Comments Add Comment

माओवादी सांसदको गुनासो : लोगो लुकाएर हिँड्नुपरेको छ

१२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले सरकारलाई जथाभावी लोकप्रिय कार्यक्रमको घोषणा नगर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद महतले अघिल्लो सरकारले गरेको लोकप्रिय कार्यक्रमको घोषणाका कारण सांसदले लोगो लुकाएर हिँड्नुपरेको जिकिर गरे ।

‘माननीय मन्त्री र सरकारले गर्दा हामीलाई कस्तो अवस्था भएको छ भने हामी लोगो लुकाएर हिँडनुपर्ने अवस्था छ । तपाईंलाई पत्यार लाग्छ कि लाग्दैन सभामुख महोदय, अहिले हामी बाटोमा लोगो लुकाएर हिँड्छौं’ उनले भने, ‘यो सरकारलाई त्यो ज्ञात होस्, यो जानकारी होस् ।’

वर्तमान मन्त्रीले पनि गरीबलाई नि: शुल्क विजुली दिने घोषणा गरेकामा सांसद महतले असन्तुष्टि जनाए । ‘झट्ट हेर्दा यो शब्द लोकप्रिय जस्तो लाग्छ, तर यो कालान्तरमा जिब्रोको पासो हुन्छ’ उनले भने, ‘किनभने खनखन पैसा दिउँला हामीलाई बत्ती चाहियो भन्दा त कर्णालीमा बत्ती पुगेको छैन, नि:शुल्क विजुलीको कुरा नगर्दा राम्रो होला ।’

सांसद महतले एउटा गफाडी सरकारलाई भर्खर विदा गरेको भन्दै अर्को सरकार पनि गफाडी हुने चिन्ता लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment