Comments Add Comment

माधव नेपाल समूहले देउवालाई भन्यो- सरकारमा आउँदैनौं

१३ साउन, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आफूहरु सरकारमा नजाने बताएको छ ।

प्रधानमन्त्री देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएका थिए, जसमा नेपाल पक्षबाट डा. विजय पौडेल सहभागी थिए ।

पौडेलका अनुसार बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका थिए । ‘हामीले हामी तत्काल सरकारमा आउने सम्भावना छैन, पार्टी एकताकै लागि प्रयास गरिरहेका छौं भन्यौं,’ डा. पौडेलले अनलाइनखबरसँग भने । जवाफमा प्रधानमन्त्रीले पनि तपाईंहरुको समस्या बुझेको छु भनेका थिए ।

बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार डा. पौडेलले आफूहरुलाई नकुर्न र मन्त्रिपरिषद विस्तार गर्न भनेको जानकारी दिए ।

जनमोर्चा पनि सरकारमा नजाने

यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि आफूहरु सरकारमा सहभागी नहुने बताएका थिए । ‘हामीलाई सरकारमा जाने म्यान्डेट जनताले दिएका छैनन्, हामी सरकारमा आउँदैनौं, राम्रो कामको समर्थन र नराम्रो कामको विरोध रहन्छ भनेर मैले कुरा राखें,’ अध्यक्ष केसीले अनलाइनखबरसँग भने ।

अध्यक्ष केसीले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएर गलत गरेको भनेरसमेत कुरा राखेका थिए । तर आफूले यो कुरा राख्दा प्रधानमन्त्रीले कुनै जवाफ नदिएको केसीले बताए ।

बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले भने सरकारमा सहभागी हुनेहरुको नामावली छिट्टै उपलब्ध गराउने बताएका थिए ।

बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरु टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई दिएको र छिटो मन्त्रिपरिषद विस्तार गर्ने निर्णय भएको कांग्रेस नेता खड्काले बताए । कांग्रेस सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा कांग्रेस र माओवादीका दुई-दुई जना मन्त्री र एकजना राज्यमन्त्री मात्र छन् ।

न्यूनतम साझा कार्यक्रम छिटो टुंगो लगाउन निर्देशन

बैठकमा प्रधानमन्त्री देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन महामन्त्री खड्कालाई निर्देशनसमेत दिएका थिए । खड्का नेतृत्वको कार्यदलमा कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ सदस्य छन् ।

सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सहभागी थिए । एमालेको माधव नेपाल समूहको प्रतिनिधित्व डा. विजय पौडेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment