Comments Add Comment
फर्केर हेर्दा :

स्क्यान्डल : जसले नेपाली सिनेमामा ठूलै हलचल ल्यायो

आफ्नो जमानाकी सर्वाधिक व्यस्त हिरोइन थिइन्, मौसमी मल्ल । उनको पदार्पण ठीक त्यही विन्दुबाट भयो, जहाँबाट नेपाली सिनेमाले आफ्नो गति समातेको थियो । त्यसताका बनेका पच्चीस बसन्त, तिलहरी, भाग्यरेखा, देउकी, टुहुरो, सम्पत्ति, झुमा, जन्मभूमि जस्ता चलचित्र खुब रुचाइए । र, यी चलचित्रकी मुख्य अभिनेत्री थिइन्, मौसमी । तर, करिअरको उत्कर्षमा रहेकै बेला उनी अचानक अलप भइन् ।

मौसमी कहाँ हराइन् ? सिनेमा वृत्तमा हल्लीखल्ली मच्चियो । अनेक अड्कलबाजी गरिए । धेरैपछि पोल खुल्यो, उनी त एक व्यक्तिसँग भागेर बेल्जियम पुगिछिन् ! कसैलाई थाहा-पत्तै नदिई । एक पुराना सिने-पत्रकार भन्छन्, ‘यो घटनाले त्यसबेला ठूलै हंगामा मच्चाएको थियो ।’

कृष्टि केसी (मैनाली) र राजेश हमालको रहस्यमयी सम्बन्धले पनि उबेला जगहँसाएको थियो । त्यसताका आफ्नै मामा दीपक रायमाझीले राजेश हमाललाई चलचित्र ‘भाग्यरेखा’ बाट डेब्यु गराउँदै थिए । राजेश हमालको को-स्टार थिइन्, कृष्टि मैनाली । पुराना कलाकारहरूको दाबीलाई पत्याउने हो भने, दीपक रायमाझीले कृष्टिलाई मन पराउँथे ।

जसै उनले हिरोको रूपमा भान्जालाई प्रवेश गराए, कृष्टि राजेशको नजिक भइन् । अन्ततः दीपक रायमाझीले राजेश हमाललाई फिल्मबाटै निकालिदिए । यद्यपि कृष्टिसँगको सम्बन्धलाई लिएर राजेश हमालले कहिल्यै मुख खोलेनन् ।

जुन मोडबाट नेपाली सिनेमाले व्यावसायिक गति समात्यो, त्यहींबाट अनेक लफडाको सिलसिला पनि शुरू भयो

लफडाबाजीको यो दुनियाँमा भुवन केसी ओभानो रहने कुरै भएन । प्रसंग पुरानै हो । चलचित्र ‘महादेवी’ को एउटा गीतको छायांकन हुँदैथियो । यसमा त्यसताकाका चर्चित नायक-नायिका थिए, भुवन केसी र करिश्मा मानन्धर ।

गीतको दृश्यमा भुवन केसीले करिश्माको टाङमुनि छिरेर साडी उचाल्नुपर्ने थियो । तर, यो दृश्यमा जति टेक लिए पनि निर्देशकले चित्त बुझाएनन् । एउटै दृश्यको टेक बारम्बार लिएपछि करिश्माको पारो तात्ने नै भयो । उनले रिसले चूर भएर श्रीमान् विनोद मानन्धरलाई सेटमै बोलाइन् । छायांकनस्थलमा भागाभाग भयो । उक्त चलचित्रको निर्देशन नारायण पुरीले गरेका थिए ।

नेपाली चलचित्रसँग जोडिएका स्क्यान्डलका यी केही दृष्टान्त हुन् । जुन मोडबाट नेपाली सिनेमाले व्यावसायिक गति समात्यो, त्यहींबाट अनेक लफडाको सिलसिला पनि शुरू भयो । कलाकारबीचको मनमुटाव, लभ अफेयर, झगडा र थरीथरीका फन्डाले गसिप बजारलाई तताइरहृयो ।

नेपाली चलचित्र क्षेत्रले पाँच दशक भन्दा लामो समय बिताउँदा दैनिकजसो कलाकारका प्रेम, झगडा, डिभोर्स लगायत विषयले विशेष स्थान पाएका छन् । नायक राजेश हमाल र नायिका कृष्टि केसीको प्रेम चर्चादेखि शुरू भएको स्क्यान्डल आजका दिनसम्म पनि उस्तै छ ।

चलचित्र ‘सीता’ को छायांकनका क्रममा नायक भुवन केसीले आफूले भात खान नपाएको भन्दै प्रोडक्शन म्यानेजर नगेन्द्र घिमिरेलाई कुटेका थिए । यो घटनाले पनि तत्कालीन समयमा निकै चर्चा पाएको थियो ।

भुवन केसी र नायक शिव श्रेष्ठले पाकिस्तानी चलचित्रमा काम गर्नका लागि मच्चाएको स्क्यान्डल पनि तत्कालीन समयमा निकै चर्चामा रहन पुग्यो । नायक शिव श्रेष्ठ पाकिस्तानी चलचित्र उद्योगमा सुपरस्टार भइसकेका थिए । उनकै पहलमा पाकिस्तानी चलचित्र ‘साहस’को छायांकन नेपालमा हुनेभयो ।

चलचित्रको छायांकन नेपालमा हुने भएपछि नायक भुवन केसीले पनि चलचित्रमा काम गर्ने रहर व्यक्त गरे । तर, चलचित्रमा एक मात्र हिरो हुने भएकाले भुवनले काम गर्ने संभावना थिएन । यसपछि, शिव श्रेष्ठले एउटा योजना बनाए । जसअनुसार, पाकिस्तानी टिम नेपाल आएपछि शिव हराए । सो समयमा उनीसँग सम्पर्क गर्ने कुनै माध्यम पनि थिएन । शिव हराएपछि पाकिस्तानी चलचित्रको टिमले नायक भुवन केसीसँग सम्झौता गर्‍यो ।

भुवनसँग सम्झौता लगत्तै शिव बाहिर आए । शिव भेटिएपछि पाकिस्तानी टिमले भुवनलाई हटाएर शिवलाई लिने बतायो । तर, भुवनले आफूले चलचित्रमा सम्झौता गरिसकेकाले हटाउन नमिल्ने अडान राखे । यसपछि, एउटा हिरोका लागि लेखेको कथा दुई जनालाई बाँडियो र चलचित्र बन्यो । शिव श्रेष्ठकै योजनामा यो खेल भएको थियो । यसपछि भने भुवन केसीले ९ वटा पाकिस्तानी चलचित्रमा अभिनय गरे ।

नायक राजेश हमालको करिअर उत्कर्षमा रहेको बेलामा उनको नग्न फोटो कामना मासिकमा सार्वजनिक भयो । कामना मासिकले हमालको गोप्य अंगलाई भने छोपेर फोटो प्रकाशित गरेको थियो । यो फोटो सार्वजनिक भएपछि राजेशले होटल एभरेष्टमा पत्रकार सम्मेलन नै गरेर स्पष्टीकरण दिएका थिए । नायक हमालले आफ्नो शरीरभरि गाँठा आएको जानकारी गराउँदै आफ्नो विदेशमा रहेकी डाक्टर दिदीलाई पठाउनका लागि तस्वीर खिचाएको स्पष्टीकरण दिएका थिए । व्यक्तिगत प्रयोजनका लागि खिचिएको तस्वीर मिडियामा सार्वजनिक भएको हमालको स्पष्टीकरण थियो । तर, उक्त तस्वीरले लामो समयसम्म चर्चा पायो ।

नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको जोडी हिट भएपछि बजारमा उनीहरूको अफेयरको चर्चा पनि चल्यो । राजेश र करिश्माको अफेयरको चर्चा चलेपछि विनोद मानन्धरले करिश्मालाई राजेश हमालसँग चलचित्र खेल्न नै नदिने अडान राखेका थिए । यसपछि करीब दुई वर्ष करिश्मा र राजेशले एकसाथ चलचित्रमा काम गरेनन् । पछि चलचित्र ‘प्रतीक्षा’ को टिमले विनोदलाई भेटेर विश्वस्त बनाएपछि राजेश र करिश्माले चलचित्रमा एकसाथ काम गरेका थिए । यो चलचित्रपछि राजेश र करिश्माले थुप्रै हिट चलचित्र दिएका छन् । आज पनि करिश्मा र राजेश चलचित्र क्षेत्रमा राम्रो साथी मानिन्छन् । तर, रोचक के छ भने करिश्मा र राजेश सार्वजनिक कार्यक्रममा एकसाथ भेट हुँदा बोलचाल भने गर्दैनन् ।

नायक भुवन केसीको घर विवाद पनि सधैं स्क्यान्डलमा नै रहन पुग्यो । पहिलो श्रीमती विजयासँग डिभोर्स गरेपछि भुवनले दोस्री श्रीमतीको रूपमा सुस्मिता बमजनलाई भित्र्याएका थिए । तर, सुस्मिता र भुवन केसीले बिहे गरेको केही समयमा नै अलग हुने निर्णय गरे

नायक हमाल एक महिलाको कारण पनि चर्चामा रहे । ती महिलाले राजेश हमालको बच्चा आफ्नो पेटमा रहेको बताउँदै हनुमानढोका प्रहरीमा उजुरी दिइन् । उनले राजेश हमाल आफ्नो श्रीमान् रहेको बताइन् । मिडियामा ठूलै चर्चा भएपछि नायक हमाल हनुमानढोका नै पुगेका थिए । पछि, ती महिलाको मानसिक अवस्थामा समस्या आएको बताएसँगै यो विषय सकिएको थियो ।

नेपाली चलचित्र क्षेत्रमा नायक हमाल कम विवादित बने । तर, नायक भुवन केसी भने विवादको घेराबाट आज पनि मुक्त भएका छैनन् । विशेषगरी, भुवनको स्क्यान्डल भने युवतीसँगको कारणले बढी भएको पाइन्छ । कुनै समय नायिका सारंगा श्रेष्ठले भुवन केसी नभएको भए नेपाली चलचित्रका धेरै नायिका कुमारी नै रहन्थे भनेर दिएको बयान आज पनि चर्चित छ ।

नायक भुवन केसीको घर विवाद पनि सधैं स्क्यान्डलमा नै रहन पुग्यो । पहिलो श्रीमती विजयासँग डिभोर्स गरेपछि भुवनले दोस्री श्रीमतीको रूपमा सुस्मिता बमजनलाई भित्र्याएका थिए । तर, सुस्मिता र भुवन केसीले बिहे गरेको केही समयमा नै अलग हुने निर्णय गरे । तर, छोरा अनमोल केसीका कारण केही वर्ष उनीहरू एकसाथ बसे । सुस्मिता र भुवनको डिभोर्स पनि भुवनको अन्य युवतीसँगको सम्बन्धका कारण भएको मानिन्छ ।

चलचित्र ‘वरदान’ को शुभ-साइतमा प्रमुख अतिथि बनेर पुगेका नायक भुवन केसी एक महिलासँग देखिएपछि फेरि उनको चर्चा भयो । ती महिला आफ्नो साथी भएको जानकारी भुवनले दिए । तर पछि ती महिलाको कारणले भुवनले कोटेश्वर चोकमा कुटाइखाएको खबर चर्चामा रहृयो । ती महिलासँग नगरकोट जान हिंडेका भुवनलाई उनका श्रीमान्ले कोटेश्वर चोकमा गाडी रोकेर हेल्मेटले हिर्काएका थिए । मानिसको भीड लागेपछि भुवन केसी गाडी छाडेर भाग्नुपरेको थियो । भुवनले भने एक चलचित्रका लागि लोकेशन हेर्न जाने क्रममा ती महिला साथीका श्रीमान्सँग कोटेश्वर चोकमा भेट भएको र उनीहरू भनाभन गर्न थालेपछि आफू सो स्थानबाट हिंडेको स्पष्टीकरण दिएका थिए ।
सुस्मिता बमजनसँग डिभोर्स भएपछि नायक भुवन केसी नायिका जिया केसीसँग लिभिङ टुगेदरमा बस्दै आएका छन् । भुवन र जियाले आजसम्म बिहे गरेका छैनन् । तर, करिअर विवादमा परिरहेको समयमा एक्कासी जिया चलचित्र क्षेत्र छाडेर भुवनसँग लिभिङ टुगेदरमा बस्न थालेकी थिइन् ।

नायक भुवन केसी चलचित्र ‘डि्रम्स’को छायांकनको समयमा होटलको पैसा नतिरेर पनि विवादमा परेका थिए । चलचित्रको छायांकन पोखरामा गरे पनि होटलको बिल तिर्न नसकेपछि भुवन र उनको टिमलाई होटल संचालकले केही घन्टा होटलमै थुनेका थिए । पछि पैसा तिर्ने सहमति गरेर भुवन केसी र उनको टिम बाहिरिएको थियो ।

नायक केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँगको विवादले पनि गत वर्ष चर्चामा रहे । नायिका शाहले निर्माता केसीले आफूलाई सेक्सुअल हृयारेसमेन्ट गरेको भन्दै बयान दिएपछि उनीहरूबीच मिडियामा आरोप-प्रत्यारोप नै चल्यो । भुवनले साम्राज्ञीले गलत आरोप लगाएको प्रतिक्रिया दिए भने साम्राज्ञीले भुवन केसीले आफूलाई डेब्यू चलचित्रमा पक्षपात गरेको, वर्कशपको नाममा छुन खोजेको लगायत आरोप लगाइन् । भुवनले यो विषयलाई अदालतसम्म पुर्‍याए ।

नायिका निरुता सिंह पनि स्क्यान्डलबाट बच्न सकिनन् । उनी र चलचित्र निर्माता बाला राईबीचको प्रेम चर्चा चलचित्र बजारमा चलेको थियो । तर, दुवैले यो कुरा भने स्वीकार गरेनन् । यस्तै, निर्देशक तुलसी घिमिरेको क्याम्पमा मात्र काम गर्ने भएकाले पनि निरुता र तुलसीको सम्बन्धको विषयमा चर्चा नभएको होइन । तुलसीको क्याम्पमा काम गरेपछि अन्य चलचित्रमा काम गर्न नपाइने भएकाले पनि यी दुईको प्रेम चर्चा चलेको थियो । तर, निरुताले भने तुलसीलाई गुरु मान्दै आएकी छिन् ।

स्क्यान्डलको क्षेत्र हो, नेपाली चलचित्र क्षेत्र । यहाँ दैनिक यस्तै चर्चा सुनिन्छन् । कतिपय स्क्यान्डल कलाकार आफैंले चर्चामा आउनका लागि मच्चाएको पाइन्छ भने कतिपय मिडियामा ठूलो विषय बनेर सार्वजनिक हुन्छन् । हामी, आउँदो शृङ्खलामा चलचित्र क्षेत्रका अन्य स्क्यान्डलको विषयमा चर्चा गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment