
२ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने भएको छ ।
सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले नयाँ दल दर्ताको तयारी गरेको हो । त्यसका लागि अहिले ठाकुर पक्षका नेताहरुको बैठक बसिरहेको छ ।
एक नेताका अनुसार जसपा नेपाल (लोकतान्त्रिक) राखिनेछ भने अध्यक्ष महन्थ ठाकुर रहनेछन् । जसपा नेपाल (लोकतान्त्रिक) को चुनाव चिह्न साइकल प्रस्ताव गरिएको छ ।
११ साउनमा निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि ठाकुरसहितका नेताहरुले नयाँ दल दर्ताको तयारी गरेका हुन् ।
तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) मिलेर वैशाख २०७७ मा जसपामा बनेको थियो । तर ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि जसपामा विवाद सुरु भएको थियो ।
११ फागुनमा संसद पुनर्स्थापना र २३ फागुनमा नेकपाको एकता खारेज भएपछि यो समूह ओली समूहसँग निकट भयो ।
२७ वैशाखमा तत्कालीन प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदा तटस्थ बस्यो । कांग्रेस, माओवादी केन्द्रसँगै आफ्नै पार्टीको उपेन्द्र यादव पक्षले थालेको वैकल्पिक सरकार गठनको प्रयासमा साथ दिएन र तटस्थ नै बस्ने बतायो ।
तर जब ओलीले फेरि संसद भंग गर्न खोजे, साथ दियो । संविधानको धारा धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवाले दाबी गर्दा तटस्थ बन्ने बताएको ठाकुर समूह ओलीलाई दाबी गर्दा समर्थन पत्र लिएर शीतल निवास पुग्यो । त्यही दिन मध्यरातमा संसद भए भएपछि यो समूह सरकारमा समेत गयो ।
यसबीचमा उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतको आधारमा महन्थ ठाकुरसहित उनी पक्षका नेताहरूलाई कारबाही गरेको थियो ।
प्रतिक्रिया 4