Comments Add Comment

प्ले स्टोरमा १० अर्बपटक डाउनलोड भयो युट्युब, यी हुन् सर्वाधिक लोकप्रिय एप्स

काठमाडौं । सर्वाधिक लोकप्रिय भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबको एन्ड्रोइड एप गुगल प्ले स्टोरबाट १० अर्ब पटक डाउनलोड भएको छ ।

यो सँगै गुगल मातहतको युट्युब प्ले स्टोरमा १० अर्ब पटक डाउनलोड हुने दोश्रो एप बनेको छ । प्ले स्टोरबाट १० अर्ब पटक डाउनलोड हुने पहिलो एप चाहिँ गुगल प्ले सर्भिस हो ।

सन् २०१८ मा गुगल प्ले स्टोरमा ५ अर्ब डाउनलोड संख्याको सीमा पार गरेको युट्युबले दुई वर्षमै १० अर्बको कोशेढुंगा पार गरेको हो ।

9to5Google का अनुसार पछिल्ला दशकमा विश्वव्यापी रुपमा इन्टरनेटको स्पीडमा भैरहेको सुधार, फोर जी डिभाइसहरुमा भैरहेको बढोत्तरी र स्मार्टफोन तथा ट्याबलेटमाथि धेरै भन्दा धेरै मानिसहरुको पहुँचका कारण युट्युबको लोकप्रियता पनि चुलिएको छ ।

विश्वको सबैभन्दा ठूलो तथा लोकप्रिय भिडियो स्ट्रिमिंग प्लाटफर्म युट्युब प्ले स्टोरको सुरुवात हुनु अगाडिबाटै लोकप्रिय बनिरहेको थियो । स्मरण रहोस् गुगल प्ले स्टोर सन् २००८ मा सुरु भएको थियो भने युट्युब सन् २००५ मै सुरु भएको हो ।

एन्ड्रोइडसँगै आइओएस प्लाटफर्म र वेबमा पनि उत्तिकै लोकप्रिय युट्युबमा हाल दैनिक १ अर्ब घण्टा भिडियो हेरिन्छ भने प्रतिसेकेण्ड ५ सय घण्टा बराबरका भिडियो अपलोड हुन्छन् । स्मरण रहोस् गुगल पछि युट्युब नै विश्वमा सर्वाधिक धेरै हेरिने वेबसाइट हो । यसका मासिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब रहेको छ ।

सन् २००६ मा गुगलले १ अर्ब ६५ करोड डलरमा किनेको युट्युबले सन् २०२० मा १९ अर्ब ८० करोड आम्दानी गरेको थियो ।

यी हुन् एन्ड्रोइडमा सर्वाधिक डाउनलोड भएका एपहरु

यद्यपि युट्युब तथा गुगलका अन्य विभिन्न एपहरु एन्ड्रोइड फोनमा प्रिइन्स्टल्ड हुन्छन् । त्यसैले स्मार्टफोन प्रयोगकर्ता बढेसँगै यस्ता एपको डाउनलोड संख्या बढ्नु स्वभाविकै हो ।

प्ले स्टोरबाट अत्यधिक डाउनलोड हुने अन्य प्रिइन्स्टल्ड गुगल एपहरुमा युट्युब र गुगल प्ले सर्भिसपछि जिमेल रहेको छ । जुन ९ अर्ब पटक डाउनलोड भएको छ । त्यस्तै गुगल म्याप ६ अर्ब ९० करोड पटक डाउनलोड भएको छ ।

प्रिइन्स्टल्ड एप बाहेक प्रयोगकर्ताले प्ले स्टोरबाट सुरुमै आफै डाउनलोड गर्नुपर्ने एपहरुमध्ये सर्वाधिक डाउनलोड भएका एपहरुको विवरण यस्तो छः

फेसबुक : ७ अर्ब ७ करोड ३० लाख

ह्वाट्सएप : ६ अर्ब ९८ करोड ३० लाख

फेसबुक मेसेन्जर : ५ अर्ब ३२ करोड ७० लाख

इन्स्टाग्राम : ३ अर्ब ५० करोड ४० लाख

टिकटक : २ अर्ब ६३ करोड १० लाख

सबवे सर्फर गेम : १ अर्ब ४३ करोड ८० लाख

फेसबुक लाइट : १ अर्ब ९३ करोड ३३ लाख

माइक्रोसफ्ट वर्ड : १ अर्ब ८९ करोड ५० लाख

माइक्रोसफ्ट पावर प्वाइन्ट : १ अर्ब ६५ करोड ५० लाख

स्नापच्याट : १ अर्ब ३५ करोड

शेयरइट : १ अर्ब ५४ करोड १० लाख

नेटफ्लिक्स : १ अर्ब ५१ करोड ३० लाख

ट्वीटर : १ अर्ब ३० करोड १० लाख

फ्लिपबोर्ड : १ अर्ब ३० करोड १० लाख

क्यान्डी क्रस सागा : १ अर्ब १४ करोड २० लाख

स्काइपी : १ अर्ब १२ करोड ४० लाख

स्पटीफाइ : १ अर्ब ८ करोड १० लाख

ड्रपबक्स : १ अर्ब २ करोड ५० लाख

भाइबर : ९० करोड ९० लाख

लाइन : ८७ करोड ४० लाख

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment