Comments Add Comment
तीन कोइरालाको लञ्ज मिटिङ : :

सभापतिमा शशांक र शेखरले खोजे एकअर्काको समर्थन

१ साउन काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा संस्थापन इतरको उम्मेदवार टुंगो लाग्न नसकिरहेका बेला तीन कोइरालाबीच ‘लञ्च मिटिङ’ भएको छ ।

कांग्रेसमा पारिवारिक विरासतमा रुपमा लिइने कोइराला परिवारका नेतात्रय महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र सुजाता कोइरालाबीच भेटवार्ता भएको हो । शनिबार महामन्त्री शशांकको  निवास महाराजगञ्जमा भएको छलफलमा केन्द्रीय सदस्य दीपक गिरी र पूर्वराज्यमन्त्री दीपक खड्का पनि सहभागी भएका थिए ।

करिव दुई घण्टा छलफलमा सभापतिका दाबेदार शशांक र शेखरले आफूलाई सहयोग गर्न एकअर्कासँग आग्रह गरेका छन् । महामन्त्री कोइरालानिकट स्रोतले भन्यो, ‘दुबै जनाले आफूलाई बलियो उम्मेदवारका रुपमा प्रस्तुत गर्नुभयो र, सभापतिमा आफूलाई सहयोग गर्न एकअर्कासँग आग्रह गर्नुभयो ।’

महामन्त्री कोइरालाले सभापतिका लागि आफू उपयुक्त उम्मेदवार भएको धारणा राखेका थिए । ‘सभापतिका लागि म नै सबल छु । महाधिवेशन जित्नसक्ने व्यक्ति हुँ,’ महामन्त्री कोइरालाले शेखर र सुजातासँग भने, ‘हाम्रो परिवारबाट मलाई अगाडि सारियो भने अरु साथीहरुले सहजै स्वीकार गर्छन् ।’

वीपी पुत्र समेत रहेका महामन्त्री कोइरालाले सार्वजनिक रुपमै वर्तमान सभापति शेरबहादुर देउवालाई पराजित गर्न सक्ने उम्मेदवार आफू मात्रै भएको दावी गर्दै आएका छन् । तीन कोइरालाको छलफलमा पनि महामन्त्री कोइरालाले पार्टी सभापति देउवा प्रधानमन्त्री पनि भएको र पार्टीभित्र राम्रो पकड भएकाले उनलाई हराउन आफू नै उम्मेदवार बन्नुपर्ने तर्क गरेका थिए ।

केन्द्रीय सदस्य शेखर कोइरालाले भने आफूले लामो समयदेखि तयारी गर्दै आएको र तल्लो तहका कार्यकर्तासँग पनि निरन्तर संवादमा रहेकाले सहयोग गर्न भाइ शशांकसँग आग्रह गरेका छन् । ‘मैले १३औं महाधिवेशन लगत्तै सभापतिका लागि तयारी अगाडि बढाएको हुँ,’ शेखरले भने, ‘उमेरका हिसावले पनि मेरो यो अन्तिम अवसर हो । बरु हामी टीम बनाएर अगाडि बढौं ।’

छलफलमा केन्द्रीय सदस्य सुजाताले भने संस्थापनइतर समूहमा सहमतिमा उम्मेदवार तय गर्नुपर्नेमा जोड दिएकी थिइन् । उनले तेस्रो समूहका नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग समेत छलफल गरेर अगाडि बढ्नुपर्ने मत राखेकी छन् । ‘रामचन्द्र दाइ, प्रकाशमानजी, सिटौलाजी पनि हुनुहुन्छ, उहाँहरुसँग पनि छलफल गरेर हामी निष्कर्शमा पुग्नुपर्छ,’ सुजाताले भनिन्, ‘जो उठेपनि एक जना मात्रै उठ्नुपर्छ । हामी तीन जनाबीच पनि कुनै मनमुटाव हुनुहुन्न ।’

केन्द्रीय सदस्य सुजाताले १४ असारमा बरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौलालाई आफ्नै निवासमा बोलाएर मिलेर महाधिवेशनमा जान आग्रह गरेकी थिइन् ।

सहभागी एक नेताका अनुसार शशांक र शेखरले सहजै एकअर्कालाई सहयोग गर्ने अवस्था देखिँदैन । ‘सभापतिमा दुबैको दावी रह्यो, अझै छलफललाई निरन्तरता दिने कुरा भएको छ’ ति नेता भन्छन्, ‘दुबैको मनशाय सभापतिमा लड्ने देखिन्छ । सहजै एकअर्कालाई छोड्लान् जस्तो देखिदैन ।’ भेटपछि नेता शेखर कोइरालाले पार्टीको आसन्न महाधिवेशन र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रतिक्रिया दिएका छन् ।

सुजाताको चासो सरकारमा

छलफलमा मन्त्रिपरिषद विस्तारबारे पनि छलफल भएको छ । सभापतिमा शशांक र शेखरलाई सहमति गर्न आग्रह गरेकी सुजाताले सरकारमा जान चाहेको बताएकी छन् ।  आफूलाई मन्त्री बनाउन सहयोग गर्न दाजु शेखर र भाई शशांकलाई आग्रह गरेकी थिइन् । सुजाताको प्रस्तावमा दाजुभाइ सकारात्मक छन् ।

शेखरले पार्टी सभापति देउवा प्रधानमन्त्री भएकै दोस्रो दिन बरिष्ठ नेता पौडेललाई टेलिफोन गरेर संस्थापनइतर समूहबाट मन्त्री बनाउनुपर्ने नाम सिफारिस गरेका थिए, जसमा सुजाताको पनि नाम छ । बिहीबार शशांक निवासमा भएको संस्थापनइतर समूहको बैठकमा पनि मन्त्रीमा सुजाताको नाममा चर्चा भएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment