Comments Add Comment

कोरोनाको उत्पत्तिबारे अध्ययन गर्ने डब्ल्यूएचओको योजना चीनद्वारा अस्वीकार

७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को उत्पत्तिबारे दोस्रो चरणको अध्ययनको लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बनाएको योजना चीनले अस्वीकार गरेको छ । यो चरणको अध्ययनमा चीनको प्रयोगशालाबाट कोरोना भाइरस आएको हुन सक्ने विषयमा पनि अध्ययन गर्ने योजना तय गरिएको थियो ।

डब्ल्यूएचओले यसै महिना चीनका प्रयोगशालाहरुको विवरण र वुहान सहरको अध्ययनको योजना प्रस्तुत गरेको थियो । साथै उसले चिनियाँ अधिकारीहरुलाई डेटाको मामिलामा थप पारदर्शी बन्न आग्रह गरेको थियो ।

‘हामी त्यस किसिमको उत्पत्ति पत्ता लगाउने योजनालाई स्वीकार गर्दैनौं, जसको केही पक्षमा सामान्य बुझाइ र विज्ञानलाई पनि नमान्ने देखिएको छ’, नेशनल हेल्थ कमिसन (एनएचसी)का उपमन्त्री जेङ यिसिनले बताए । उनले गोपनीयताको व्यवस्थाको कारण सबै विवरणहरु दिन नसकिने स्पष्ट पारेका छन् ।

चीनले यो अध्ययनलाई राजनीतिक बनाउनु नहुने बताउँदै आएको छ । कोरोनाका पहिलो संक्रमित २०१९ डिसेम्बरको अन्तिममा चीनको वुहान सहरमा फेला परेका थिए । यो भाइरस जनावरको व्यापार बजारबाट मानिसमा आएको विश्वास गरिएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment