरैको नजरमा परेकी थिइन् ।

ऋचाको करिअरमा केही हिट र केही संझनलायक चलचित्रहरु छन् । उनले अभिनय गरेका ‘लुट, टलक जंग भर्सेस टुल्के, को आफ्नो, हाइवे, उमा’ लगायतका चलचित्रले उनको अभिनयको नयाँ आयम कोरेका छन् । यी बाहेक ‘लुट २, भिसा गर्ल, आधा लभ, मेरो लभ स्टोरी, सुनकेसरी’ लगायतका चलचित्रले पनि दर्शकमाझ उनलाई स्थापित गराएका छन् ।

ऋचाले चलचित्रको पर्दामा पात्रलाई खोजेकी छिन् । उनी, चलचित्रमा फरक फरक पात्रको जीवनमा रमाउन चाहने नायिका हुन् । यसैले, उनको स्टारडमको भन्दा अभिनयको चर्चा बढी भएको पाइन्छ । ऋचाले जीवन्त अभिनय गरेका केही चलचित्रहरु भलै बक्स अफिसमा सफल भएनन् । तर, ती चलचित्रले उनलाई एक अब्बल कलाकारको छाप भने दिलाएका छन् ।

चलचित्रमा अभिनयसँगै ऋचा निर्माणमा पनि सक्रिय छिन् । उनै, नायिका आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । ऋचालाई जन्म दिनको धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment