Comments Add Comment

ओलम्पिक, एथ्लेटिक्स र तनाव

१४ साउन, काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिकमा अब नेपालका एक जना खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ । नेपालबाट कुल पाँच खेलाडीले सहभागिता जनाएकोमा चार खेलाडीको प्रतिस्पर्धा सकिएको छ ।

पौडी खेलाडीद्वय गौरिका सिंह र एलेक्स शाह अनि सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएर आफ्नो लक्ष्य पूरा गरे । जुडोकी सोनिया भट्टको एक बाउट जित्ने चाहना भने पूरा हुन सकेन । चारै जना पहिलो चरणबाटै बाहिरिसकेका छन् ।

जुडो र सुटिङ टोली नेपाल फर्किसकेको छ । बेलायतमा बस्दै उतै पढ्दै स्विमिङ गर्दै आएकी गौरिका सिंह शुक्रबार जापानबाट लण्डन फर्कँदैछन् । उनी अब थप अध्ययनका लागि अमेरिका जानेछिन् ।

टोकियो २०२० मा अब नेपालबाट एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सरस्वती र उनका प्रशिक्षक सन्तोष श्रेष्ठ ओलम्पिक उद्घाटन भएको भोलिपल्ट अर्थात जुलाई २४ मा जापान गएका थिए ।

सरस्वतीले महिला १०० मिटरमा प्रतिस्पर्धा गर्नेछिन् । आफ्नो बेस्ट टाइमिङ १२:४४ रहेको सरस्वतीले ओलम्पिकमा त्यो सयम सुधार गर्ने र राष्ट्रिय कीर्तिमान तोड्ने प्रयास गर्नेछिन् ।

छैन व्यवस्थापक

एथ्लेटिक्सको प्रतिस्पर्धासँगै नेपालको टोकियो ओलम्पिक यात्रा पनि सकिनेछ । तर नेपाली एथ्लेटिक्स टोलीको व्यवस्थापक भने टिमसँग हुने छैनन् । नेपाल ओलम्पिक कमिटीका सहमहासचिव पिताम्बर तिम्सिना एथ्लेटिक्सको व्यवस्थापकको रुपमा टोकियो जाने भनेर एनओसीले सूची सार्वजनिक गरेको थियो । हाल अमेरिकामा रहेका तिम्सिना उतैबाट जापान जाने तय थियो । तर अन्तिम समयमा उनी नजाने भएपछि नेपाली एथ्लेटिक्स टोली व्यवस्थापकविहीन हुने भएको हो ।
नेपाली टोद्यीसँगै जापानमा रहेका एनओसी उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले पिताम्बर तिम्सिना नआउने पुष्टि गरे । ‘उहाँले हातमा चोट भनेर कल गरेर जानकारी गराउनु भयो । अब एथ्लेटिक्ससको म्यानेजर कोही हँदैन । चिफ दी मिसिन र प्रशिक्षकले नै सबै व्यवस्थापन हेर्नुपर्नेछ,’ राजवैद्यले टोकियोबाट अनलाइनखबरसंग भने । त्यसअघि तिम्सनाले सामाजिक सञ्जालमा व्यक्तिगत कारणले गर्दा ओलम्पिकमा सहभागिता जनाउने नसक्नै उल्लेख गरेका थिए ।

पुरानै लफडा

एथ्लेटिक्सको यो समस्या जापानमा पुगेपछि मात्र सुरु भएको होइन । ओलम्पिक शुरु हुनुअघि नेपालदेखि नै एथ्लेटिक्समा समस्या शुरु भइसकेको थियो ।

शुरुमा एथ्लेटिक्सबाट म्याराथन खेलाडी गोपीचन्द्र पार्की टोकियो ओलम्पिक जाने भनेर पक्का भइसकेको थियो । त्यसका लागि उनले लगभग ८ महिना तयारी पनि गरे । तर अन्तिम समयमा म्याराथनमा कोटा धेरै भएकोले महिला १०० मिटरमा नेपाली खेलाडी सहभागी गराउन सक्ने जानकारी आएको भन्दै एनओसीले नेपाल एथ्लेटिक्स संघमार्फत सरस्वती चौधरीलाई टोकियो लैजाने भयो ।

अन्तिम समयमा आफू जान नपाउँदा गोपीचन्द्रले आफूलाई अन्या भएको प्रतिक्रिया दिए । उनले यसको गल्ती पत्ता लगाउनुपर्ने बताए ।

एनओसी र एथ्लेटिक्ससंघको कमजोरीकै कारण गोपीको नाम काटिएको थियो ।

गोपीको सट्टा टोकियो गएकी सरस्वतीले एक महिना पनि तयारी गर्न पाएनन् । उनको प्रशिक्षकमा शुरुमा इन्द्रकुमारी मल्ल जाने भनेर एनओसीले सार्वजनिक गर्‍यो । तर मल्लाई कोरोना पोजेटिभ देखिएको भन्दै ओलम्पिकमा सहभागी गराउन नसक्ने भन्दै एनओसीले सन्तोष श्रेष्ठलाई लैजाने जनायो । सन्तोष उनै प्रशिक्षक हुन् जसले टोकियो जान नपाएका गोपीचन्द्रलाई प्रशिक्षण दिँदै आएका छन् ।

गोपीचन्द्र ओलम्पिक खेल्ने पक्का हुँदा पनि एथ्लेटिक्स संघ र एनऔसीले परक-फरक प्रशिक्षकको नाम सिफारिश गर्दा विवादित बनेको थियो । गोपी नै जान नपाउने भएपछि दुवै प्रशिक्षक ओलम्पिक सिनबाट हटे । सरस्वतीको प्रशिक्षक बने इन्द्रकुमार मल्ल । तर उनी पनि अन्तिम समयमा जान पाएनन् । उनको कोभिड रिपोर्टमा लिङ्ग र उमेर नै फरक देखिएकोले शंका लागेको भन्दै फेरि परीक्षण गराउँदा नेगेटिभ आयो । त्यसपछि उनले अन्याय भएको प्रतिक्रिया दिइन् ।

गोपी प्रकरणदेखि शुरु भएको एथ्लेटिक्सको ओलम्पिक यात्रा अन्त्यमा व्यवस्थापक विहीनसम्म पुगेको छ । अब सरस्वतीले ओलम्पिकमा कस्तो प्रदर्शन गर्छिन् त्यो भने हेर्न बाँकी छ ।

यसअघि जस्तै यस पटक पनि खेलाडी कम पदाधिकारीको जम्बो टोलीको ओलम्पिक यात्राले शुरुमै आलोचना भएको थियो ।

कोभिड१९ को कारणले ओलम्पिकमा जाने सूचीमा कटौटी भए पनि पाँच खेलाडी र चार प्रशिक्षकबाहेक १७ जना पदाधिकारीको टोली थियो । त्यसमध्ये तीन जना भने ओलम्पिकमा गएनन् ।

नेपालबाट २३ जना सहभागी रहे । त्यसमा पनि गौरिका बेलायतबाट जापान पुगिन् । जापानी दूतावासका एक जना र स्थानीय कर्मचारी जापानकै थिए ।

नेपालबाट चार खेलाडी चार प्रशिक्षक र १२ पदाधिकारी गरी २० जना टोकियो पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गोविन्द नेपाल

ट्रेन्डिङ

Advertisment