Comments Add Comment

‘विद्युतीय सवारीमा ‘कम्प्लिट प्याकेज’सहित नेक्सन ईभी ल्याउँदैछौं’

१२ श्रावण, काठमाडौं । धेरै ब्रान्डहरुले नेपालमा विद्युतीय सवारी ल्याइसके । महिन्द्रा, किया, हुन्डाई, एमजीदेखि अन्य ब्रान्डहरुले पनि प्यासेन्जर भेहिकल सेगमेन्टमा उपस्थिति जनाउँदा टाटाले केही ढिला गर्‍यो । तर, अब टाटा मोटर्सले पनि नेपाली विद्युतीय सवारी बजारमा एउटा बलियो प्रतिद्वन्द्वी लिएर आउने तयारीमा छ । नेपाली बजारमा ठूलो ग्राहक सञ्जाल बनाएको सिप्रदीले टाटा मोटर्स लोकप्रिय भइसकेको ‘नेक्सन’ कै प्लाटर्फममा बनेको ‘नेक्सन ईभी’ले पहिलो विद्युतीय सवारीका रुपमा भित्र्याउँदैछ । जसलाई नेपालमा लामो समयदेखि प्रतिक्षा गरिँदै थियो । नेक्सन ईभीबारे हामीले सिप्रदी ट्रेडिङ प्रालिका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिसँग अनलाइनखबरले गरेको कुराकानी :

सिप्रदी नेपालको अटो बजारमा सबैभन्दा बलियो कम्पनी । योसँग ग्राहकको आशा पनि बढी हुन्छ । मान्छेहरुले टाटाले विद्युतीय सवारी ल्याउन ढिला गर्‍यो भनिरहेका थिए । अब ग्राहकको प्रतिक्षा साँच्चै सकिएको हो ?

हो, हामी विद्युतीय सवारीको बजारमा आउँदैछौं । गाडी आइसकेको छ । दुई वटा गाडी आयात नै गरिसक्यौं । भर्चुअल लन्चको पनि तयारी भइरहेको छ । मंगलबार नै टाटाको विद्युतीय सवारीको प्रतिक्षा सकिनेछ, ‘नेक्सन ईभी’ ले बजारमा शानदार प्रवेश गर्नेछ ।

भारतमा त ‘नेक्सन ईभी’ चर्चामा छ । तर, नेपाली ग्राहकको लागि यो बिल्कुनै नयाँ हुनेछ । कस्तो गाडी हो ‘नेक्सन ईभी’ ?

‘नेक्सन ईभी’ टाटा नेक्सनको प्लाटर्फममा बनेको विद्युतीय सवारी हो । सबैलाई थाहा नै छ, नेक्सन टाटाको निकै सफल उत्पादन हो । नेक्सन ईभी भारतमा लन्च भएको २ वर्ष भयो । भारतमा यसका ६ हजारभन्दा बढी सन्तुष्ट ग्राहक छन् , सरकारी र निजी दुबै सेगमेन्टमा ।

यसलाई नेपाल ल्याउन करिब करिब तयारी सकिसकेका छौं र आज विशेष कार्यक्रम द्वारा दिउँसो भर्च्युअल लन्च गर्दै छौं । पेट्रोलियमबाट चल्ने ‘नेक्सन’ करिब  साढे ३ वर्षदेखि नेपाली सडकमा गुडिरहेको छ । डिजेल र पेट्रोल दुबैमा इन्जिनमा सो गाडी बजारमा उपलब्ध छ । नेपालमा पनि हामीले २ हजारभन्दा बढी नेक्सन बेचिसक्यौं ।

नेपालमा यसको जुन खालको लोकप्रियता र सन्तुष्ट ग्राहकको संख्या छ, त्यसका कारण पनि हामी उत्साहित छौं । एउटा प्रमाणित गाडीलाई हामीले ईभीमा ल्याउन खोजिरहेका छौं । त्यसैले यो ग्राहकको लागि उत्कृष्ट विकल्प दिने विद्युतीय गाडी हुनेछ ।

बजारमा अरु पनि विद्युतीय सवारी छन्, नेक्सन ईभी नै ग्राहकले किन रोज्ने ?

बजारमा प्रतिस्पर्धा स्वभाविक हो । त्यो ठूलो नै छ । जुन हिसाबको बजारमा ईभीप्रतिको आकर्षण छ, अब त्यो बढ्दै पनि जान्छ । किन कि अब ब्रान्ड र प्रोडक्टहरु विद्युतीय सवारीमा बढ्दै जान्छन् । त्यही हिसाबले सबैजसो बजारमा त्यही हिसाबले नै विद्युतीय सवारीको बजार विस्तार हुँदै जान्छ ।

विद्युतीय सवारी नेपालमा आउन थालेको १० वर्ष भइसकेको छ । केही एक-दुई वटा ब्रान्डको सानो साइजको विद्युतीय गाडी यहाँ चलिरहेका नै छन् । पछिल्लो चार/साढे चार वर्षमा नयाँ रेन्जका गाडी, ठूलो रेन्ज र साइजका गाडीहरु आउन थालिकसकेको हो ।

तर, यति लामो सयमदेखि यत्रो ठूलो आकर्षण र ग्राहक संख्या हुँदाहुँदै पनि विद्युतीय सावारीको पूर्वाधार विकासको ठूलो अभाव रहेको हामीले देखेका छौं । चार्जिङ सुविधा, सर्भिस सुविधा र पार्टस्को उपलब्धतामा ठूलो ‘ग्याप’ देखेका छौं । अहिलेसम्म हाम्रो बजारमा चार्जिङ पूर्वाधारमा बलियो तवरको विकास भइसकेको छैन । यसमा निजी र सरकारी दुबै क्षेत्र चुकेको देखिन्छ । प्रस्तावहरु त गरिएका छन्, सरकार र निजी क्षेत्र दुबैले विभिन्न ठाउँमा चार्जिङ सुविधा दिने भनेर प्रस्ताव त गरेका छन् । तर, त्यो प्रस्तावमै सीमित छन् ।

जब हामीले नेक्सन ईभी ल्याउँदैछौं भने त्यो अवस्था अब रहँदैन । हामीले दिने सुविधा अरुको भन्दा फरक, विश्वसनीय र गुणस्तरीय नै हुन्छ । हामीले चार्जिङ स्टेसन राख्ने ठाउँ तयार राखेका छौं, उपकरण नेपाल आईसकेको छ । हामीले अबको दुई महिनाभित्र विद्युतीय सवारीको पूर्वाधारमा स्पष्ट देखिने गरी काम गरेर परिवर्तन ल्याउने लक्ष्य राखेका छौं । हामी चार्जिङसहित ग्राहकलाई सुविधा दिने हिसाबमा वृहत्तर पूर्वाधार निर्माणमा लागेका छौं ।

त्यसो भए तपाईंहरु चार्जिङसहितका सुविधालाई सरल गरेर मात्रै नेक्सन ईभी बेच्ने सोचमा हुनुहुन्छ ?

हो, हामी राजमार्गमा डीसी फास्ट चार्जिङ सुविधा दिनेछौं । पहिलो चरणमा नेपालभरका ८ स्थानमा डीसी फास्ट चार्जिङ स्टेसन बनाउँदैछौं । हामी चाहन्छौं की नेपाली ग्राहकले ढुक्कका साथ विद्युतीय सवारीमा नेपालका जुनसुकै कुनामा यात्रा गर्न सकुन् । ६० मिनेटमा नै ८० प्रतिशत चार्ज हुने खालको चार्जिङ स्टेसनहरु हामी स्थापना गर्दैछौं । दोस्रो चरणमा पनि हामी यसमा थप काम गर्नेछौं । ८ वटा राखेपछि अर्को ७ वटा चार्जिङ स्टेसन हामी तयार गर्नेछौं ।

यो बाहेक हामी ग्राहकको घरमा पनि चार्जिङ सुविधा सहज गर्नेछौं । जो-जोले नेक्सन ईभी किन्नुहन्छ, उहाँको घरमा चार्जर पनि जोड्नेछौं । जसले रातमा ८ घण्टामा ८० देखि ९० प्रतिशत ब्याट्री चार्ज गर्छ । शहरमा हामी दिनमा २५/३० किलोमिटर गाडी चलाउँछौं । यसअनुसार एक दिन चार्ज गरेपछि एक हप्ता ढुक्कले गाडी चलाउन सकिन्छ ।

विद्युतीय सवारी भनेपछि ग्राहले सुरुमै ‘रेन्ज’बारे चासो राख्छन्, नेक्सन ईभी यसमा कति अब्बल छ ?

नेक्सन ईभी नेपाली बाटो सुहाउँदो विद्युतीय सवारी हो । यसले एकपटक फुल चार्ज गरेपछि नेक्सन ईभीले भारतमा ३१२ किलोमिटर रेन्ज दिने प्रमाणित भएको छ । यो त्यहाँको प्रमाणीकरण गर्ने अधिकारप्राप्त निकायले दिएको तथ्य हो ।

भारतमा ६ हजार जो सन्तुष्ट ग्राहक छन्, उहाँहरुका अनुसार २५० किलोमिटरभन्दा बढी ढुक्कले रेन्ज दिन्छ । हामी पनि नेपालमा त्यही रेन्ज दिन्छ भन्नेमा विश्वस्त छौं । किनभने नेपाल र भारतको सडक र भूगोलमा खासै भिन्नता छैन । ‘ड्राइभिङ बिहेभियर’ पनि उस्तै नै छ । ब्याक अपका लागि हामी चार्जिङ पूर्वाधार पनि प्रशस्तै तयार गर्दैछौं ।त्यसो भए नेक्सन ईभी चढ्नेलाई कहिले र कतै पनि समस्या रेन्जका कारण समस्या भोग्नु पर्दैन ?

हो, २५० किलोमिटरको रेन्ज हाम्रो लागि पर्याप्त नै हो । कतिपयलाई ठूलो रेन्जको गाडी चाहिन्छ भन्ने लाग्न सक्छ । तर तपाईंले दिनमा शहरमा कति किलोमिटर गाडी चलाउनुहुन्छ ? धेरैमा ३० किलोमिटर ? त्यो भन्दा बढी त चलाइँदैन । एकाध अवसरमा घरमा वा घुम्न जाँदा कति गाडी चलाइन्छ ? पोखरा वा चितवन घुम्न जाने हो भने पनि करिब २५० किलोमिटरभन्दा बढी यात्रा त गर्नुपर्दैन ।

त्यो भन्दा लामो दूरीमा जाने हो भने त्यसको लागि हामीले ठाउँ ठाउँमा चार्जिङ स्टेसन राखेका नै छौं । हामीले चार्जिङ स्टेसन राख्ने स्थान पनि ग्राहककै स्थानबाट हेरेर छानेका छौं । हाम्रो मूल उद्देश्य नै ईभी लिएर सडकमा निस्किएपछि सहजै चार्जिङ सुविधा पाउन सकियोस् भन्ने हो । काठमाडौं-मुग्लिन, बीपी राजमार्ग वा अरुकुनै राजमार्ग भएर यात्रा गर्न पनि चार्जिङको कुनै समस्या नहुने गरी स्टेसन स्थापना गर्दैछौं ।

एकपटक गाडीमा बसेपछि तपाईले रेस्ट नगरी कति गाडी चलाउनुहुन्छ ? बढीमा २०० देखि २५० किलोमिटर । खाना खान होस्, चिया, कफी, चिसो पिउन नै होस् । आधा/एक घण्टा गाडी रोकेर बस्दा फास्ट चार्जमा राख्दा गाडी चार्ज भईहाल्छ । त्यसैले एकपटकको चार्जमा २५० किलोमिटर गुड्नु भनेको यो निकै उत्कृष्ट र पर्याप्त रेन्ज हो ।

विद्युतीय सवारीको आफ्टर सेल्स सर्भिसको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?

हामी विद्युतीय सवारीका लागि देशभरका १५ वटा सर्भिस सेन्टरबाट सेवा दिन तयार भएर बसेका छौं । हामीसँग प्यासेन्जर भेहिकलका लागि २४ वटा सर्भिस सेन्टरबाट सेवा दिईरहेका छौं भने त्यसमध्ये १५ वटा सर्भिस सेन्टरबाट विद्युतीय सवारीले पनि सर्भिस पाउनेछन् । ती सर्भिस सेन्टरहरु महत्वपूर्ण स्थानहरुका हुन्, जसले नेक्सन ईभीलाई निर्वाध चलाउन सकिने आत्मविश्वास हाम्रा ग्राहकलाई दिनेछन् । त्यसका लागि दक्ष प्राविधिकहरु तयार छन् ।

विद्युतीय सवारीतर्फ पनि स्पेयर्स पाट्र्सको कमी हुन दिने छैनौं । यो सबै सेवा दिइसकेपछि विद्युतीय सवारीका लागि एउटा पूर्ण ‘इकोसिस्टम’ तयार हुनेछ । ग्राहकरुलाई टाटाको विद्युतीय सवारी चलाउन पाएकोमा गर्व महसुस हुने गरी सेवा दिने हाम्रो प्रतिवद्धता छ । हामी गाडी दिँदा नै ग्राहकलाई यो सबै सुविधा दिने प्रतिवद्धता जनाउनेछौं । बजारमा सिप्रदीप्रतिको जुन विश्वास छ, त्यसलाई नेक्सन ईभीमार्फत पनि कायम राख्नेछौं ।

हामी हाम्रा ग्राककलाई एउटा ‘कम्प्लिट प्याकेज’ नै बेच्ने गर्छौं । उहाँहरुको आत्मसन्तुष्टि भन्दा महत्वपूर्ण हाम्रो लागि अरु केही छैन । कमर्सियल, र प्यासेन्जरको जस्तै इलेक्टि्रक सवारी पनि हामी ग्राहकलाई केन्द्रमा राखेर नै सेवा दिन्छौं । हामी विद्युतीय सवारीमा नम्बर एक बन्न चाहान्छौं । हामी ग्राहकलाई ‘बेस्ट’ दिन चाहन्छौं । त्यसको लागि हामीले एउटा प्रोडक्ट मात्रै नभएर एउटा प्याकेज नै दिइरहेका छौं ।

नेक्सन ईभी नेपाली बजारमा बलियो प्रतिस्पर्धी हुन्छ भन्ने अरु आधार पनि छन् ?

जुन सेगमेन्टमा हामीले ईभी ल्याउँदैछौं, कम्प्याक्ट युटिलिटी भेहिकल (सीयूभी) नेपालमा एउटाका लोकपि्रय सेगमेन्ट हो । यो एउटा एसयूभीको ‘फिल’ आउने गाडी हो । पछिल्ला ३-४ वर्षमा यो सेगमेन्टमा निकै ग्राहक बढेका छन् । इन्ट्री लेभल खुम्चिएर यो सेगमेन्टको माग उकासिँदै गर्दा यही सेगमेन्टमा ईभी पाउनु ग्राहकका लागि पनि महत्वपूर्ण हो ।

त्यसैले पनि नेक्सन ईभी पहिलो रोजाइ बन्नेछ । अरु विकल्प हेर्दा पनि सानो स्पेसको सानो आकारको र सानो रेन्जको गाडी मात्रै छ । कि त अली बढी महँगो मै जानुपर्ने हुन्छ । त्यसैले यो मिडियम  र आम नेपाली ग्राहकलाई मिल्दो सेगमेन्टमा आउन लागेकाले पनि नेक्सनले बजारमा प्रभाव छाड्नेछ । सबै नेपालीको लागि यो ‘पर्फ]{ट ईभी’ हो ।

अब नेक्सन ईभीका लागि नेपाली ग्राहकले कति समय प्रतिक्षा गर्नुपर्ला ?

अब कुर्नुपर्दैन । हामीले सबै आधारभूत कामहरु सकिसक्यौं । योजनाको काम सकेर अपरेसनमा गइसक्यौं । यो अगस्टबाट नै नेपालको बाटोमा नेक्सन ईभी कुदेको देख्न पाइनेछ ।

हाम्रो देशभरका सेल्स नेटवर्कसहित अनलाइन, फोनलाइनबाट पनि बुकिङ लिन सकिनेछ । अगस्टबाट नेक्सन ईभी डेलिभरी हुन्छ । दशैंअघि त्यो क्रम अझै बढ्छ । दशैंमा विद्युतीय सवारी चढ्न चाहनेले नेक्सन ईभी पाउन सक्नुहुन्छ ।

अन्तिममा जो नेक्सन ईभीलाई प्रतिक्षा गरिरहनुभएको छ, उहाँहरुलाई केही सन्देश छन् ?

नेपालमा सिप्रदी र टाटाको सहकार्य भएको करिब ४ दशक भयो । धेरै वर्षको सेवापछि हाम्रो जुन संख्यामा सन्तुष्ट ग्राहक छन्, उहाँहरुको विश्वासलाई कायम राख्ने गरी नेक्सन ईभी आउँदैछ । ग्राहकहरुले ढुक्कका साथ नेक्सन ईभीमा किन्न सक्नुहन्छ । अब प्रतिक्षा धेरै गर्नुपर्ने छैन ।

हामीले योजनाको तहमा अली बढी समय लियौं, हामी हतार गरेर आएनौं, त्यो ग्राहकहरुलाई सन्तुष्ट गर्नुपर्छ भनेर नै हो । हामीले चार्जिङको बलियो पूवर्धाधारसहित, सर्भिस र स्पेयर्स पार्ट्सको पनि मजबुत ‘ब्याक अप’ राखेर नेक्सन ईभी ल्याउँदैछौं । बुकिङ खुला गर्दैछौं, सो-रुममा आएर पनि ग्राहकले गाडी हेर्न र टेस्ट ड्राइभ गर्न सक्नुहुन्छ । अनलाईन बुकिङ पनि गर्न सकिन्छ ।

त्यसपछिका महिनाहरुमा पनि क्रमशः हुन्छ । सेप्टेम्बर र अक्टोबरमा त हामी धेरै नै संख्यामा नेक्सन ईभी ग्राहकको पुर्‍याउन तयार छौं ।

दशैंअघि विद्युतीय सवारी चढ्ने ग्राहकको योजनामा हामी सारथि हुनेछौं । हामी घर-घरमा नेक्सन ईभीसहित चार्जिङ फेसिलिटी पनि उपलब्ध गराउन हामी आतुर छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment