Comments Add Comment

टोपबहादुर रायमाझीले भने : एमालेको सदस्यता लिएको छैन, कारबाही फिर्ता गरिपाउँ

१३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निष्कासनमा परेका नेता टोपबहादुर रायमाझी आफूले पार्टी नछाडेको भन्दै सांसद पदमा पुनर्बहाली माग गर्दै रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।

२०७७ पुसमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सरकारमा सहभागी भएका रायमाझीलाई नेकपा माओवादी केन्द्रले निष्कासन गरेपछि सांसद पदबाट पदमुक्त भएका थिए ।

तर सांसद पद गुमाएको करिब तीन महिनापछि सर्वोच्च अदालत पुगेका उनले आफूले नेकपा माओवादी केन्द्र नछाडेको जिकिर गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्र अलग भएपछि रायमाझीसहितका नेताहरुले आफूहरु माओवादीमा नफर्कने बताएका थिए । उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीमा मनोनीतसमेत गरेका थिए ।

तर नेता रायमाझीले आफू एमालेको केन्द्रीय कार्यसमितिमा नरहेको बताए । उनले आफूले दल परिवर्तन नगरेको जिकिर गर्दै माओवादी केन्द्रले झुटो आरोप लगाएर कारबाही गरेको दावी गरेका छन् ।

उनले आफूलाई सफाइको मौका नदिई कारबाही गरिएको भन्दै सांसद पदमा पुनर्बहाली र पार्टी सदस्य कायम राख्न माग गरेका छन् ।

‘सफाइको मौका नदिई गरेका कारवाही र निर्णय बदर हुने भनी सर्वोच्च अदालतले विभिन्न नजिर प्रतिपादन गरेको छ । यसकारण स्पष्टिकरण नमागी गरिएको कारबाही बदर गरी प्रतिनिधिसभा सदस्य पद पनर्बहाली गरि पाउँ’ उनले भनेका छन् ।

नेता रायमाझीसँगै माओवादीबाट निष्कासनमा परेका नेताहरु प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले पनि आफूहरुको सांसद पद पुनर्वहाली माग गर्दै रिट दिएका छन् ।

हेर्नुहोस् रिट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment