+
+
Shares

कोटा प्रणालीबाट आयात गरिएका खाद्यवस्तुको भन्सार जाँचपासमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते १८:५८
फाइल तस्वीर

३ साउन, वीरगञ्ज । नयाँ आर्थिक वर्ष शुरु भएपछि वीरगञ्ज भन्सार कार्यालयमा केराउ, चना लगायतका वस्तुको भन्सार जाँचपासमा समस्या भएको छ । वाणिज्य विभागको अनुमति चाहिने भन्दै ती मालवस्तुको जाँचपास प्रक्रिया भन्सारले रोकिदिएको हो ।

क्यानडा, अमेरिका, भियतनाम लगयतका देशबाट आएका केराउ लगायतका सामान भन्सार जाँचपास हुन सकेका छैनन् । ६० भन्दा बढी कन्टेनर केराउ जाँचपास नहुँदा भन्सारमा रोकिएका छन् । जाँचपासका लागि वाणिज्य विभागले विषयवस्तु स्पष्ट खुल्ने गरी पत्र पठाउनुपर्ने वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दगाह कार्यालयका भन्सार अधिकृतहरुले बताए ।

सिर्सिया सुख्खा भन्सार कार्यालयका सूचना अधिकारी चुडामणि कट्टेलले विभागबाट स्पष्ट निर्देशन नआएकोले जाँचपास प्रक्रिया रोकिएको बताए । ‘असार मसान्तसम्म केराउ लगायतका मालवस्तु कोटामा आइरहेको थियो,’ उनले भने, ‘असार मसान्तपछि भन्सार आइपुगेका, बाटोमा आइरहेका वा भन्सारभित्रै रहेको समानलाई के गर्ने ? भन्ने स्पष्ट निर्देशन आइसकेको छैन । त्यसैले जाँच पास प्रक्रिया पूरा गरेर राजश्व तिरिसकेकालाई पनि रोकेर राखेका छौं ।’

उनका अनुसार कोटामा आयात भएका र बाटोमा आउँदै गरेका गरी केराउ मात्रै ४/५ सय कन्टेनर जति छ ।

भन्सार एजेन्ट तथा आयातकर्ताहरुले भने वाणिज्य र भन्सार विभागबीच आपसी समन्वय नमिल्दा जाँचपास रोकिएको बताएका छन् । सबै फर्म तथा कम्पनीहरुलाई पत्राचार गरेको वाणिज्य विभागले भन्सार विभागलाई प्रत्यक्ष पत्राचार नगरी बोधार्थ मात्रै पठाएको थियो । बोधार्थमा आएको पत्रको भरमा सामान छोड्न नसक्ने अडान भन्सारका कर्मचारीले लिएपछि यो विषय वाणिज्य विभागको महानिर्देशकसम्म पुगेको छ ।

वाणिज्य विभागका महानिर्देशक प्रकाश पौडेलले भने कोटा प्रणालीमा आयात भएका मालवस्तुको भन्सार जाँचपासका सन्दर्भमा भन्सार विभागमा पत्राचार गरिसकेको बताए ।

‘हामीले कोटा प्रणालीबाट आयात भएका मालवस्तुको जाँचपास सम्बन्धमा भन्सार विभागलाई पत्राचार गरिसकेका छौं,’ उनले भने, ‘विभागले परिपत्र गरिदिन्छु भनेको छ, सम्भवतः भोलिदेखि कोटा प्रणालीबाट ल्याइएका मालवस्तुको आवश्यक कागजपत्र पेश गरेपछि जाँचपासको प्रक्रिया शुरु हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?