Comments Add Comment

पार्टीको सम्पर्कमा आइन् लुम्बिनीकी सांसद ढेंगा 

११ साउन, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेंगामगर पार्टीको सम्पर्कमा आएकी छन् । केही दिनदेखि कपिलवस्तुको तौलिहवास्थित एक होटलमा पार्टीको निगरानीमा बस्दै आएकी उनी आइतबार बिहान साढे ११ बजेदेखि पार्टीसँग सम्पर्कविहीन भएकी थिइन् ।

उनी सम्पर्कविहीन भएपछि जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिका मुख्य सचिव यज्ञ पोखरेलले इलाका प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन दिएका थिए । सोमबार बिहान ९ बजेतिर पोखरेलले गरेको फोन सांसद ढेंगाले रिसिभ गरेर आफू पार्टीमै रहेको जानकारी गराएकी छन् ।

ढेंगाले  आफू निकै तनावमा भएकाले पार्टी नेताहरुको फोन रिसिभ नगरेको जानकारी गराएको पोखरेलले बताए । ‘आइतबार दिउँसोदेखि दर्जनौंपटक फोन र म्यासेज गरेका थियौं, तर रिसिभ नभएपछि अपहरणको आशंकामा प्रहरीमा खोजीका लागि निवेदन दिएका थियौं,’ पोखरेलले भने, ‘आज बिहान ९ बजेतिर मात्रै मेरो कल रिसिभ गर्नुभयो र म घरमै छु भन्नुभयो ।’

यो पनि पढ्नुहोस लुम्बिनीमा एमालेमाथि लाग्यो ‘सांसद अपहरण’को आरोप

सांसद ढेंगाले घरमै छु भने पनि पार्टीका नेताहरु घर पुग्दा उनी रुपन्देहीको तिलोत्तमा महुबारीस्थित घरमा भने नरहेको नेता पोखरेलले जानकारी दिए । ‘उहाँले म निक्कै तनावमा छु, फोनमा धेरै कुरा नगरौं भन्नुभएकाले हामीले भेटेर कुरा गर्न उहाँलाई खोजी गरिरहेका छौं,’ पोखरेलले भने ।

पाल्पाबाट समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य भएकी ढेंगा विगतमा काठमाडौंमा होटल र वैदेशिक रोजगार व्यवसाय गर्ने गर्दथिन् । पार्टी स्रोतका अनुसार व्यवसाय गर्दाको ऋणका कारण पनि उनी तनावमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment