Comments Add Comment

मानव अधिकारको पक्षमा बोल्ने अर्बपतिलाई चीनमा १८ वर्ष जेल सजाय

१४ साउन, काठमाडौं । चीनमा मानव अधिकार र अन्य संवेदनशील राजनीतिक विषयमा अभिव्यक्ति दिने एक अर्बपतिलाई १८ वर्षको जेल सजाय सुनाइएको छ । अर्बपति सुन डउमाथि विवाद सिर्जना गर्न खोजेको र विषयलाई भड्काउने प्रयास गरेको आरोप लगाइएको थियो ।

चीनमा प्रजातन्त्र र मानव अधिकारको वकालत गर्ने व्यक्तिहरुलाई सोही मुद्दा लगाइने गरेको बताइन्छ । यसमा डउ पनि दोषी पाइएका हुन् । उनी चीनको सबैभन्दा ठूलो निजी कृषि व्यवसायका मालिक हुन् ।

६७ वर्षीय डउमाथि अवैध रुपमा कृषि फार्मको जमिन हडपेको, राज्यका निकायमाथि आक्रमण गर्न भीड जम्मा गरेको र सरकारी कर्मचारीलाई आफ्नो काम गर्न नदिएको जस्ता आरोप पनि लगाइएको छ । उनलाई ३१ लाख १० हजार युआन बराबरको जरिवाना पनि गरिएको छ ।

डउको कम्पनीले चीनमा मासु प्रशोधनदेखि स्कुल तथा अस्पताल पनि सञ्चालन गर्दै आएको छ । उनलाई गत वर्ष पक्राउ गरिएको थियो । सरकारी कम्पनीसँगको जमिनको विवादमा डउसहित २० आफन्त र व्यावसायिक साझेदारहरु पक्राउ परेका थिए ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार पक्राउ पर्दा उनले यो विवादमा प्रहरीसँग भएको झडपमा आफ्ना दर्जनौं कर्मचारी घाइते भएको बताएका थिए । डउले यसअघि पनि सरकारी नीतिको आलोचना गर्दै आएका थिए । यसअघि सन् २००३ मा पनि उनी अवैध सहयोग उठाएको आरोपमा पक्राउ परेका थिए । तर आम मानिसहरुको सहयोग र व्यापक विरोधपछि उनी छुटेका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment