+
+

सरकार, फुल्चोकीलाई संरक्षण क्षेत्र घोषणा गर

श्रवण शर्मा श्रवण शर्मा
२०७८ साउन ११ गते ९:४६
फुल्चोकी क्षेत्रमा रहेको मार्बल खानी । स्थानीय वासिन्दाको विरोधपछि हाल यो खानी बन्द छ ।

फुल्चोकी काठमाडौं उपत्‍यकाको सबैभन्दा सुन्दर, जैविक विविधतायुक्त, पानीको प्रशस्त स्रोत भएको मध्यपहाडी शृंखला हो । यसका भिराला पाखामा सब-ट्रपिकल जंगल रहेको छ । सब-ट्रपिकल भनेको गर्मी र चिसो ठाउँको दोसाँधमा पाइने हावापानी अनुकूलको जंगल हो । सब-ट्रपिकललाई हिन्दी भाषामा उपोष्णकटिबन्धीय नामकरण गरिएको भए तापनि त्यो नाम त्यति लोकप्रिय हुनसकेको छैन र सब-ट्रपकिल भनेर नै बुझ्ने गरिएको पाइन्छ । फुल्चोकीको पर्यावरणीय, भौगर्भिक, आर्थिक र सांस्कृतिक महत्व ठूलो छ ।

बटुको आकारको काठमाडौं उपत्यका फुल्चोकी र भीमफेदीको गर्भगृहमा रहेका पत्थरहरूमा अडिएको छ । भौगर्भिक अध्येताहरूका अनुसार पाँच करोडदेखि चार करोड वर्ष पहिले यी पहाड बनेका थिए । हिमालभन्दा पहिले बनेको हुनाले काठमाडौं वरिपरिका यी पहाड हिमालयका दाजु हुन् । काठमाडौंको आग्नेय कोणमा अवस्थित शृंखलाबद्ध पहाडहरूको समूह हो, फुल्चोकी ।

यो ९ हजार १६८ फिट अग्लो छ र जमीनको क्षेत्रफल ५० वर्गकिलोमिटर रहेको छ । यो पहाड भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लाको त्रिकोणमा अवस्थित भए पनि यसको ठूलो हिस्सा ललितपुरमा पर्दछ । यस पहाडमा विभिन्न प्राकृतिक समुदायका लाखौं प्रजाति एकापसमा मिलेर पर्यावरणीय सहकार्य गर्दछन् । फुल्चोकी एक पारिस्थितिक प्रणाली (इकोलोजी)को एक सानो तर सुन्दर र अत्यन्त महत्वपूर्ण संसार हो ।

प्रकृतिको पारिस्थितिक प्रणाली कायम राख्न जे-जति अवयवको नैसर्गिक उद्विकास अत्यावश्यक हुन्छ, त्यहाँ ती सबै प्राकृतिक तत्वहरू विद्यमान छन् । पानी, सूक्ष्मजीव, विभिन्न प्रजातिका चरा, हजारौं प्रकारका फूल फुल्ने वनस्पति, रूख, कमिला, झ्याउ, कीरा, फट्यांग्रा, भुसुना आदि । यी सबै प्राकृतिक तत्वहरूको त्यतिकै महत्व छ जति महत्व रूख, पानी, खाद्य पदार्थ वा अन्य प्राकृतिक तत्वहरूको हुने गर्दछ ।

प्रश्न उठ्न सक्छ, यी कीट, पतंग, झ्याउ, कमिला, चरा वा कीराहरूका विषयमा लेख्नु के आवश्यक छ ? आवश्यक मात्र होइन अत्यावश्यक छ । आम मानिसले आफ्नो वरिपरिको पारिस्थितिक प्रणाली र पारिस्थितिक प्रणालीको अन्तरसम्बन्ध (इकोसिस्टम), वातावरण र जलवायु परिवर्तनलाई सही ढंगले बुझ्न सकेको अवस्थामा सरकारले लागू गरेका र भविष्यमा लागू गर्न सक्ने भौतिक विकास वा सामाजिक विकासका नीतिले पार्न सक्ने खासखास प्रभावलाई बुझ्न र विश्लेषण गर्न सकिन्छ ।

फुल्चोकी एक सम्पूर्ण वन हो । सम्पूर्ण वन भन्नाले विविधतायुक्त, प्राकृतिक वनमा पाइने सबैखाले सम्पन्नताबाट सुशोभित तत्व हो । त्यस्तो सम्पन्नतामा जंगलमा अग्ला रूख, बुट्यान, झाडी, घाँसे मैदान, पानी, फूल फुल्ने वनस्पति, कीरा, फट्यांग्रा, कमिला, सूक्ष्मजीव, परजीवी वनस्पति, चराहरूको वासस्थान सहितको सम्पूर्ण वन हो । जंगलले फुल्चोकीलाई हरियाली दिएको छ भने त्यहाँ भएका प्राणी तथा वनस्पतिले विविधता ।

यो विविधताको प्रकृति स्वयं र यस धर्तीमा बस्ने मानिस लगायत अन्य सबै प्राणीका लागि ठूलो महत्व राख्दछ । फुल्चोकीबाट बगेर आउने पानी प्राकृतिक हो, जुन स्वच्छ छ । जंगलले कार्वनडाइअक्साइड संचित गरेको हुनाले काठमाडौंको तापक्रम नियन्त्रित छ ।

रूखले दिएको अक्सिजनबाट मान्छे लगायत प्राणीले सास लिइरहेका छन् । फुल्चोकीले प्राणीहरूलाई जीवन दिने प्राकृतिक तत्वहरू पानी, अक्सिजन, सूक्ष्मजीव र इकोसिस्टम बचाएको छ जसबाट मानिस खाना, पानी जीविकोपार्जनका लागि कच्चा पदार्थ प्राप्त गरिरहेका छन् ।

वातावरणीय र जैविक विविधताका हिसाबले फुल्चोकी संसार प्रसिद्ध छ । मध्यपहाडी भागमा रहेको यो पहाड काठमाडौं उपत्यकाका अरू पहाडहरू भन्दा अग्लो छ । यसमा चिसो हावापानी र गर्मी दुवै मौसममा पाइने जंगल छ ।

चरा संरक्षणका लागि अन्तर्राष्ट्रिय परिषदका अनुसार यहाँ पाइने २५६ प्रजातिका चरामध्ये ९० प्रतिशत चरा यसै जंगलमा स्थायी बसोबास गर्दछन् । खतरा उन्मुख १७ प्रजातिका चरा, अति संकटापन्न ६ प्रजातिका चराहरू यहाँ रहेका छन् । नेपालको हिमाली क्षेत्रका चरा, जनावर, वनस्पति, कीरा तथा सूक्ष्मजीवहरूको बृहत् अध्ययनमा संलग्न प्राध्यापक जोचेन मार्टेनले सन् १९८२ मा वैज्ञानिक नाम नै नभएका कतिपय प्राणी र कीराहरू फुल्चोकी जंगलमा पत्ता लगाएका थिए ।

उनले फुल्चोकीलाई त्यतिबेलै संरक्षण क्षेत्र घोषणा गर्नुपर्ने सल्लाह दिएका थिए । काठ, घाँस या यस्तै प्रयोजनका लागि नेपालका यस्ता सब-ट्रपिकल जंगलहरू नाश हुँदै गएका छन् । सन् १९७८-७९ सम्म गरिएको भूमिस्रोत नक्शांकन परियोजनाले घना आवादीका छेउमा जैविक विविधता भएको जंगल नेपालमा फुल्चोकी मात्रै बाँकी रहेको घोषणा गरेको थियो ।

हिन्दू र किराँत सभ्यतामा पहाडलाई देवताको रूप मानिन्छ । प्रत्येक पहाडमा कुनै न कुनै किराँत वा हिन्दू देवताको बास भएको मानिएको छ । काठमाडौं उपत्यकामा फुल्चोकी सबैभन्दा सुन्दर ठाउँ हो । राणा प्रधानमन्त्रीले ‘फुल्चोकीका रूख काट्नेको टाउको काटिदिनु’ भनेका थिए भनेर क्यारोल इन्सिकप र टिम इन्सिकपले लेखेका छन् । सन् १९७५ देखि फुल्चोकी जंगल मास्न थालिएको हो । हाल यो बेहाल अवस्थामा पुगिसकेको छ । जसरी शिवपुरीको बृहत् अध्ययन गरिएको छ, फुल्चोकीको अध्ययन भएको छैन ।

फुल्चोकीमा कमिला, विभिन्न किसिमका कीरा, विभिन्न प्रजातिका परजीवी झ्याउहरूको आश्चर्यजनक प्रजाति पाइन्छ । संसारमा पाइने झ्याउमध्ये १० प्रतिशत नेपालमा पाइएको छ । यही हो नेपाल संसारमा प्रसिद्ध भएको कुरा । जैविक विविधता, प्राकृतिक सुन्दरता, डाँडाका टुप्पामा उम्रने प्राकृतिक पानी, हिमनदी, हिमाल, सांस्कृतिक विविधता, भाषा, धर्म र सामाजिक विशिष्टताले नेपाल संसार प्रसिद्ध हुन पुगेको हो । बारम्बार संविधान परिवर्तन, राजनीतिक आन्दोलन, हिंसात्मक विद्रोह र सरकार बनाउन गरिने तँछाडमछाडले होइन ।

काठमाडौंको आधार दृश्य । तस्वीर : सुधीर श्रेष्ठ

मानिसहरूले भन्न सक्छन् झ्याउको के महत्व छ ? झ्याउले जंगलको प्राकृतिक स्वरुप कायम राख्छ । अमेरिका जस्तो देशमा झ्याउ अध्ययन र संरक्षणका लागि सरकारी निकाय बनेको छ । झ्याउले हावामा मिश्रति पानी लिन्छ, सो पानी रूखले पनि प्रयोग गर्ने गर्दछ । यसले कार्वनडाइअक्साइडलाई अक्सिजनमा रूपान्तरण गर्दछ ।

परभक्षी कमिला इकोसिस्टमका यन्त्रकार हुन् । यिनले इकोसिस्टमलाई बचाउने भूमिका खेल्छन् । कमिलाले सूक्ष्मजीव खान्छ, चरा लगायत अन्य प्राणीहरूले कमिला खान्छन्, कमिलाले जमीनको सतहलाई खुकुलो पार्दछ ।

फुल्चोकी जंगलको कार्वन संचिति क्षमता अध्ययन भएको पाइएको छैन । यद्यपि शिवपुरी नागार्जुनसँग तुलना गर्ने हो भने फुल्चोकीले के कति कार्वन संचिति गर्न सक्छ भन्ने प्रारम्भिक अनुमान गर्न सकिन्छ । शिवपुरी १५९ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । यसको कार्वन संचिति २९ लाख टन छ । यो कार्वन संचितिको अन्तर्राष्ट्रिय बजार मूल्य अमेरिकी डलर ७ करोड २ लाख हुन आउँछ ।

‘यसका आधारमा फुल्चोकीको कार्वन संचिति अनुमान गर्दा फुल्चोकीले ९ लाख ६६ हजार ६६६ टन कार्वन संचित गर्न सक्छ । यसको मूल्य अमेरिकी डलरमा २ करोड ४० लाख ७३ हजार पर्नेछ । यसलाई नेपालीमा रूपान्तरण गर्दा नेपाली रुपैयाँ २ अर्ब ८८ करोड ८७ लाख ६० हजार हुन आउँछ । के फुल्चोकीका केवलकार वा होटलहरूले नेपाल सरकारलाई यति रकम कर तिर्न सक्लान् ?

फुल्चोकी जंगल मासिंदै गएकाले त्यहाँबाट बग्ने पानीको मात्रामा कमी आएको छ । रूख र पानीको सम-सम्बन्ध मानिसको जीवनसँग पनि अन्तरसम्बन्धित हुन्छ । रूखले पानी दिन्छ, पानीले रूख बिरुवा जंगलको वृद्धि र प्राकृतिक स्वरुप कायम राख्दछ ।

मानिसले पानी पिउन, सिंचाइ गर्न र घरपालुवा जनावरलाई खुवाउनका लागि प्रयोग गर्दछन् । जंगल वरिपरिको वातावरणमा जंगलको ओस फैलन्छ । कृषिका लागि ओस अत्यावश्यक छ । जंगलका चराहरूले बालीनालीमा लाग्ने कीरा खान्छन्, मौरी, चरा र चमेराहरूले बाली र बिरुवाहरूमा पराग सिंचन गर्दछन् । पराग सिंचन नभई कुनै पनि बिरुवामा फल लाग्दैन । जंगलले पर्यावरणीय सन्तुलन कायम गर्छ ।

माथि भनिएको छ काठमाडौं बटुको आकारको छ । यो बटुकाभित्र ३० लाखभन्दा बढी मानिसकोे स्थायी बसोबास भएको अनुमान छ । यी ३० लाख मानिसले काठमाडौं वरिपरिको जंगलबाट निःसृत हुने अक्सिजनबाट सास फेर्ने हुन् । मान्छेको फोक्सोले एक मिनेटमा ५ देखि ६ मिलिलिटर अक्सिजन प्रयोग गर्छ भनिन्छ । मानिसले प्रति दिन ७ देखि ८ लिटर अक्सिजन लिन्छ । यो सबै अक्सिजन रूखबाट आउने हो ।

हिसाब गर्नुहोस् त हस्पिटलहरूले एक लिटर अक्सिजनको कति मूल्य लिने गरेका छन् । मान्छे अस्पतालमा अक्सिजनका लागि हजारौं रकम तिर्न बाध्य छ तर रूखको महत्वलाई उपेक्षा गर्दछ । मान्छे सन्तानका लागि सम्पत्ति जोड्न अहोरात्र खट्छ, तर आफ्ना सन्ततिको स्वास्थ्य वा उनीहरूको अस्तित्वमा संकट पैदा गरिरहेका विध्वंसलाई बुझ्न खोजिरहेको छैन । हास्यास्पदपूर्ण छैन त यस्तो चरित्र ?

मानिसको फोक्सोले शरीरका लागि जसरी काम गर्छ रूखले इकोसिस्टम (पानी, वनस्पति, प्राणी र हावाको अन्तरसम्बन्ध)का लागि त्यसरी नै काम गरेको हुन्छ । मानिसको शरीरमा कलेजोले रगत छान्ने काम गरेझैं रूखले पर्यावरणका लागि हावा छान्ने काम गर्दछ । धातु र धूलोका कणहरूलाई रूखको पातले निष्क्रिय पारिदिन्छ । वायुमण्डलमा उत्पन्न प्रदूषणलाई रूखले नियन्त्रण गर्दछ ।

केही वर्ष यतादेखि नेपालमा केवलकार जडान गर्ने, रिसोर्ट खोल्ने, डोजर वा स्काभेटरले सुक्खा समयमा प्रयोगमा आउने मौसमी बाटोे बनाउनुलाई नै विकास भन्न थालिएको छ । टोनी हागनले धन कमाउनका लागि नेपालमा १६ हजार किलोमिटर पैदल यात्रा अवश्य गरेका थिएनन् । यहाँको विविधता र विशेषता उजागर गर्नका लागि गरेका थिए ।

तर बाँच्नका लागि आधारभूत तत्वहरू जमीन, पानी र वनस्पति माथि गरिएको डरलाग्दो आक्रमणको प्रत्याक्रमण अवश्यंभावी छ । प्राकृतिक र मानवीय गतिविधिले उत्पन्न गर्ने विपद् कति डरलाग्दा हुनेछन् भन्ने अनुमानले आउने पुस्तालाई सुरक्षित राख्न योगदान गर्नेछ ।

ठेकेदार, ठेक्का दिने मन्त्री, वस्तु आपूर्ति गर्ने सप्लायर आदिलाई त मेलम्ची लाभदायक हुन्छ, भयो पनि होला । तर मेलम्चीले काठमाडौंलाई पानी आपूर्ति गरिरहन सक्छ ? भन्ने कुरामा ठूलो प्रश्न उठ्न थालेको छ । दीर्घकालका लागि काठमाडौंको पानी आपूर्ति सोच्ने हो भने काठमाडौं वरिपरिका डाँडाहरूमा जंगल हुनैपर्छ ।

अमेरिकाको न्यूयोर्क शहर संरक्षण क्षेत्रको पानी प्रयोग गरिरहेको छ । त्यो पनि दिनको तीन अर्ब लिटर । जंगलको प्राकृतिक स्वरुपलाई खलल पारिनाले पर्यावरणीय चक्र र मानिसको अन्तरसम्बन्धमा समस्या पैदा हुन्छ । दलहरूबीचका आन्तरिक द्वन्द्व नेताहरूका वार्ताबाट समाधान गरिएको अनुभव प्रकृति र यसको जीवनचक्र पुनस्र्थापनामा प्रयोग हुन सक्दैन । प्रकृतिको जीवनचक्र पुनस्र्थापना भनेको पानी, सूक्ष्मजीव लगायत सम्पूर्ण प्राकृतिक अवयवहरूको जीवनचक्र संचालन हुनसक्ने वातावरण बन्नु हो ।

सरकारसँग एउटा अत्यावश्यक आग्रह छ, काठमाडौंलाई मानव बसोबासयोग्य बनाइराख्ने हो भने काठमाडौं वरिपरिका डाँडालाई संरक्षण क्षेत्र घोषणा गरी त्यहाँ हरियाली, पानी प्रशस्त दिने बिरुवाहरू लगाई प्राकृतिक जंगल विकास गर्नै पर्दछ । भएजति डाँडामा केवलकार संचालन गर्नु र होटल खोल्नु भनेको विकास होइन बरु विनाशको बाटो हुनसक्ने खतरा रहन्छ ।

नेपालको राजनीति र शासन व्यवस्थामा दुई विपरीत राजनीतिक अवधारणाहरूको बाहुल्य छ- साम्यवादी र प्रजातन्त्रवादी । साम्यवादीहरू मानिसमा स्वाभाविक रूपमा पाइने भौतिक विकासको भोकलाई यन्त्रवत् राजनीति संचालनका लागि ऊर्जाको रूपमा ग्रहण गर्दछन् भने प्रजातन्त्रवादीहरू तुलनात्मक रूपमा प्रकृति अनुकूल विकास गरिएका अन्तर्राष्ट्रिय मान्यतालाई केही मात्रामा महत्व दिन्छन् ।

तर नेपालका साम्यवादीहरूले वर्तमान चीनलाई मात्र हेरे पनि प्रकृति संरक्षणमा आफूलाई सच्याइरहेको बुझ्न सक्नेछन् । चीनले देशको क्षेत्रफलको ठूलो हिस्सालाई संरक्षण क्षेत्र घोषणा गरी कार्यान्वयन गरिरहेको छ । भारतले पनि नेपालको समग्र क्षेत्रफलको डेढ गुणा हिस्सामा संरक्षण क्षेत्र व्यवस्थापन गरेको छ । प्रजातन्त्रवादीहरूले यसबाट पनि सिक्न सक्छन् ।

राजधानी उपत्यका ग्याँस च्याम्बर जस्तो हुँदै गइरहेको छ । शिवपुरी, फुल्चोकी र चन्द्रागिरि पहाडमा रहेको जंगल र हरियाली संरक्षण गर्न सकेको खण्डमा काठमाडौं ग्याँस चेम्बर हुनबाट जोगाउन सकिन्छ । नेपालका संरक्षण क्षेत्र व्यवस्थापन र त्यस वरिपरिका बसोबासीहरूका बीच सम्बन्ध त्यति सुमधुर हुनसकेको छैन । यसका पछाडि निश्चित कारण छन् ।

जस्तो, संरक्षण क्षेत्र स्थापना र व्यवस्थापन गर्दा त्यसको अपनत्व वरिपरिका नागरिकले पाउन सकेका छैनन् । संरक्षण क्षेत्र घोषणा गर्नुपूर्व वा घोषणा गरिएपछि संरक्षणका बृहत् योजना बनाउँदा जनतासँग सहकार्य गराउनु आवश्यक छ ।

संरक्षण क्षेत्रबाट जनतालाई प्रत्यक्ष र अप्रत्यक्ष प्राप्त हुने लाभको विषयमा व्यापक अन्तर्क्रिया गर्न सकिन्छ । त्यहाँबाट प्राप्त प्रतिफलको निश्चित हिस्सा समुदाय वा स्थानीय निकायले प्राप्त गर्न सक्ने वित्तीय विधि तय गर्न सकिन्छ । त्यस लाभलाई त्यहाँका नागरिकहरूको सेवा र सुविधामा प्रयोग गर्ने रणनीति लिनु उचित हुन्छ ।

लेखकको बारेमा
श्रवण शर्मा

शर्मा राइट्स अफ नेचर अभियानमा संलग्न छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?