+
+

एमालेको अवरोधपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १५:५५

१ भदौ,बुटवल । नेकपा एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । दिउसो १ बजेका लागि समय तोकिएको बैठक डेढ घण्टा ढिलो साढे २ बजे मात्रै शुरु भएको थियो ।

बैठक शुरु गर्दै सभामुखले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन थालेलगत्तै एमाले सांसदहरु उठेर होहल्ला र नाराबाजी शुरु गरेका थिए । उनीहरुले सांसद अजय शाही र बिमला खत्री वलीलाई पदमुक्त नगरेको भन्दै विरोध जनाएपछि ६ मिनेटमै सभामुखले बैठक स्थगित गरेका हुन् ।

एमालेको अवरोधपछि प्रदेश सभा बैठक भदौ २ गते दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराए । शाही र वलीलाई आफ्नो दलका सांसद दावी गर्दै एमालेले उनीहरुलाई पदमुक्त गर्न एमालेले मंगलबार (आज) नै सभामुखलाई पत्र बुझाएको थियो ।

मंगलबारको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष सम्बोधन गर्ने,उद्योग, वन तथा वातावरण मन्त्री समेत रहेका मुख्यमन्त्री केसीबाट प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूचि थियो ।

यस्तै प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माबाट प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश हुने कार्यसूचि थियो । दलका सांसदहरुले बोल्ने कार्यसूचि थियो । यस्तै केही विधेयक पेश गर्ने कार्यसूचि पनि थियो ।

प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले दुई सांसदलाई कारवाही गर्न एमालेले बुझाएको पत्रबारे विस्तृत अध्ययन र कानुनी परामर्श गरेर मात्र निर्णय लिइने र यसका लागि समय लाग्ने बताए ।

नेकपा विभाजनपछि गत बैसाख १९ गते माओवादी केन्द्र रोजेकी बिमला एमाले नेता उत्तर कुमार वलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी थिइन् ।

वलीलाई पार्टीमा ल्याउन एमालेले निकै कसरत गरेपनि सफल भएको थिएन । वलीलाई साउन १५ देखि २० गतेसम्म मुख्यमन्त्रीको सरकारी निवासमा वन्धक बनाएर राखेको आरोप समेत लागेको थियो । शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्वीप नलाग्ने दावी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?